गण्डकी


प्रकृति र संस्कृतिको संगम फलामेडाँडा

प्रकृति र संस्कृतिको संगम फलामेडाँडा

फलामेडाँडा


नेपालखबर
पुस १२, २०८१ शुक्रबार ७:४३, म्याग्दी

करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका-५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए।

‘बेनी बजार नजिकैको सबैभन्दा उच्च स्थानमा प्रकृति र संस्कृतिमा रमाउन पाउनु फलामेडाँडाको विशेषता हो’, उनले भने, ‘बेनी, बागलुङ र कुश्माबाट बिदा मनाउन आन्तरिक पर्यटक यहाँ आउन थालेका छन्।’

प्राकृतिक हिसाबले सौन्दर्ययुक्त फलामेडाँडा जोड्ने सडक स्तरोन्नति सुरु र सामुदायिक लज सञ्चालन भएकाले पाहुनाहरू आकर्षित भएको पुनले बताए। शनिबार र सार्वजनिक बिदाका दिन पाहुनाको चाप हुने फलामेडाँडा अन्य दिन पनि सुनसान हुँदैन।

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको फलामेडाँडालगायत म्याग्दी र पर्वतका पर्यटकीयस्थललाई समेटेर करबाकेली पदमार्ग बनेको छ। अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा सहायक गन्तव्य हो।

पहाडको टुप्पोमा अवस्थित फलामेडाँडाको पृष्ठभूमिमा धवलागिरि, निलगिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। कालीगण्डकीको तिरबाट म्याग्दी, पर्वत र बागलुङका बस्तीका साथै सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य देखिने कुश्माको ज्ञादिबाट फलामेडाँडा आएका विमल ढकालले बताए।

मगर समुदायको मौलिक कला र संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्यता र ग्रामीण जीवनशैली पनि फलामेडाँडाको थप आकर्षण हुन्। धवलागिरि आमा समूहले पाहुनालाई मौलिक गीत र नृत्यबाट स्वागत गर्छन्। पञ्चैबाजामा नाचगान गर्न पाइन्छ। बेनीबाट दुई घण्टा ३० मिनेट पैदलयात्रा र एक घण्टा २० मिनेट जिप र मोटरसाइकलको यात्रा पनि पुगिने फलामेडाँडामा पाहुनाघर सञ्चालन भएको छ।

एक दिनमा २० जना बास बस्न सक्ने क्षमताको पाहुनाघरमा स्थानीय कुखुरा, खसीको मासु, साग, मुला, कोदो, फापरका परिकारको स्वाद लिन पाइन्छ।

‘फलामेडाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ,’ वडा अध्यक्ष तिलक जिसीले भने, ‘पाहुनाघर र डाइनिङ हल बनेपछि गाउँमा आउने पाहुनालाई खानेबस्ने समस्या हटेको, आयआर्जन र रोजगारीका अवसर सिर्जना भएको छ।’

गत वर्ष फलामेडाँडाको प्रवर्द्धन गर्न लाटोकोसेरो महोत्सव पनि आयोजना भएको थियो। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले फलामेडाँडा, हम्पाल, धाइरिङको भूमे ठाकुर र बनौलाई पर्यटकीय तथा बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणसँगै प्रवर्द्धनमा जोड दिएको बताए।

फलामेडाँडा क्षेत्रको खानेपानी समस्या समाधानका लागि सङ्घीय सरकारमार्फत भित्रिएको आयोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको पनि उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad