गण्डकी


प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार २०:१३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ।

सभाको आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा सुनाएर बैठक स्थगन गरिएको हो।

प्रतिपक्षी बेन्च खाली भएपछि सभामुख कृष्णप्रसाद धितालले ६ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरेका हुन्।

बैठकमा बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूची थियो।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरू बैठकमा उपस्थित नभएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको सभामुखले सभामा जानकारी गराए।

यसअघि कांग्रेस संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारका विषयमा सर्वोच्च अदालतले सरकारलाई नियमित कार्य सञ्चालनबाहेक अन्य दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएकामा सरकारले अधिवेशन बोलाउनु गैरकानुनी भएकाले प्रदेशसभा बैठक बहिष्कारको निर्णय गरेको थियो। कांग्रेसले सरकार गठन र प्रदेशसभा बैठक आह्वान गरिनु असंवैधानिक भन्दै सभामुखलाई पत्र बुझाएको थियो।

कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै बोलाइएको प्रदेशसभा बैठक र अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनै पनि बैठकमा आफ्नो दलका सदस्यहरू सहभागी नहुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .