ad ad

गण्डकी


गण्डकीमा थपिए एमालेका ४ मन्त्री, मनाङेलाई भौतिकबाट वनमा सारियो

पृथ्वीसुब्बा र खगराज निकट २/२ जना
गण्डकीमा थपिए एमालेका ४ मन्त्री, मनाङेलाई भौतिकबाट वनमा सारियो

वाशुदेव मिश्र
भदौ १७, २०८१ सोमबार १४:१५, कास्की (पोखरा)

चारवटा मन्त्रालयसहित नेकपा एमालेले गण्डकी सरकारमा सहभागिता जनाएको छ।

कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा एमालेले भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था,कृषि, भूमी व्यवस्था तथा सहकारी, स्वास्थ्य मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय पाएको छ।

ती मन्त्रालयमा क्रमशः प्रकाशबहादुर केसी,पद्मा जिसी, कृष्ण पाठक र मित्रलाल बस्यालले सम्माल्ने भएका छन्। उनीहरूले सोमबार नै मन्त्रीको रुपमा सपथ लिएका छन्।

एमालेलाई चार मन्त्रालय दिने सहमति बनेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या बढाएर ९ पु¥याएका थिए। एमालेलाई महत्त्वपूर्ण मन्त्रालय दिनुपर्ने भएपछि  स्वतन्त्र सांसद दीपक मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालय सुम्पेका छन्। 

एमालेबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने प्रकाशबहादुर केसी समानुपातिकतर्फका सांसद हुन्। एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीकै जोडबलमा उनी आकर्षक मानिने मन्त्रालयको जिम्मेवारीमा पुगेका हुन्।

केसी लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध थिए। राप्रपाकै कोटामा खाद्य संस्थानको अध्यक्षसमेत बनेका उनी २०७१ सालमा मात्र एमाले प्रवेश गरेका हु्न्।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी पद्मा जिसी नवलपुर २ को ‘क’ बाट विजयी सांसद हुन्। एमालेको विद्यार्थी संगठन अखिलबाट राजनीति सुरु गरेकी उनी एमाले केन्द्रीय लेखा आयोगकी सदस्य पनि हुन्। एमाले उनकै नेतृत्वमा गण्डकी सरकारमा गएको हो तर उनले सम्हाल्ने मन्त्रालय चाहिँ भौतिक पूर्वाधारजस्तो आकर्षक मानिँदैन।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने कृष्णप्रसाद पाठक बागलुङबाट समानुपातिक सांसद चुनिएका हुन्। उनी पनि खगराज निकट मानिन्छन्। उद्योग मन्त्रालय प्राप्त गर्ने मित्रलाल बस्याल पर्वत प्रदेश सभा ‘ख’बाट निर्वाचित  भएका हुन्। उनी प्रदेशसभाका जेष्ठ सदस्य पनि हुन्। एमालेको गुटगत राजनीतिमा उनी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन्। 

यो पटक एमालेले मन्त्री बनाएकामध्ये मित्रलाल र पद्मा जिसी पृथ्वीसुब्बा तथा प्रकाशबहादुर र कृष्ण खगराज निकट रहेका छन्। २२ जना सांसद रहेको एमालेमा कास्की क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित भीम कार्की, कास्कीकै गणेशमान गुरुङसहित अन्य केही नेताहरु मन्त्रीका आकांक्षी थिए।

तर, संसदीय दलका नेता खगराज अधिकारीले चाहिँ मन्त्री बनाउँदा कि आफू निकट त कि नरम व्यक्तिलाई नै रोजे। जसले गर्दा पृथ्वीसुब्बा निकट भीम,गणेशमान तथा बागलुङका लीलबहादुर थापाहरू पछाडि परे। 

९ सदस्यीय मन्त्रिपरिषद्‌मा कांग्रेसको तर्फबाट विन्दुकुमार थापा सामाजिक विकास,युवा तथा  खेलकुद र डा. टकराज गुरुङ आर्थिक मामिलामन्त्री रहेका छन्।

कांग्रेसले स्वतन्त्र सांसद दीपक मनाङे र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई पनि आफ्नो भागमा परेको मन्त्रालय दिएर सरकारमै राखेको छ।

केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै एमालेले गण्डकीमा ७ वटै मन्त्रालय हुनुपर्ने, तीमध्ये ३ वटा आफूले पाउनुपर्ने तथा दीपक मनाङे र फणिन्द्रलाई हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएको थियो।

तर, सार्वजनिक खपतको लागि दिइएको अभिव्यक्तिमा एमाले टिकेन।  मन्त्रालयको संख्या ९ बनाउन सहमति जनायो र ४ मन्त्रालय लिएर सरकारमा गयो।

उता, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि कांग्रेसभित्रबाट मन्त्रीका आकांक्षी रहेकाहरुलाई मन्त्री बनाउनेतर्फ भन्दा पनि हिजो आफ्नो पक्षमा बहुमत पु¥याउन सघाउने नेपाल समाजवादी पार्टीका फणिन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेलाई च्यापे।

पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीकै अगाडि ती दुईलाई छाड्न नसक्ने अडान लिए।

जसले गर्दा गण्डकीमा शेखर–गगन समूहबाट एकजनालाई मन्त्री बनाइने चर्चा त्यत्तिकै तुहियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .