गण्डकी


कास्की अदालतमा रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो

कास्की अदालतमा रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो

नेपालखबर
पुस २३, २०८१ मंगलबार १८:०, पोखरा (कास्की)

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका कानुनी व्यवसायीले कास्की जिल्ला अदालतमा बहस सकेका छन्।

मंगलबार वरिष्ठ अधिवक्ताहरू डा नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बाँस्तोला, अधिवक्ताहरू डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउतले बहस गरेका थिए।

रविका तर्फबाट पूर्वमहान्याधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्त, सुरेन्द्र थापा मगरसहितका कानुन व्यवसायीले पनि बचाउ बहस गरेका छन्।

अधिवक्ता बाँस्तोलाका अनुसार बहसको क्रममा कानुन व्यवसायीहरूले प्रथम दृष्टिमै रविमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको देखिने र उनी निर्दोष रहेको जिकिर गरेका थिए।

थुनछेक बहसको क्रममा कानुन व्यवसायीहरूले अनाहकमा रविपत्नी निकिता पौडेललाई पनि जोडिएको र अभियुक्त बनाइएको बताएका थिए।

रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने कुनै कारण नरहेको पनि उनीहरूको जिकिर थियो।

रविका कानुन व्यवसायीहरूको प्रतिवादी बहस सकिएसँगै अब मीना गुरुङ, कृष्ण गुरुङ र आरती गुरुङका कानुन व्यवसायीले बहस गर्नेछन्। यसअघि सोही प्रकरणमा पक्राउ परेका छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनालका पक्षबाट बहस भइसकेको छ।

बाँकी तीन जनाको बहस सकिएपछि न्यायाधीश नितिज राईको इजलासले अभियुक्तहरूलाई पुर्पक्षको लागि जेल पठाउने, उन्मुक्ति दिने वा बाहिरै बसेर मुद्दा लड्ने भन्ने निर्क्योल गर्नेछ।

यसैबीच रविको बयान सकिने दिन उनका समर्थकहरूले कास्की जिल्ला अदालतबाहिर प्रदर्शन गरेका थिए।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध नाराबाजी पनि गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad