सहकारी ठगी तथा संगठित अपराधको आरोपमा यही कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तीमा अझै एकसाता प्रहरी हिरासतमै हुनेछन्।
जिल्ला अदालत कास्कीले बिहीबार प्रहरीले अनुसन्धानका लागि मागेको थप ७ दिनको म्याद दिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका रविको हिरासत बसाइ लम्बिएको हो। हाल उनी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
त्यसो त रविका लागि प्रहरी हिरासत नौलो होइन। यसअघि उनी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा २०७६ साउन अन्तिम साता चितवन प्रहरीको हिरासतमा पुगेका थिए। पुडासैनीले २०७६ असार २० गते चितवनको एक होटलमा आत्महत्या गर्नुअघि आफ्नै मोबाइलमा रेकर्ड गरेको भिडिओमा रविलाई दोष लगाएका थिए।
त्यो बेला रवि न्युज २४ टेलिभिजनमा काम गर्थे। साउन ३० गते टेलिभिजनको कार्यालयबाटै पक्राउ गरिएका रविलाई जब चितवन लगियो, उनका पक्षमा व्यापक जनसमर्थन देखियो। समर्थकहरू सडक प्रदर्शनमै उत्रिए। प्रदर्शनमा यति धेरै मानिस सहभागी भएका थिए कि कुनै राजनीतिक दलका नेताको समर्थनमा भन्दा कम देखिन्थेन।
१० दिनपछि उनलाई चितवन जिल्ला अदालतका तत्कालीन न्यायाधीश हेमन्त रावलको इजलासले ५ लाख धरौटीमा छाड्ने निर्णय गर्यो। हिरासतबाट छुटेपछि समर्थकहरूले उनको जयजकार गरे। नारायणी नदी किनारमा ठूलो संख्यामा जम्मा भएका समर्थक देखेर हुनुपर्छ, सम्भवत: रविको मन त्यतिबेलै राजनीतितिर तानियो। अन्ततः उनले पार्टी खोले र २०७९ मा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सदस्यको उम्मेदवार बने। भारी मतका साथ चुनाव जितेर सांसद बन्न सफल भए।
सञ्चारकर्म छाडेर अचानक राजनीतिमा होमिएका रवि पहिलोपटक प्रतिनिधि सभा सदस्य मात्र बनेनन्, एकैचोटि उपप्रधान तथा गृहमन्त्रीसमेत बने। तर त्यही बेला दोहोरो (अमेरिकी र नेपाली) नागरिकता प्रकरणमा उनी सर्वोच्च अदालतबाट दोषी ठहर भए र सांसद र गृहमन्त्री दुवै पद एकसाथ गुमाए।
तर उनले हरेस खाएनन्। प्रक्रिया पूरा गरेर पुन: नेपाली नागरिकता लिए र चितवन-२ मा फेरि उपचुनाव लडेर झन् धेरै मतका साथ विजयी भए। त्यत्ति मात्र होइन, उनी फेरि पनि पहिलेकै पद उपप्रधान तथा गृहमन्त्री फर्काउन सफल भए।
तर नागरिकता काण्डपछि उनी फेरि अर्को काण्डमा तानिए। अर्थात् पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा मुछिए। सूर्यदर्शन सहकारीका पीडितहरूले रविको नाम नै किटेर प्रहरीमा पूरक उजुरी दिए। तर सत्तामा रहेकाले रविलाई यसले खासै छोएन।
प्रहरी तथा पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनलाई उनले नजरअन्दाज गरिरहे। तर एकाएक प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले यो विषय संसद्मै उठायो। उसैको लगातार दबाबमा सहकारी छानबिनका निम्ति संसदीय विशेष समिति गठन भयो। सत्तापक्षीय एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित छानबिन समितिले काम थाल्नासाथ यता माओवादी संलग्न सरकार ढल्यो र संसद्का प्रमुख दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको नयाँ सरकार बन्यो।
योसँगै रास्वपा पनि सरकारबाट बाहिरियो अर्थात् फेरि रविको गृहमन्त्री पद गयो। रास्वपा सांसद शिशिर खनालसमेत संलग्न संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडियामा ल्याउनमा रविको हात नरहे पनि रकम आइसकेपछि तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा रकम अपचलन गरेको ठहर गर्दै उनीविरुद्ध कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्यो।
यसपछि अन्य आरोपितसँगै रविविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढ्यो र सहकारी ठगी र संगठित अपराधको अभियोगमा अन्तत: यही कात्तिक २ गते उनलाई पक्राउ गरी पोखरा ल्याइयो। रवि लगिएको प्रहरीको गाडीकै पिछा गर्दै रास्वपाका सांसद, नेता तथा कार्यकर्ता पनि पोखरा आए। कात्तिक ३ गतेदेखि रास्वपाले निरन्तर विरोध प्रदर्शन गरिरहेको छ।
कात्तिक ४ गते आइतबार देशैभर (खासगरी चितवन) बाट आएका रास्वपा कार्यकर्ताले पोखरामा पनि पुडासैनी प्रकरणकै बेलाजस्तो प्रदर्शन गरे। कास्की प्रशासनले लगाएको निषेधाज्ञा तोडे। उनीहरूले रविविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे। रवि स्वयंले कास्की जिल्ला अदालतको गेटमा उभिएर कार्यकर्तालाई षड्यन्त्रविरुद्ध सडकमा आउन आह्वान गरे।
तर पोखरामा चितवनमा जस्तो रविअनुकूल स्थिति बन्न सकेन। किनकि पोखरा सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ठगिएका हजारौँ पीडित बस्ने सहर पनि हो। यो यथार्थता बुझेपछि रास्वपाका नेताहरूले सहकारी पीडितलाई आफ्ना पक्षमा ल्याउने रणनीति अपनाए। पीडितका घरघर पुगे। पीडितको आन्दोलनमा सहभागी सत्ता पक्ष र प्रतिपक्ष माओवादी केन्द्रका समर्थकलाई फुटाउने प्रयत्न पनि गरे। दुई दिन उनीहरूलाई सडकमा आउनबाट रोक्न सफल पनि भए।

तर दिनदिनकै प्रदर्शनबाट रास्वपा कार्यकर्ता बिस्तारै थाक्दै गए। बाहिरबाट आएकालाई घरले बोलाउन थाल्यो। प्रहरी अनुसन्धान लामो हुन्छ भन्ने रविले नबुझेका हैनन् तर कार्यकर्ताहरूलाई बिहीबार हाजिरी जमानीमा छुट्ने प्रचार गराए। बिहीबार हुने आन्दोलन अन्तिम हुने भनियो। जुन दिन दोस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइँदै थियो। खासमा रास्वपा त्यस दिन कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति लामिछानेलाई अदालत लाने सडक नै अवरुद्ध हुनेगरी प्रदर्शन गर्ने रणनीतिमा थियो।
तर, प्रहरीले उनीहरूले प्रदर्शन गर्नुअघि बिहान १० बजे नै रविलाई अदालत पुर्यायो। सहकारीपीडित र रास्वपा कार्यकर्ता सडकमै थिए। पीडितहरूले थाल ठटाएर प्रदर्शन गरिरहेका थिए। त्यही बेला रविलाई थप ७ दिन हिरासतमा राखेर अनुन्सधान गर्न अदालतले प्रहरीलाई अनुमति दियो।
यो सुन्नासाथ रास्वपाको भीड आक्रोशित बन्यो। जिल्ला प्रशासन कार्यालय कास्की जाने गौंडो (वाई चोक) मा धर्ना दिएर बसेका रास्वपाका नेता-कार्यकर्ताले निषेधाज्ञा तोड्ने प्रयत्न गरे। प्रहरीले अश्रुग्यास प्रहार गर्नुपर्यो। धन्न! कुनै अप्रिय घटना हुन पाएन।
यसपछि भने रास्वपा प्रदर्शन पोखराबाट राजधानी काठमाडौँ मोडिएको छ। रास्वपा गण्डकीका सभापति राजन गौतमका अनुसार शीर्ष नेताहरू शुक्रबार बिहानै काठमाडौँ लागिसकेका छन्।
‘अबको आन्दोलन काठमाडौँमै हो, म अलिकति तारतम्य मिलाउन यहीँ छु, केन्द्रमै पुगेर आफ्नो आवाज र शक्ति दुवै प्रदर्शन गर्ने हो, सभापति (रवि) यहीँ (पोखरा) रहेकाले यता पनि हामी हुन्छौँ नै’, उनले भने।
यस क्रममा रास्वपाका प्रदेश सभापति गौतमले पोखराले सभापति रवि र रास्वपाप्रति भरोसा जगाएको जिकिर पनि गरे।
तर उनले जे दाबी गरे पनि पोखरामा रास्वपा र रवि दुवैको ‘राप र ताप’ घट्दै गएको छनक दिएको छ। अब रविसँग न्यायिक प्रक्रिया स्वीकार्नुबाहेक विकल्प छैन।
Shares

प्रतिक्रिया