गण्डकी


६५ लाख रूपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

६५ लाख रूपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

वाशुदेव मिश्र
पुस २५, २०८१ बिहिबार २०:३७, पोखरा (कास्की)

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी उक्त रकम बुझाएर ८४ दिनपछि छुटेका हुन्। गत कात्तिक २ गते उनी काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए। 

यसबीचमा उनलाई बयानका लागि रूपन्देही,  काठमाडौँ, चितवन र पर्सा लगिएको थियो। बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी गरेको आरोपमा उनीसँग सम्बन्धित जिल्लाका प्रहरीले सरकारी वकिलको रोहबरमा बयान लिएका थिए। 

अब उनी काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। उनका विरूद्धमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा काठमाडौँ अदालतमा दर्ता भइसकेको छ।

उनले काठमाडौँ अदालतमा आफै उपस्थित हुने बताएपछि कागज गराएर छाडेको प्रहरीले बताएको छ।

उनीमाथि चितवन, पर्सा र रुपन्देही प्रहरीले पनि अनुसन्धान गरिरहेका छन्। ती जिल्लाका अदालतबाट पनि उनका विरूद्धमा पक्राउ अनुमति जारी भएका छन्।

यसअघि कास्की अदालतमा अभियोगपत्र दायर गर्दा रविसहितका प्रतिवादी छुटी जाने भएमा प्रहरीलाई नै जिम्मा लगाइदिन माग गरिएको थियो।

न्यायाधीश नितिज राईको इजलासले बिहीबार रविसहित सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

रवि लामिछानेसँग ६५ लाख, नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका छविलाल बन्जाडे जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनालसँग १५ लाख, पूर्वसांसद मीना गुरुङसँग ५ लाख, मीनाका बुवा कृष्णबहादुर गुरुङसँग एक लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको थियो।

यीमध्ये लीला पछाईबाहेक सबै बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन्।

सबैभन्दा बढी धरौटी तोकिएका जोशीले पनि बैंक ग्यारेन्टी बुझाएका छन्। यीमध्ये जोशी नै सबैभन्दा बढी हिरासत बसेका छन्। छविलाई प्रहरीले असोज ६ गते काठमाडौँबाटै पक्राउ गरेर कास्की लगेको थियो। उनलाई पनि रूपन्देही, काठमाडौँ, चितवन र पर्सा लगेर बयान लिइएको थियो। 

कास्की जिल्ला अदालतमा रविसहित १९ जनाविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि मुद्दा चलाइएको छ। लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad