ad ad

गण्डकी


कान्छो जिल्लाबाट सांसद बनेकी पद्‌मा, गण्डकी सरकारकी एक्लो महिला मन्त्री

कान्छो जिल्लाबाट सांसद बनेकी पद्‌मा, गण्डकी सरकारकी एक्लो महिला मन्त्री

वाशुदेव मिश्र
भदौ १७, २०८१ सोमबार १५:२०, कास्की (पोखरा)

गण्डकीको कान्छो जिल्ला नवलपुरको प्रतिनिधित्व गर्दै प्रदेश सभासद बनेकी पद्‌मा जिसी श्रेष्ठ गण्डकीको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेकी छन्।

एमाले केन्द्रीय लेखा आयोगकी सदस्यसमेत रहेकी उनकै नेतृत्वमा एमाले गण्डकी सरकारमा सामेल भएको हो। 

नवलपुर क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेकी पद्‌मा जिसी श्रेष्ठले ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका सोम श्रीपालीलाई पराजित गर्दै प्रदेशसभाको यात्रा तय गरेकी हुन्।

जिसीले १९ हजार ३८८ मत ल्याउँदा श्रीपालीले १४ हजार ७ ४३ मत पाएका थिए।

पद्‌मा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत रहेकी पद्‌मालाई यसअघि एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारमै मन्त्री बनाउने चर्चा थियो। तर, उनी मन्त्री बन्ने साइत जुरेन।

खगराज इतर अर्थात् उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिने उनलाई भूगोल तथा गुट दुवै मिलाउने क्रममा यसपटक चाहिँ मन्त्री पद प्राप्त भयो।

९ सदस्यीय मन्त्रिपरिषद्‌मा सहभागिता जनाउने उनी एक्ली महिला पनि बन्न पुगिन्।

२०३१ साले पद्‌मा आमाको प्रेरणाले राजनीतिमा आएकी हुन्। पद्‌माकी आमा उम्मादेवी जिसी पञ्चायतकालमै कम्युनिष्ट बनेकी थिइन्।

हाल कावासोती  २ मा रहेको शिव माध्यमिक विद्यालय पढ्दा नै अखिल बनेकी २०४७ सालमा कुमारवर्ती वाणिज्य क्याम्पसको अखिल सदस्य हुँदै २०४८ सालमा अनेरास्ववियुको जिल्ला कमिटीमा पुगिन्।

राजनीति रगतमै थियो। एमालेको भातृ संगठनमा सक्रिय रहँदै गर्दा २०७२ सालमा उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष बन्न पुगिन्। 

राजनीतिसँगै उनी गैरसरकारी संस्थामा पनि क्रियाशिल थिइन्। सहयात्रा नामक संस्थाको अध्यक्ष पदमा रहेर महिला सशक्तिकरण अभियान चलाउने क्रममा उनी जनतासँग अझ नजिकिइन्।

लायन्स क्लबसँगको संलग्नताले पनि उनको राजनीति यात्रामा सघायो। 

विद्यालयको शिक्षक अभिभावक संघलगायतका संस्थाको नेतृत्व लिँदै गर्दा उनको सामाजिक र राजनीतिक चिनारी फराकिलो बन्यो। एमालेसँगको लामो संलग्नता र सामाजिक चिनारीबाटै उनले प्रदेशको टिकट पाइन्। 

नवलपुरबाट प्रत्यक्षतर्फ उनले दिएको उम्मेवारीलाई जनताले पत्याए। ५ दलीय गठबन्धनलाई पाखा लगाउँदै उनी माननीय बनिन् र अहिले मन्त्री।  

बिहेपछि रोकिएको पढाइ रोकियो त के भो? उनले पढाइलाई निरन्तरता दिएकी छन्। स्नातक तह भर्खरै भ्याएकी यी विद्यार्थीको लागि मन्त्री पद प्राप्तिले राजनीतिक उचाइ र काम गर्ने अवसर दिएको छ। 

एमालेमा अर्की अर्थात् केन्द्रीय सचिव पद्‌मा अर्याल चर्चामै छन्। ती पद्‌माकै उचाइमा पुग्न यी पद्‌माले लामो यात्रा गर्नुछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .