देशलाई संघीय संसदको चुनावले छोपेको बेला भएको राष्ट्रिय सभा निर्वाचनमा गण्डकीबाट अहिलेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित ५६ जना प्रदेश सांसद तथा १६५ जना स्थानीय तहका जनप्रतिनिधिहरुले मतदान गरिसकेका छन्।
स्थानीय तहबाट मतदान गर्नेहरुमा पोखराका मेयर धनराज आचार्य पनि रहेका छन्। यहाँ पालिकाका २२९ र प्रदेशसभाका ५९ जना सांसद मतदाता छन्।
गण्डकीसहित राष्ट्रिय सभाको यो चुनावमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको छ। स्पष्ट बहुमत भएका यी २ दलमध्ये नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका प्रा.डा.जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने एमालेले गोरखाकी सम्झना देवकोटालाई मैदानमा उतारेको छ।
गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ पालिकाका प्रमुख, उपप्रमुख गरी दुई सय २९ मतदाता छन्। एक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिँदा गण्डकीमा कुल मतभार ६ हजार ३ सय ५७ छ।
यहाँ प्रदेशसभाका ५९ सदस्यको मतभार ३ हजार एक सय २७ हुन्छ भने स्थानीय तहका प्रतिनिधिको ३ हजार २ सय ३० गरी कुल मतभार ६ हजार ३ सय ५७ छ।
गण्डकीमा सबैभन्दा बलियो नेपाली कांग्रेस रहेको छ। कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी २ हजार ७ सय ४ मतभार छ।
एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि हुँदा उससँग २ हजार ४ सय ५८ मतभार छ। एमालेबाट निर्वाचन बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवबहादुर नेपाली निलम्बनमा छन्। यी २ दलबीच चुनावी गठबन्धन भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का यहाँ ७ प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी ९ सय ६० मतभार छ। साविक माओवादी केन्द्रकै चुनाव चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा छन्।
गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ प्रदेशसभा सदस्य छन्। प्रदेशमा राप्रपाले कांग्रेस–एमाले गठबन्धनलाई सघाएको छ।
दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ भने मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ अहिले एमाले बनेका छन्।
Shares

प्रतिक्रिया