निधारमा सप्तरंगी टीका, शिरमा ढाकाटोपी, गलामा सयपत्री र मखमलीको माला! विभिन्न १२ देशबाट पोखरा आएका पर्यटकले तिहारको विशेषतामात्र बुझेनन्,आफैं दाजुभाइ र दिदीबहिनी भएर टीका थापे/लगाइदिए।
तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको भाइटीका महोत्सवमा ५६ जना पर्यटकले यस्तो गरेका हुन्।
होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरुले टीका लगाइदिएका थिए। सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिए र सेलरोटीलगायतका परिकार पनि पस्किएका थिए।

टीकापछि देउसीभैलो र नाचगान पनि भयो। सहभागी पर्यटकहरू पनि नाचगानमा औधी रमाए। आफ्नो नेपाली नाम लीला राखेकी एक चिनियाँ पर्यटकले भाइटीका लगाउन पाउँदा प्रफुल्लित भएको र पोखरा पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन्।
महोत्सवमा इजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापानलगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए।

‘संस्कृति बचाऔं, पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गरिएको हो। होटल संघले १७औं पटक महोत्सव आयोजना गरेको हो।
Shares

प्रतिक्रिया