राजनीति


नेपालखबर ‘संसदमा म’मा विना लामा : संसद् त सोरुम हो, पार्टपुर्जा सभामुखको कार्यकक्षमै बन्छ (भिडिओ)

‘पालिका जिताउँदा नाक जोगायो भने, सांसद बन्दा क्रिस्चियनलाई किन बनाएको भन्दै आलोचना गरे’

अनिल यादव
जेठ ५ , काठमाडौँ

क्याम्पस पढ्दा राजनीतिको ‘र’ सम्म उच्चारण गर्न रुचाउँदिन थिइन्, विना लामा। कतै राजनीतिक भाषण हुँदै छ भने उनी कानमा ‘इयरफोन’ लगाइहाल्थिन्। बरु परिवारको सुझावमा अधिकृतस्तरको कुनै सरकारी जागिर खाने मोह भने थियो। तर, जीवनमा यस्तो घुम्ती आयो, उनी राजनीतिमा मोडिन बाध्य भइन्। ०७४ सालमा बागमतीभर राप्रपाबाट कसैले पालिका नजित्दा उनले २६ वर्षकै उमेरमा धादिङ जिल्लाको रुवी भ्यालीबाट उपाध्यक्ष जितिदिइन्। 

आफू क्रिस्चियन धर्मावलम्बी भए पनि उनी हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपामा आबद्ध थिइन्। सबै खुसी भए, तारिफ नै गरे। तर, ०७९ मा जब उनी राप्रपाबाटै समानुपातिक सूचीमा परेर सांसद भइन्, ‘क्रिस्चियनलाई सांसद बनाउने’ भनेर कतिले आलोचना गरे, कतिले ट्रोल नै बनाए। 

‘हिजो बागमती प्रदेशभरि राप्रपाबाट रुवीभ्यालीले मात्रै उपाध्यक्ष जित्दाखेरी विना लामाले क्रिस्चियन भएर पनि कमल थापाको नाक जोगाई भनेर प्रशंसा गरे,’ विना भन्छिन्, ‘सांसद बन्दा चाहिँ हिन्दु राष्ट्रको एजेन्डा बोकेको पार्टीले क्रिस्चियनलाई सांसद बनायो भनेर आलोचना गरे। यो धर्म परिवर्तन गर्न आएको हो, डलरमा बिकेको हो भनेर नानाथरी भनियो। तर यथार्थ त्यस्तो थिएन।’

नेपालखबर विशेष भेन्चर ‘संसदमा म’ को नयाँ भागमा यसपटक हामी राप्रपाकी समानुपातिक सांसद धादिङकी विना लामाको कथा र अनुभूति लिएर आएका छौँ। राजनीतिप्रति पुरै वितृष्णा राखेकी विना कसरी अचानक राजनीतिमा होमिइन् र सांसदसम्म बनिन् :

रुवीभ्यालीदेखि संघीय संसदसम्म विना लामाको राजनीतिक यात्रा कथा र अनुभूति :

–मलाई राजनीति पटक्कै मन नपर्ने विषय थियो। तर मास्टर्स डिग्रीमा बाध्यताले राजनीतिशास्त्र भन्ने विषय पनि पढ्नुपर्‍यो। जब म राजनीतिक कार्यक्रमहरूमा जान्थेँ, भाषण सुन्नेबित्तिकै कानमा इयरफोन हाल्थेँ। मेरो परिवारबाट सुझाव आयो– ‘तिमी पढेलेखेको सक्षम छौ, अब कमाउन विदेश जान्छु भन्ने सोच नराख, यतै सरकारी काम गर।’ परिवारको सुझाव मान्दै म सरकारी कार्यालयमै आवेदन दिन थालेँ। त्यतिखेर पालिका थिएन, गाउँ विकास समिति थियो। मेरो गृहजिल्ला धादिङकै एक पालिकामा छैटौँ तहको अधिकृतका लागि कर्मचारी माग गरिएको रहेछ। म आवेदन दिन त्यहाँ पुगेँ। 

–रिसेप्सनमा एकजना दाइले सोध्नुभयो– कुनै राजनीतिक पहुँच या भनसुन गर्न सक्ने व्यक्ति छ तपाईँसँग? मैले भनेँ– इन्टरभ्यु फेस गर्ने म, परीक्षा लेख्ने पनि म, अनि राजनीतिक भनसुन चाहिन्छ र हजुर? उहाँले अहिलेसम्म चलिआएको चलन यस्तै छ भन्नुभयो। मेरो डकुमेन्ट हेरिसकेपछि उहाँले भन्नुभयो– ‘अहिलेसम्म तीनजनाको आवेदन दर्ता भइसक्यो। डकुमेन्ट त तपाईंको भन्दा कमजोर नै छ।’ त्यसपछि मलाई अर्को कर्मचारीको कोठामा पनि पठाइयो। त्यहाँबाट फेरि अर्कोमा पठाइयो। एकपछि अर्कोरुममा घुमाइरहियो। मैले मेरो नातेदार दाइलाई यसबारे सुनाएँ। उहाँले कुनै एक पार्टीको जिल्ला सभापतिलाई फोन गर्नुभएछ। उहाँ त्यहाँ गाउँ समितिको कार्यालय आउनुभयो। त्यसपछि सुरुमा डकुमेन्ट लिन नमान्ने कर्मचारीले ‘ए उहाँको मान्छे पो हो’ भन्दै डकुमेन्ट लिए। तर दर्ताचाहिँ गरेनछन्। 

–आफू सक्षम हुँदाहुँदै पनि भनसुन गर्नुपर्ने राजनीतिमा म आउँदिनँ भनेर अड्डी कसिरहेँ। तर, मेरो कजन दाइले मलाई भन्नुभयो– ‘यो फोहोरी व्यवस्था छ, यहाँ फोहोरी खेल हुन्छ, त्यसलाई सफा गर्न तिमीहरूजस्तो युवाहरू राजनीतिमा आउनुपर्छ।’ त्यसो त मेरो पारिवारिक राजनीतिक पृष्ठभूमि नै राप्रपा हो। मैले थाहा पाएदेखि नै मेरो बुबा, आमा, कजन दाइ सबै यही पार्टीमा हुनुहुन्थ्यो। त्यसपछि म वडादेखि नै उठेर आउनुपर्छ भनेर गाउँ फर्किएँ। 

–०७४ वैशाखमा स्थानीय तहको चुनाव घोषणा गरियो। मैले नेतृत्वलाई भनेँ– गाउँपालिकाको अध्यक्ष या उपाध्यक्ष पदमध्ये एउटामा उठ्न तयार छु। माननीय बुद्धिमान तामाङको घरमै गएर भनेँ तर जवाफ प्रष्ट आएन। ‘के हुन्छ हेरौँला, तिमी गाउँ जाऊ न’ मात्र भनियो। उम्मेदवारी दर्ता गर्न एक हप्ताअघि गाउँ पुग्नुपर्थ्यो।धादिङबेसीबाट ४ दिन हिँडेर बास बसेपछि म उठेको गाउँपालिका (रुवीभ्याली) पुगियो। टिकट पाउने कन्फर्म छैन, म बसेको बस्यै भएँ। १० बज्यो, ११, १२, १, २ हुँदै ४ बज्यो। एकैपटक ४ बजे मात्रै ‘तिमी दर्ता गर’ भनेर टिकट दिइयो। त्यसपछि मैले चुनाव जितेँ र उपाध्यक्ष बनेँ।  

– गाउँपालिका उपाध्यक्षको कार्यकाल सकिएपछि म राजनीतिबाट विश्राम लिन चाहन्थेँ। राजनीतिबाट बिदा लिएर पिएचडी गर्न लन्डन जाने तयारीमा थिएँ।त्यहीअनुसार नेताहरूसँग छलफल पनि गरेको थिएँ। अफर लेटर पनि आइसकेको थियो। तर, त्यही बेला मेरो नाम पार्टीको जिल्ला कमिटीबाट सिफारिस भएर केन्द्रमा आएछ। मैले कुनै नेताकहाँ गएर ‘मलाई समानुपातिकमा नाम राख्नुपर्‍यो’ भनेको थिइनँ। न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनेको थिएँ, न मेरो जिल्लाको ठूलो नेता बुद्धिमान तामाङकहाँ नै गएँ। समानुपातिकमा पर्नका लागि पैसाको बार्गेनिङ हुने, नेताको घरघरमा धाउनेजस्ता पहल गरिन्थ्यो रे भन्ने मैले सुनेको थिएँ। तर, मेरो त्यस्तो केही नगरी आदिवासी जनजातितर्फ १ नम्बरमा नाम सिफारिस पर्‍यो। चुनावी परिणामपछि हाम्रो पार्टीको थ्रेसहोल्ड कट्यो र म प्रतिनिध सभा सदस्य बनेँ। 

–म सांसद भएपछि कतिपयले मेरो धार्मिक आस्थासँग जोडेर मलाई गाली गर्ने, ट्रोल गर्ने काम पनि गरे। धार्मिक हिसाबले म क्रिस्चियन हुँ। क्रिस्चियनलाई हिन्दु राष्ट्रको एजेन्डा बोकेको पार्टीले सांसद बनायो भनेर आलोचना गरे। यसले धर्म परिवर्तन गर्न आएको हो, डलरमा बिकेको हो भनेर नानाथरी भनियो। यथार्थ त्यस्तो थिएन। हिजो बागमती प्रदेशभरि राप्रपाबाट रुवीभ्यालीले मात्रै उपाध्यक्ष जित्दाखेरी विना लामाले क्रिस्चियन भएर पनि कमल थापाको नाक जोगाई भनेर प्रशंसा गरे। अहिले सांसद हुँदाचाहिँ टिकाटिप्पणी।

–म पालिकामा हुँदाखेरी केही मात्रै गर्न सकेँ भने सांसद भएपछि मेरो क्षेत्रका लागि अथाह गर्न सक्छु भन्ने हुटहुटी मनमा बढेको थियो। पाँच लाखमा केही बाटो बनाउँथे भने ५ करोड हाल्न पाएँ भने पिच नै बनाइदिन्थेँ भन्ने लाग्थ्यो। दुर्गम ठाउँमा शिक्षकहरूको दरबन्दी नै नआउने, सबै करारले चलाउनुपर्ने। म सदनमा पुगेपछि त राम्रोराम्रो शिक्षक छनौट गरेर पठाइदिन सक्छु कि भन्ने लाग्थ्यो। सांसदका रूपमा सायद मेरो ज्ञान धेरै थिएन, त्यसैले अपेक्षा उच्च थियो। धादिङको मुहार फेर्न सक्छु भन्ने लाग्थ्यो। तर, त्यस्तो होइन रहेछ। जतिसुकै जनताको अवस्था बुझाए पनि, समस्याको ध्यानाकर्षण गराए पनि सरकारले नसुन्ने रहेछ। 

–सदन छिरेर शपथग्रहणपश्चाश मेरो पहिलो सम्बोधन गर्ने क्रममा धादिङकै विकासबारे सरकारलाई ध्यानाकर्षण गराएँ। बोलेर बाहिर पानी खान लबीतिर निस्किनेक्रममा केही माननीयहरूले ‘जनजाति, तामाङ भएर पनि राम्रो बोल्न सक्नुहुँदो रहेछ त’ भनेर टिप्पणी गर्नुभयो। राम्रोसँग बोल्यो मात्रै भन्न सकिन्थेन र? जातीय हिसाबले टिप्पणी गर्न जरुरी थियो? त्यस्तै सुरुमा छिर्नेबित्तिकै मर्यादापालकहरूले पनि हेर्दाखेरी बच्चाजस्तो देखिने भनेर अर्कै खालको व्यवहार गर्थे। 

–संसदमा अपेक्षाअनुरूप काम अहिलेसम्म भएको छैन। हुन्छ भन्ने अझै पनि लाग्दैन। तर जनताको आशा मर्न दिन्नँ। आफ्नो जनताको अवाज उठाइरहन्छु। हामी सरकारमा छैनौँ, त्यसैले पूरा गर्ने नगर्ने सरकारको जिम्मेवारी हो।

–संसद् भनेको सोरुम जस्तै रहेछ। त्यसको हरेक पार्टपुर्जाहरू कि त सभामुखको कार्यकक्षमा या बाहिरै तयार भइसकेको हुन्छ। आज यो गर्ने, त्यो गर्ने, आज यो बोल्ने, त्यो बोल्ने, फलानाले बोल्ने, फलानाको पार्टीलाई यति भनेर अगाडि नै तय भइसकेको हुन्छ। संसद बैठक त जनतालाई देखाउने एउटा दाँत मात्रै हो। 

भिडिओ :

जेठ ५, २०८२ सोमबार १९:३९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad