गण्डकी


गुराँस हेर्न घोडेपानीमा पर्यटकको घुइँचो

गुराँस हेर्न घोडेपानीमा पर्यटकको घुइँचो

सन्तोष गौतम/रासस
चैत १४, २०८२ शनिबार ५:३१, म्याग्दी

‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीको पाखा गुराँसले रङ्गिएको छ।

वसन्त ऋतुको आगमनसँगै पाखाभरि ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकको रोजाइमा परेको छ।

घोडेपानीका होटल व्यवसायी हेमन्त बुद्धुजा पुनका अनुसार गुराँसको सौन्दर्यमा रमाउन आएका पाहुनाले दुई दिनयता होटल भरिभराउ भएका छन्। 

‘चैतेदसैँ, रामनवमी र शनिबार गरी लगातार तीन दिनको बिदा मनाउन पोखरा, म्याग्दी र काठमाडौँलगायत ठाउँबाट आएका पाहुनाले होटल भरिएका छन्,’ उनले भने, ‘गुराँस फुलेर रंगिएको घोडेपानीको वनपाखा, सूर्योदय, हिमशृङ्खला अवलोकन गर्ने पाहुनाको रोजाइमा घोडेपानी परेको छ।’

घोडेपानीका २७ वटा होटलमा एक दिनमा एक हजार जनाभन्दा बढी बास बस्न सक्छन्। समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानीको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ।

घोडेपानीको शिरमा रहेको पुनहिलमा चियापसल र प्रवेशशूल्क सङ्कलनको जिम्मा पाएका व्यवसायी सुदीप पुर्जाका अनुसार शुक्रबार मात्रै चार सय जना नेपाली र ५० जना विदेशी भ्रमणमा त्यहाँ पुगेका छन्।

हप्तादिनअघि दैनिक दुई सय जनाको हाराहारीमा पाहुना आइरहेको उनले बताए। चैत-वैशाख गुराँस फुल्ने याम हो।

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि वसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो।

पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ। यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ। विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ। त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन्।

लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको उनको दाबी छ। घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र पैदल हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ।

गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त बनेको बेनीका अमृत कार्कीले अनुभव सुनाए।

स्वच्छ हावापानी र शान्त वातावरणले तनमन चङ्गा बनाएको पोखराबाट घोडेपानी घुम्न गएकी दिया थापाले बताइन्। गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनाएको उनले अनुभव सुनाइन्।

पाहुनाले गुराँसको जंगललाई पृष्ठभूमिमा पारेर भिडिओ/ तस्बिर खिचाएर आनन्द लिन्छन्। घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो।

गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ। त्यहाँबाट फर्कंदा प्यारीबराहबाट भलखराचौरहुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ।

घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ। प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ।

घोडेपानीमा एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, चित्रे हुँदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ।

कास्कीको नयाँपुलदेखि बिरेठाँटी–उल्लेरी हुदै घोडेपानी जोड्ने कच्चि सडक पनि गत कात्तिकदेखि सञ्चालनमा आएको छ। घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा तर्फबाट घोडेपानी पुग्न सकिने पदमार्ग छन्।

अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुननिर्माण, सडक स्तरोन्नति र सहायक गन्तव्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिइएको बताए।

‘सडकमार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकहरुलाई घोडेपानी भित्र्याउन पोखरेबगरदेखि कास्कीको नयाँपुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएका कारण स्वदेशी पर्यटकको आगमन बढेको छ,’ उनले भने, ‘घोडेपानीमा पर्यटकको बसाई लम्बाउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad