गण्डकी


पोखराका होटल क्षेत्रमा मात्रै ३ अर्ब रुपैयाँ क्षति

पोखराका होटल क्षेत्रमा मात्रै ३ अर्ब रुपैयाँ क्षति

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १९:५५, पोखरा

जेनजी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ।

होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीबाट शुक्रबार जारी विज्ञप्तिमा पोखराको लेकसाइड क्षेत्रमा रहेका होटल सरोवर प्रालि, होटल एड्म, होटल पोखरा गुडविल प्रालि, वर पिपल रिसोर्ट प्रालि, बगैंचा रिसोर्ट एण्ड स्पा प्रालिलगायत अन्य प्रतिष्ठानहरुमा गरिएको आगजनीका कारण सो क्षति भएको जनाइएको हो। आन्दोलनबाट प्रतिष्ठानबाट सेवा लिँदै गरेका पर्यटकसमेत प्रभावित हुन पुगेको जनाइएको छ। 

विज्ञप्तिमा पर्यटकीय सिजन सुरु हुनै लाग्दा भएको यस प्रकारको दुःखद घटनाबाट पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्ने संघको ठहर छ। यसका कारण बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा, ऋण तिर्न पनि व्यवसायीहरु असमर्थ हुने अवस्था आएको जनाउँदै संघले व्यावसायिक सुरक्षा कायम राख्न नेपाल सरकार सँग जोडदार माग गरिएको छ। 

आक्रमणका घटनाप्रति दुःख व्यक्त गर्दै संघले पीडित व्यवसायीप्रति सहानुभूति प्रकटसमेत गरेको छ। शान्तिपूर्ण भनिएको आन्दोलनको क्रममा जुनसुकै पक्षबाट भए पनि पर्यटकीय प्रतिष्ठानहरुमाथि गरिएको आगजनी र तोडफोडका घटना भत्र्सनायोग्य रहेको संघले जनाएको छ। आगजनी र तोडफोडका कारण अरबौंको क्षती हुनुका साथै हजारौं कामदार समेत प्रत्यक्ष प्रभावित भएकोमा संघले चिन्ता प्रकट गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकार पर्यटकीय प्रतिष्ठानमाथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकारलगायत बीमा कम्पनी र सम्बन्धित सरोकारवाला पक्षसँग संघ हार्दिक अपिल गर्न चाहन्छ।’

यसका लागि शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन र आक्रमणकारीको पहिचान गरी कारबाहीसहित उचित क्षतिपूर्ति दिलाई प्रभावित होटलहरूको मर्मत–संभार तथा पुनर्निर्माणका लागि सरकार, इन्स्योरेन्स, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गर्ने कार्यमा सदैव साथ र सहयोग रहने पनि संघले जनाएको छ।

‘व्यावसायिक वातावरण बनाऊ, सुरक्षा देऊ’ 
यता, पोखरा उद्योग वाणिज्य संघ तथा सोसँग आवद्ध बस्तुगत संघ/संस्थाहरुले वर्तमानमा देखिएको गतिरोध अत्यको पहलको लागि सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराएका छन्। ती व्यावसायिक संघ/संस्थाहरुले देशले थप अराजकता र हिंसा थेग्न नसक्ने तथ्यको मनन गर्दै देशलाई कानूनी शासनको बाटोमा डोहोर्‍याउन माग पनि गरेका छन्। 

ती संघ/संस्थाको तर्फबाट शुक्रबार जारी संयुक्त अपिलमा संवैधानिक संस्थाहरुबाट गतिरोध अन्त्यको लागि भएको पहलको प्रशंसा गर्दै सहमतिको मार्गमा प्रवेश गर्न ढिला नगर्न र  स्थायी शान्तिका निम्ति सवै पक्षबाट सामूहिक प्रतिवद्धताका निम्ति अनुरोध पनि गरिएको छ। 

विज्ञप्तिमा संक्रमणकालको तत्काल अन्त्य तथा शान्ति सुरक्षा बहालीको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ,‘ संक्रमणकाल लम्बिँदा अराजकता र अस्थिरता चाहने समूहहरु जुर्मुराउँछन्। स्वार्थ समूह र आपराधिक चरित्रका व्यक्तिहरु हावी हुन खोज्छन्। त्यस्तो प्रवृत्ति कार्यपालिकाको क्रियाशिलता एवं मजबुत सुरक्षा व्यवस्थापले मात्र निरुत्साहित हुन्छ।’

नेपालको निजी क्षेत्र सदैव आत्मनिर्भर अर्थतन्त्र निर्माणका निम्ति उद्योग/व्यवसायको संचालन एवं युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न उद्यत रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ,‘ निजी क्षेत्रको मनोवल नउकासिएसम्म,लगानीको लागि उचित वातावरण र शान्ति सुरक्षा प्रदान नगरेसम्म त्यो अवस्था आउँदैन भन्नेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौँ। 

विज्ञप्तिमा जेनजी पुस्ताको अगुवाइमा भदौ २३ गतेबाट सुरु भएको आन्दोलन र सो उपक्रममा भएको ठूलो जनधनको क्षतिले हामीलाई स्तब्ध उल्लेख गर्दै सुशासन र समृद्धिका निम्ति ज्यानको आहूति दिने होनाहार नवयुवाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ। 

जेनजी आन्दोलनले सुशासन र समृद्धिका निम्ति भए पनि आन्दोलनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी,तोडफोड र लुटपाटका घटनाले भने समृद्धिको यात्रा कठीन बनाएको पनि विज्ञप्तिमा उल्लेख छ। 

‘व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणले व्यक्तिको सम्पत्तिमाथिको अधिकारको हननमात्र गरेको छैन, राज्यलाई कर तिर्ने तथा रोजगारी सिर्जना गर्ने उद्योगी/व्यवसायीलाई निराश तुल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘हामी आन्दोलनको क्रममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनाहरुको घोर निन्दा गर्दै जेनजी आन्दोलनमा भएको घुसपैठको स्वतन्त्र छानबिन गरी आपराधिक क्रियाकलापमा संलग्नहरुलाई कडा कारवाही एवं उचित क्षतिपूर्तिको माग पनि गर्दछौँ।’ 

आन्दोलनको क्रममा अरबौंको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट भएको उल्लेख गर्दै विज्ञप्तिमा प्रशासनबाट जारी सूचना र आदेशहरु पालना गर्न निजी क्षेत्रलाई आह्वान गर्दै भनिएको छ,‘प्रशासनबाट जारी सम्पूर्ण सूचनाहरुको पालना गर्दै आफ्नो र उद्योग/व्यवसायको सुरक्षा प्रबन्ध मिलाउन उद्योगी/व्यवसायीहरुसँग आग्रह गर्दछौँ भने आपराधिक क्रियाकलाप रोक्नकानिम्ति प्रशासनले अझ क्रियाशिलता देखाओस् भन्ने माग गर्दछौं। साथै व्यावसायिक सुरक्षाकानिम्ति सम्पूर्ण व्यवसायीहरु सतर्क र एकजुट हुनसमेत हार्दिक अपिल गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad