गण्डकी


हरियो डलर फलाउने सपनासँगै पोखरामा रोपाइँ महोत्सव

हरियो डलर फलाउने सपनासँगै पोखरामा रोपाइँ महोत्सव

वाशुदेव मिश्र
असार १५, २०८२ आइतबार २१:५५, पोखरा

पोखराका चर्चित फाँटहरू कुँडहर, विरुवा, बेगनासमा कंक्रिटको जंगल ठडिएका छन्। हिजो पोखरेली जेठोबुढो वा पहेँले लहलहाउने फाँटहरू घरले भरिएपछि स्वभाविक रुपले खेतीयोग्य जमिन पनि घटेको छ। कतिसम्म भने,पोखरा पर्यटन परिषद्ले हरेक वर्ष असार १५ मा आयोजना गर्दै आइरहेको रोपाइँ महोत्सवको लागि पनि खेत खोज्नुपर्ने बाध्यता आइलागेको छ।

परिषद्ले आइतबार २० औँ संस्करणको रोपाइँ महोत्सव पोखरा २६, गुँदेताल किनारमा आयोजना गर्‍यो। नेपाललाई ‘सवै मौषमको गन्तव्य’ को रुपमा ब्राण्डिङ गर्न र पर्यटकलाई मौलिक संस्कृतिबारे जानकारी दिन आयोजना गरिने रोपाइँ महोत्सवलाई खुला ठाउँ चाहिन्थ्यो। आयोजक संस्थाका अध्यक्ष तारानाथ पहारीका अनुसार रोपाइँ महोत्सवमा नेपालमा भएका विदेशीमात्र नभएर आन्तरिक पर्यटक पनि रमाए। 

‘हामी प्रकृति, संस्कृति र आतिथ्यता बेच्छौँ,’अध्यक्ष पहारीले भने,‘रोपाइँ हाम्रोलागि मानो रोपेर मुरी उब्जाउने बेला हो तर यो पर्यटन प्रवद्र्धनको पनि माध्यम हुनसक्छ भन्ने प्रमाणित भएको छ।’

आयोजक संस्थाका महासचिव जीवन सापकोटाले असारे पन्ध्रमा आयोजना गरिएको महोत्सवले हिलो नटेकेका नेपाली नयाँ पुस्तालाई पनि आकर्षित गरेको बताए। 

पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले महोत्सवको आयोजनापछि पोखराको लेकसाइड वरपरको पर्यटकीय गतिविधि लेखनाथ क्षेत्रमा पनि विस्तार हुने र देशमा हरियो डलर भित्रने आशा जताए।

जेठोबुढो फल्ने फाँट घट्दो, बेसाहाकै भरमा पोखरा 
२०७८ सालको कृषि गणना अनुसार पोखरा महानगरपालिकामा ३७ हजार १ सय ५६ कृषक परिवार र  खेतीयोग्य जमिन ८ हजार ९ सय ७४ हेक्टर रहेको छ। पोखरा महानगरपालिकाको कृषि महाशाखाका अनुसार त्योमध्ये ८ हजार ३ सय ९५ हेक्टरमा धानसहित मौसमी बाली लगाइन्छ। 

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार पोखराको जनसंख्या ५ लाख १३ हजार ५ सय ४ रहेको छ। यहाँ वर्षिक आउने पर्यटकको संख्या १५ लाख हाराहारी छ। एकजनालाई वार्षिक रुपले १८३ किलोग्राम खाद्यान्न चाहिन्छ। पोखरा महानगरको आर्थिक विकास महाशाखाले गरेको एक अध्ययन अनुसार धानसहित अन्य खाद्यान्नको हकमा पोखराको उत्पादन चाहिँ जम्मा ६ करोड ५७ लाख  किलोग्रामको हाराहारीमामात्र हुन आउँछ।

पोखराबाट बाहिर गएको जनसंख्या र यहाँ आउने पर्यटकको हिसाब मिलाउँदा वार्षिक १५ लाख व्यक्तिलाई खाद्यान्न चाहिन्छ भन्ने मान्ने हो भने यहाँ वार्षिक १ सय ५९ किलोग्राम खाद्यान्न पुग्दैन। 

गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा ‘व्यावसायिक कृषि तथा आत्मनिर्भरता’लाई प्रदेश विकास तथा रुपान्तरणका १४ वटा प्रमुख क्षेत्रमध्ये एक मानेको छ। प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका ९ वटा जिल्लामा धानखेती हुँदै आइरहेको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका ९ जिल्लामा १ लाख १५ हजार पाँच सय ४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। 

प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी नवलपुरमा २५ हजार नौ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ। यस्तै म्याग्दीमा सबैभन्दा कम तीन हजार आठ सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

तनहुँमा १९ हजार दुई सय १० हेक्टर, लमजुङ १५ हजार सात सय एक, गोरखा १७ हजार सात सय ७५, स्याङ्जा १८ हजार ४०, पर्वत ८ हजार नौ सय ६३ र बागलुङमा ६ हजार १० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आइरहेको मन्त्रालयको तथ्यांक रहेको छ। प्रदेशमा वर्षे, चैते र घैयाँ धानखेती लगाइन्छ। 

जिल्लागत रुपले भन्दा गोरखामा १७ प्रतिशत, लमजुङमा २७, तनहुँमा २१, स्याङ्जामा २५, कास्कीमा २९, मनाङमा ६, मुस्ताङमा २०, म्याग्दीमा ३७, पर्वतमा १५, बागलुङमा ३४ र नवलपुरमा १२ प्रतिशत जमिन बाँझो रहेको छ। गण्डकी प्रदेशभरको हिसाबमा चाहिँ यहाँ प्रतिव्यक्ति वार्षिक २ सय १ किलोग्राम खाद्यान्न उत्पादनको लक्ष्य राखिएकोमा १ सय ९०.८ किलोग्राम उत्पादन भएको गण्डकी नीति तथा योजना आयोगको प्रतिवेदनमा जिकिर गरिएको छ।

गण्डकीमा नवलपुर जोडिएपछि धान उत्पादन बढेको देखिएको हो। प्रदेश नीति तथा योजना आयोगले नै कृषिको व्यावसायिकरण हुन नहुँदा,कृषि सम्मानित पेशा बन्न नसक्दा र सिंचाइको सुविधा नपुग्दा उत्पादकत्व नबढेको औँल्याएको छ।

२०७९/०८० मा गण्डकीको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको ३०.७ प्रतिशत योगदान छ। यसलाई हाल कार्यान्वयनमा रहेको दोस्रो पञ्चवर्षीय योजना सम्पन्न हुँदा अर्थात् २०८६ सम्म २३.२९ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ। 

कृषिको योगदान बढाउनु भनेको अन्य क्षेत्रको योगदान बढोत्तरी हुनु हो। पोखरासहित समग्र गण्डकी नै पर्यटकीय क्षेत्र हो तर  राष्ट्रिय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०८१/०८२ मा गण्डकीको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले नै सवैभन्दा बढी योगदान रहने अनुमान गरेको छ। 

यो तथ्याङ्कले भन्छ–पोखरा र गण्डकीमा आफूलाई पुग्ने धान फल्दैन। ‘बेसाहा’ खेप्नुपर्छ। पछिल्लो समय हाइब्रिड धान लगाउँदा उत्पादन बढे पनि खेतीयोग्य जमिन मासिने क्रम तीव्र हुँदा उत्पादकत्व बढ्न नसकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाको भनाइ छ। 

कुलो र पानी छ तर कहाँ लगाउने ?
पोखराको सिँचाइको इतिहास पुरानो छ। फेवाताल पुछारको पाल्पाली र विरुवा फाँटमा १८४१ सालतिर नै फेवाको पानीबाट सिँचाइ गरिन्थ्यो। पाल्पाली कुलोको नामले प्रख्यात सो कुलो फेवातालमा अस्थायी बाँध हालेपछि निर्माण हुन्थ्यो। बर्खामा भेल आउँदा बगाउँथ्यो। अर्को वर्ष त्यो कुलो फेरि तयार गरिन्थ्यो। 

कृषि वैज्ञानिक डा.अनिल सुवेदीका अनुसार पोखरामा साना–ठूला गरी ६० वटा सिँचाइ आयोजना संचालनमा रहेका छन्। २०१२ सालमा मर्मत गरिएको विजयपुर नहर तथा २०१७ सालमा बनेको हेमजा सुइखेतको चौरासी कुलो यही समृद्ध सिँचाइ परम्परासँग जोडिएको सुवेदीको भनाइ छ। 

२०३८ सालमा चीन सरकारको. सहयोगमा सेती जलविद्युत तथा सिँचाइ आयोजना निर्माण भयो। पोखरा १६ को जौवारीमा बाँध बाँधेर ल्याइएको पानीले १  हजार ३० हेक्टर क्षेत्रफललाई सिँचाइ सुविधा पुग्छ भने यसबाट १.५ मेघावाट विद्युत पनि उत्पादन हुन्छ।

६० करोडमा निर्मित तथा २०४२ सालबाट संचालित यो जलविद्युत र सिँचाइ परियोजना यस्तो छ कि,यो सिँचाइ परियोजनाबाट आवश्यक परेको बेला फेवातालमा पानी झार्न सकिन्छ भने विजयपुर खोला सुख्खा हुँदा विजयपुर खोलामा पानी झारेर बेगनास तालसम्म पुर्‍याउन सकिन्छ।

सेतीको पानी पुनः सेतीमै झार्न मिल्नु पनि यो परियोजनाको विशेषता हो। तर, अहिले सेती सिँचाइ परियोजनाको कममात्र उपयोग हुन सकेको छ। पोखराको मुख्य सहरी क्षेत्र घना बस्तीमा बदलिँदा नहर अतिक्रमणमा परेको मात्र छैन, पछि विकास भएको बस्तीका बासिन्दाका निम्ति यो फोहोर पाल्ने ठाउँ बनिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad