गण्डकी


सूर्यदर्शन सहकारी ठगीका अभियुक्त ‘महेन्द्र भोटे’ पनि धरौटीमा रिहा हुँदै

सूर्यदर्शन सहकारी ठगीका अभियुक्त ‘महेन्द्र भोटे’ पनि धरौटीमा रिहा हुँदै

वाशुदेव मिश्र
जेठ २४, २०८३ आइतबार २०:४०, पोखरा

पोखराको चर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामो समयदेखि पुर्पक्षका लागि थुनामा रहेका शिवबहादुर गुरुङ  (महेन्द्र भोटे) धरौटीमा रिहा हुने भएका छन्। कास्की जिल्ला अदालतले उनीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनलाई १७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गराइ मुद्दाको किनारा नलागुन्जेल धरौटीमा छाड्न शुक्रबार आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले बताए।

स्रेस्तेदार राजन खनालका अनुसार गुरुङसँग धरौटी मागको आदेश भएको हो। शुक्रबार गुरुङले धरौटी बुझाएनन्। शनिबार र आइतबार बिदा भएकाले सोमबार धरौटी बुझाएमा गुरुङ रिहा हुने खनालले बताए। महेन्द्र नेकपा एमालेनिकट युवा संघका नेता हुन्। उनी २०७९ को स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए।

कास्की अदातलमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो। सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूलाई सहकारी ऐनका विभिन्न दफा अनुसारको कसुरमा बिगो बमोजिम जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको थियो।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ। सहकारीको रकम सबैभन्दा बढी जीबीका दाजुभाइ अध्यक्ष हुँदा अपचलन भएको देखिएको थियो। २०६५ असार २६ गतेदेखि २०६८ मंसिर १७ गतेसम्म ज्ञानबहादुर बमजन अध्यक्ष हुँदा १९ करोड २ लाख ८४ हजार रुपैयाँ अपचलन भएको पाइएको छ।

त्यसपछि अध्यक्ष भएका जीबी राईको कार्यकालमा १९ करोड २८ लाख ४९ हजार रुपैयाँ अपचलन भएको देखिएको छ। त्यसपछिको कार्यकाल जीवीकै दाइ भूपेन्द्र अध्यक्ष थिए। २०७३ मंसिर १८ गतेदेखि २०७८ कात्तिक १७ गतेसम्म भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७२ लाख ३३ हजार रुपैयाँको कर्जा करोबार भएको थियो।

त्यसभन्दा यता थानबहादुर बुढामगर अध्यक्ष थिए। उनी अध्यक्ष हुँदा २७ करोड ४८ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी भएको देखिएको छ।

राजनीतिक संरक्षणमा गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिया राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि साढे ८ करोड रुपैयाँ लगेको देखिएको थियो। सूर्यदर्शन रास्वपा सभापति रवि लामिछाने पनि ठगी मुद्दामा जोडिएको सहकारी हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad