होटल संघ पोखराको आयोजनामा चैत्र २९ देखि वैशाख १ गतेसम्म १९ औँ फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ।
‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य भएको आयोजकको भनाइ छ।
कोभिड १९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं वाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवले लिएको आयोजकको भनाइ छ।
पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै विदेशमा पनि राम्रो सन्देश गइरहेको बताए।
उनले फेवा महोत्सवले पोखराको झनै प्रचार हुने बताए। उनले सरकारले सडक व्यवस्थित बनाउन र विमानस्थल सञ्चालन गर्न पहल गर्नुपर्ने बताए। उनले निजी क्षेत्रले काम गरेपछि सरकारबाट हुने काम पनि समयमा हुनुपर्ने दबाब जाने बताए।
उनले भने, ‘बाटोघाटाको समस्या छ, राम्रो छैन, बनेको अन्तर्राष्ट्रिय विमानस्थल चलेको छैन। यस्तै कार्यक्रमले देशवासी, जनता र सरकारलाई बताउने हो। जसले नीति निर्माणबाट यस्ता कुरा अघि बढ्छ। निजी क्षेत्रले यसरी काम गरेपछि सरकारबाट पनि हुने काम समयमा हुनुपर्ने दबाब जान्छ। पर्यटक प्रवर्द्धन एक पटक गरेर मात्रै पुग्दैन, नियमित गर्नुपर्छ, गरिरहेका छौँ। अब हामीले पोखरा जाने पर्यटकहरु, अन्यत्र पनि जानुहुन्छ, आउनुपर्ने कारण हामीले उत्पन्न गराउनुपर्छ।’
महोत्सवमा गण्डकी प्रदेशमा रहेका रैथाने खानाको प्रवर्द्धन गर्ने, परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने, सांस्कृतिक झाँकीका कार्यक्रम, कलाकारहरुको प्रश्तुती, पर्यटक दौड प्रतियोगिता आयोजना हुने आयोजकले बताएको छ।
विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा समेटिने उनले बताए।
Shares

प्रतिक्रिया