गण्डकी


अनि यी दाजुभाइले एकअर्कालाई भाइटीका लगाउन थाले

अनि यी दाजुभाइले एकअर्कालाई भाइटीका लगाउन थाले

रासस
कात्तिक १८, २०८१ आइतबार १८:३१, दमौली (तनहुँ)

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ। आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन्।

तर यहाँको व्यास नगरपालिका-१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउने गरेका छन्। आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताए। 

मदन र सुमन दुई दाजुभाइ मात्रै हुन्।

‘आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ। उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो। हामी टीका थाप्न कुरिरहेका थियौँ। नआएपछि मन खल्लो भयो। त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु गर्‍यौँ। त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं’, उनले भने। 

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने। दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन। सुरुका वर्ष उनीहरू आफैँलाई असहज महसुस भयो। दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए। तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाड्नुभएन।

दिदीबहिनी नभए पनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ। ‘दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ। हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad