ad ad

गण्डकी


पञ्चकोटमा साढे ५ हजार किलोको घण्टी

पञ्चकोटमा साढे ५ हजार किलोको घण्टी

नेपालखबर
फागुन ५, २०८० शनिबार १२:३५, ढोरपाटन (बागलुङ)

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ। बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँ महाघण्ट राखिएको हो।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा राखिएको ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्ट

विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन थालिएको थियो। गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो।

पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन्। 

विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ। पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए। 

पञ्चकोटमा यही फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने उनले बताए। मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको स्वामी कमलनयनाचार्य बताउँछन्। महाघण्टी बनाउन आठ वर्ष लागेको थियो। 

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्टी राखिएको उनले बताए। महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ। महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको कमलनयनाचार्यले बताए। 

उनले भने, ‘पञ्चकोटमा महाघण्ट राखिएको छ, यसमा शान्तिको ध्वनि निस्किनेछ, हामीहरुले अबको केही दिनमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना गरेका छौँ, त्यस अवसरमा घण्टको विधिवत् रूपमा प्राणप्रतिष्ठाको कार्य गरिने छ, धेरै समय खर्चिएर घण्ट बनेको छ, यसलाई यहाँ बन्दै गरेको गण्डकी कलशको आडमा राखिने छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .