विवादित धर्मगुरु विजय कृष्णमूर्तिले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको बाराही घाटमा आउँदो चैत १ देखि जेठ ३० गतेसम्म ‘श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट महायज्ञ’ आयोजना गर्ने घोषणा गरे।
महायज्ञ आयोजनाको लागि कृष्णमूर्ति नेतृत्वको टोलीले नेपाल ट्रस्टको जग्गा भाडामा लियो। ४८ रोपनी जग्गाको भाडाबापत् नेपाल ट्रस्टले ११ लाख ५९ हजार रुपैयाँ भाडा पनि बुझ्यो।
आयोजकले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको मातहतमा रहेको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र पोखरा महानगरपालिकाको वडा नम्बर ६ कार्यालयसँग अनुमति पनि लियो। पोखराका मेयर धनराज आचार्य स्वयंले मानव सेवा फाउन्डेसनबाट प्राप्त पत्रमा ‘आवश्यक कारबाही गर्नू’ भन्दै तोक लगाइदिए।
प्रक्रिया पूरा गरेपछि विवादित धर्मगुरुकै अगुवाइमा ‘समिदा’को लागि भन्दै पोखरामा चौताराहरू गिँड्न थालियो।
पोखरा महानगरपालिकाको वडा नं १४, ६ र १३ मा रहेका सयौँ वर्ष पुराना वर, पीपल, समीलगायतका रुखहरू पुनः पलाउनै नसक्ने गरी गिँडेपछि त्यसको व्यापक आलोचना भयो। आलोचनापछि बल्ल पोखरा महानगरको होस खुल्यो।
लगत्तै पोखरा महानगरपालिकाको तर्फबाट कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको जिकिरसहितको सार्वजनिक सूचना जारी भयो। महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउन्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको जिकिर गर्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गर्यो।
नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइडस्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत/घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सुचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको जानकारी गरायो। मेयर धनराज आचार्य स्वयंले कुनै पनि हालतमा महायज्ञ आयोजना गर्न नदिने सार्वजनिक घोषणा गरे। मानव सेवा फाउन्डेसनले काटेका बरपीपलका काठ पनि महानगरले जफत गर्यो।
महानगरले कोटीहोमका लागि समिदाका नाममा महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडक छेउका पुराना र ऐतिहासिक चौतारीका वरपीपल लगायत रुख बिरुवाहरू गैरकानूनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई पत्र पठायो।
महानगरले कोटीहोम गर्न नदिने घोषणा गरेलगत्तै कृष्णमूर्ति मुखरित भए। पत्रकार सम्मलेनको आयोजना गरी उनले कोटीहोम नरोकिने र धर्मको नाममा आफू अधर्म गर्नसमेत तयार रहेको भन्दै महानगरलाई धम्क्याए। कृष्णमूर्तिले १० वर्ष अघिदेखिको प्रयास अहिले आएर पूरा हुन लागेकाले महायज्ञ गरेरै छाड्ने उनले अडान लिए।
नेपाल भ्रमण वर्ष २०२५, नेपाली नयाँ वर्ष २०८२ तथा पोखरा महानगरपालिकाले घोषणा गर्न लागेको पोखरा भ्रमण वर्ष २०२५ को अवसरमा बाराही घाट क्षेत्रमा मानव सेवा फाउन्डेसनले कोटिहोमको आयोजना गर्न लागेको उनको भनाइ थियो।
पोखरालाई मुक्तिद्वारको रुपमा रुपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्ववर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार–प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने उद्देश्यससमेत कोटिहोमको रहेको पनि उनको जिकिर थियो।
कोटीहोम महायज्ञमा भागवत कथा प्रवक्ता सुश्री अनुराधा पाण्डे, श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सखी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता श्री देवी प्रतिमाज्यू, वाचन प्रवीण पण्डित दीनवन्धु पोखरेल, भागवत भाष्कर पण्डित श्री कमलनयन गौतम, विख्यात प्रवचनकर्ता श्री चैतन्य कृष्ण महाराजलगिायत आउने पनि उनले बताएका थिए।
कुनै पनि हालतमा महायज्ञ संचालन गर्न नदिने महानगरको अडानपछि भने कृष्णमूर्तिले अदालत गुहारे।
पोखरा महानगरलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदनमा बिहीबार उच्च अदालत पोखराले उत्प्रेषण्को परामादेश जारी गर्दै ‘कोटिहोममा बाधा नपुर्याउन’ आदेश गरेको छ।
उच्च अदालत पोखराका न्यायधीश रत्नबहादुर बागचन्दको इजलासले कानूनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न विपक्षी पोखरा महानगरपालिकालगायत सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।
यस आदेशपछि कोटीहोम विराट ज्ञान महायज्ञ सञ्चालनमा कानूनी अड्चन हटेको फाउन्डेसनले जनाएको छ। महायज्ञ आयोजना गरिनुपर्ने स्थानमा पूर्वनिर्धारित कार्यक्रमअनुसार काम अघि बढाइने र सहभागीहरूको सहजताका लागि आवश्यक पूर्वाधारहरू निर्माण गरिने फाउन्डेसनका प्रतिनिधिहरूले जनाएका छन्।
सधैँ विवादमा
आफूलाई बालयोगेश्वर बताउने विजय कृष्णमूर्ति अर्थात विजय भण्डारी विवादित व्यक्ति हुन्। गएको साउनमा उनले पशुपतिमा यस्तै कोटीहोम लगाएका थिए। गुल्मीमा जन्मेका भण्डारीमाथि यसअघि पनि पटक–पटक धर्मको नाममा सर्वसाधारणसँग पैसा उठाउने धन्दा चलाएको आरोप लाग्दै आएको छ।


Shares

प्रतिक्रिया