गण्डकी


मापसे र लापसे गरेका प्याराग्लाइडिङ पाइलट पक्राउ

मापसे र लापसे गरेका प्याराग्लाइडिङ पाइलट पक्राउ

नेपालखबर
जेठ ५, २०८२ सोमबार १९:३८, पोखरा

प्याराग्लाइडिङ साहसिक खेल हो। बिना इन्जिनको प्यारालाई हावाको गतिसँग तालमेल मिलाएर डोरीको सहायताले उडाइन्छ। निश्चित अवधिको तालिम र नागरिक उड्डयन प्राधिकरणले लिने परीक्षा उत्तीर्ण गरेपछिमात्र उसले प्याराग्लाइडिङको व्यावसायिक उडान भर्न पाउँछ। 

सामान्य भाषामा भन्ने हो भने, व्यावसायिक उडान भनेको यात्रुलाई अगाडि राखेर पाइलटले प्यारा उडाउनु हो। प्यारापाइलटको हातमा स्वयं र यात्रुको जीवन अडेको हुन्छ। पाइलट हरबखत सचेत रहनुपर्छ।

प्याराग्लाइडिङको लागि पोखरा प्रख्यात छ। यहाँ करिब १६ वटा कम्पनीले व्यावसायिक रुपले यात्रुलाई आकासमा लगेर कावा खुवाउँछन्। करिब १५० जति व्यावसायिक पाइलट यो पेशामा संलग्न छन्। तर, यात्रुलाई हावामा कावा खुवाउने प्यारापाइलट आफैँ भने लागुपदार्थ र मादकपदार्थ खाएको अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले सोमबार बिहान प्याराग्लाइडिङ उडान भर्ने पोखरा १८ सराङकोटको तोरीपानी पुगेर गरेको मादक पदार्थ सेवन (मापसे) र लापसे (लागुपदार्थ सेवन) जाँचमा एकजना पाइलट दुवै कुरा सेवन गरेको अवस्थामा भेटिएका हुन्। 

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया चेकजाँचका लागि आफैँ पुगेका थिए।

‘पाइलटलाई सजग गराउन खोजेको हो। स्वदेशी र विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित तुल्याउने हेतुले नै हामी त्यहाँ पुगेका हौँ। शान्ति–सुरक्षा कायम गर्नु र नागरिकलाई सुरक्षा दिनु हाम्रो दायित्व नै हो,’ एसपी ओलियाले भने,‘पर्यटन क्षेत्रमा सानो नराम्रो कुरा हुँदा पनि ठूलो असर पुग्छ। अझ आकासमा उडान भर्ने पेशालाई त झन् सुरक्षित बनाउनुपर्छ भन्ने ठानेर पाइलटहरूको चेकजाँच गरिएको हो।’

उनका अनुसार ३९ जना पाइलटहरूलाई मापसे र  सोहीमध्येका १५ जना पालटहरूलाई लापसे चेकजाँच गर्दा १ जना पाइलट मापसे र लापसे दुवै सेवन गरेको अवस्थामा भेटिएका थिए।

निजलाई नियन्त्रणमा लिइ कानुनी प्रकृया अगाडी बढाइको उनले बताए।

‘हामीले गरेको र्‍यापिड टेस्ट हो। किटबाट गरेको हो। मापसे जाँच सबैको भयो, लापसे चाहिँ र्‍यान्डम गरेको हो। अरुमा देखिएन,’ उनले भने,‘ व्यावसायिक उडान गर्ने पाइलट नै रहेछन्। उसलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइएको छ।’

पक्राउ पर्ने पाइलट पोखरा १८,तोरीपानीकै विशालबहादुर क्षेत्री रहेका छन्। उनीविरुद्ध लागुपदार्थ सेवनको कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने कास्की प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad