बागमती युथ क्लबमाथि जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार सम्पन्न खेलमा पुलिसले बागमतीलाई २–० ले हराएको हो। पुलिसको जितमा कप्तान नेरु थापा र पूजा रानाले गोल गरिन्।
यसअघि पुलिसले वालिङ नगरपालिकालाई ५–० ले हराएको थियो भने विभागीय डर्बीमा पूजाको गोलले मान्यता नपाउँदा त्रिभुवन आर्मीसँग अंक बाँड्नुपरेको थियो।
योसँगै पुलिसले एपीएफलाई एक अंकले उछिन्न सफल भएको छ। एक खेल कम खेलेको एपीएफको ६ अंक छ।
पुलिसले भने तीन खेलबाट सात अंक बटुलेको छ। बागमतीको भने यो लगातार तेस्रो हार हो। यसअघि बागमती आर्मीसँग २–० र एपीएफसँग ५–१ ले पराजित भएको थियो।
पुलिसलाई दोस्रो जित दिलाउन नेरुले खेलको नवौं मिनेटमै सुरुआती अग्रता दिलाएकी थिइन्। निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा पूजाले अर्को गोल गर्दै २–० को जित दिलाइन्।

Shares

प्रतिक्रिया