व्यापारी तथा कर्मचारीमाथि कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले बुधबार अपरान्ह पोखरा १६,ढिकीडाँडाबाट पक्राउ गरेको हो।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर पाण्डेले पक्राउको पुष्टि गरे। डीएसपी पाण्डेका अनुसार वडाध्यक्ष पराजुलीका विरुद्ध उनकै टोल पोखरा ४,सर्वेश्वर मार्गमार्गका व्यवसायी लेखनाथ सुवेदी तथा पोखरा महानगरका कर्मचारी ईश्वरी पौडेलमाथि हातपात गरेको उजुरी परेको छ।
मंगलबार दिउसो सर्वेश्वर मार्गमा सुवेदी थ्रेड एण्ड श्रृंगार स्टोर संचालन गर्ने सुवेदीको पसल बाहिर सडकमा राखिएको सामान नगर प्रहरीले नियन्त्रणमा लिएको थियो। सडकमा सामान राख्न नपाइने नियमानुसार सामान उठाएपछि सुवेदीले नगर प्रहरीसँग बाहिर राखिएको सामान भित्र लैजाने प्रक्रियामा रहेको तथा आफूले भर्खरै ग्राहकलाई सामान बेचेको बताउँदै नियन्त्रणमा लिइएको सामान फिर्ताको माग गरेका थिए।
सोही बेला वडाध्यक्ष पराजुली त्यहाँ आइपुगेका थिए। उनले सुवेदीलाई सडकमा किन सामान (डमी) राखेको,हटाऊ भनेका थिए। भनाभन हुँदा स्थिति तनावपूर्ण बनेको थियो। सोही क्रममा आफूमाथि हातपात भएको सुवेदीको जिकिर छ। वडाध्यक्ष पराजुलीले चाहिँ सुवेदीले नगर प्रहरीमाथि हातपात गर्न लाग्दा आफूले रोेक्न खोजेको र सोही क्रममा आफूमाथि नै हातपातको प्रयास गरिएको दाबी गरेका छन्।
उता, मंगलबार बिहान पौने १२ बजेतिर वडाध्यक्ष पराजुलीले महानगरका कर्मचारीमथि पनि हातपात गरेको कर्मचारीहरुको आरोप छ। कर्मचारीमाथि भएको हातपात भएको भन्दै स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन्।
तीनवटै संगठनका अध्यक्षद्वारा जारी विज्ञप्तिमा २४ घण्टाभित्र कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरुले आक्रमणको विरोधमा बुधबार सवै वडाको दैनिक कामसमेत रोकेका थिए। पोखरा ४ का वडाध्यक्ष पराजुली नेपाली कांग्रेसको तर्फबाट विजयी बनेका हुन्।
Shares

प्रतिक्रिया