गण्डकी


चिनियाँ ड्रागन रेस : चिनियाँ नै विजयी

चिनियाँ ड्रागन रेस : चिनियाँ नै विजयी

नेपालखबर
पुस १५, २०८१ सोमबार २०:२२, पोखरा

ड्रागन अर्थात् अजिङ्गर चीनको राष्ट्रिय जनावर हो। ड्रागनले चीनलाई नै चिनाउँछ। त्यसो त, चीनमा ‘ड्रागन रेस’ पनि हुन्छ।

चिनियाँ लुनार क्यालेण्डरको पाचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिभलको आयोजना गरिन्छ। चिनियाँहरु पात्रोको पाचौँ महिनालाई प्रेतपिशाच महिना मान्छन्। चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यो चाड मनाइन्छ। ‘डुआन्वु जी’ को बेला सार्वजनि बिदा दिइन्छ।

युनेस्कोले सन् २००९ देखि यो पर्वलाई अमूर्त सांस्कृतिक सम्पदामा दर्ज गरेको छ। युनेस्कोको आधिकारिक वेवसाइटका अनुसार यो पर्वको इतिहास कवि छु युआनको आत्महत्यासँग जोडिएको छ। 

त्यो बेला हान वंशको शासन अत्यन्त कमजोर हुँदै गएको थियो। चीनका विभिन्न भागमा युद्धहरु भइरहेका थिए। कवि युयान युद्ध चाहँदैनथे। उनले शान्तिका लागि राजालाई आग्रह गरे तर राजाले मानेनन्,युद्धमा हार हात लाग्यो। निराश भएका कविले मिलो नदीमा हाम्फालेर ज्यान फाले।

छु राज्यका जनताले उनको उद्दारको प्रयास गरे। उद्दारको लागि नदीमा डुंगा दौडाए। हल्ला गरे। उनलाई माछाले नखाओस् भनेर भातको डल्लो (चोङ च) बनाएर नदीमा फाले। कालान्तरमा कवि खोज्न गरिएको प्रयास नै ड्रागन बोट फेस्टिभल बन्यो।

बाँस अथवा नर्कटको पातले बेरिएको, त्रिभुज आकार भएको तथा भातसँगै मासुका टुक्रा, बयर,अण्डाको पहेँलो,गेडागुडी मिसाइएको भातको डल्लो (चोङ च) ड्रागन फेस्टिभलको परिकारमा दर्ज भयो।

चिनियाँहरुकै अगुवाइमा दोस्रो पटक पोखराको फेवातालमा ड्रागन बोट रेसको आयोजना भयो। सोमबार सकिएको पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट आमन्त्रण प्रतियोगिता २०२४ तथा दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनियाँ टिमहरू नै विजयी बने।

पोखराको फेवातालमासोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको छ। दोहोरो उपाधिसँगै उसले नगद १० हजार डलर हात पारेको छ।

डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दूरी ००ः४७ः७२० मिली सेकेण्डमा पार गर्दै च्याम्पियन हुँदा ५०० मिटरतर्फ समेत २ मिनेट ०४.४७ सेकेण्डमा दूरी पार गर्दै च्याम्पियन बनेको हो।

त्यस्तै २०० मिटरतर्फ एक सेकेण्डले पछि रहेको चीनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ। उसले ००ः४८ः२२० मिली सेकेण्डमा दूरी पार गर्न सफल भयो भने चीनकै लिआओचिङ यूनिभर्सिटी टिम ००ः५०ः८३० मिलिसेकेण्डमा दूरी पार गर्दै तेस्रो भएको छ।

त्यस्तै सोही स्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय ००ः५१ः१६० मिलिसेकेण्डको समयमा चौथो स्थान प्राप्त गरेको छ। यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ।

उसले निर्धारित दूरी २ मिनेट ७.३४ सेकेण्डमा पूरा गरेको थियो भने प्रतियोगितामा यूहान युनिभर्सिटी टिम तेस्रो भएको छ। उसले निर्धारित दूरी पार गर्न २ मिनेट ८.४४ सेकेण्डको समय लिएको थियो।

प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने अन्य सहभागी टिमहरुलाई नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए। प्रतियोगितामा चीनको ८, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशबाट सहभागी रहेका थिए।

प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad