कारोबार


वैदेशिक रोजगार अभिमुखीकरणमा ‘लुट’ : अब ७ सयभन्दा बढी असुले लाइसेन्स खारेज हुने

वैदेशिक रोजगार अभिमुखीकरणमा ‘लुट’ : अब ७ सयभन्दा बढी असुले लाइसेन्स खारेज हुने

नेपालखबर
चैत १७, २०८२ मंगलबार २०:२४, काठमाडौँ

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य लिनुपर्ने पूर्व–प्रस्थान अभिमुखीकरण (ओरियन्टेसन) तालिममा नामुद ठगी भइरहेको फेला परेको छ। सरकारले प्रति–प्रशिक्षार्थी ७ सय रुपैयाँ शुल्क तोके पनि तालिम प्रदायक संस्थाहरूले तीन गुणा बढी अर्थात् २ हजार १ सय रुपैयाँसम्म असुलिरहेको गुनासो बढेपछि वैदेशिक रोजगार विभागले कडा चेतावनी दिएको छ।

मंगलबार एक सूचना जारी गर्दै विभागले अभिमुखीकरण तालिमको शुल्क नबढेको र साविककै ७ सय रुपैयाँ कायम रहेको प्रष्ट पारेको हो। 'केही तालिम प्रदायक संस्थाले निर्धारित शुल्कभन्दा बढी रकम लिएको गुनासो आएको छ, ७ सय रुपैयाँभन्दा बढी लिनु सरासर गैरकानुनी हो,' विभागले भनेको छ।

विभागले २०८१ असोज १३ गते नै प्रेस विज्ञप्तिमार्फत शुल्कबारे प्रष्ट पारिसकेको स्मरण गराउँदै तोकिएको भन्दा बढी रकम लिने संस्थाको इजाजत पत्र (लाइसेन्स) स्वतः रद्द गरिने चेतावनी दिएको छ। वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीको बर्खिलाप गर्ने कुनै पनि संस्थालाई उन्मुक्ति नदिइने विभागको जिकिर छ।

अनिवार्य रूपमा दुई दिन सञ्चालन हुनुपर्ने यो तालिमका लागि श्रमिकले ७ सय रुपैयाँ मात्र तिरे पुग्छ। बजारमा व्यवसायीहरूले मिलेमतोमा २१ सय रुपैयाँ उठाउने गरेको र श्रमिकहरू ठगिने गरेको उजुरी विभागमा चाङ लागेको छ। विभागले अबदेखि ७ सयभन्दा बढी शुल्क मागेमा तत्काल प्रमाणसहित उजुरी गर्न श्रमिकहरूलाई अनुरोध गरेको छ।

वैदेशिक रोजगार ऐन २०६४ तथा कार्यविधिअनुसार तालिमका सबै मापदण्ड लागू हुनुपर्ने भए पनि कतिपय संस्थाले तालिम नै नदिई प्रमाणपत्र मात्रै बेच्ने र चर्को शुल्क लिने गरेको आरोप लाग्दै आएको छ। विभागले सबै मान्यता प्राप्त संस्थालाई तोकिएको शुल्क मात्र लिन र कार्यविधि पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। कार्यविधि मिच्ने र श्रमिकको पसिनामाथि रजाइँ गर्ने संस्थाहरू अब विभागको 'राडार' मा परेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad