गण्डकी


एमाले गण्डकी अधिवेशन : पृथ्वीसुब्बा र खगराज दुवै पक्षको प्यानल तयार

एमाले गण्डकी अधिवेशन : पृथ्वीसुब्बा र खगराज दुवै पक्षको प्यानल तयार

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार २१:६, पोखरा

एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहानसम्म धकेलिएको छ।

उम्मेदवारको क्षेत्र निर्धारण मिलाउँदा अबेर भएकाले निर्वाचनका केही कार्यक्रम पर सरेको निर्वाचन समितिले जनाएको छ।

यद्यपि, निर्वाचन समितिले मंगलबार साँझबाटै मनोनयन पत्र बितरण सुरु गरेको र बुधबार बिहान ८ बजे मनोनयन पत्र बुझाउने तालिका निर्धारण गरिएको छ। 

एमालेको विधानले १५५ सदस्यीय गण्डकी कार्यसमितिमा युवा, दलित, जनजाति, महिलाको ‘क्लस्टर’ निर्धारण गरिएको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव तथा एक महिला उपसचिवसहित पदाधिकारीको संख्या ५ हुनेछ। 

प्रदेशको खुला सदस्यको संख्या ५८ तोकिएको छ। सो संख्यामा २२ खुला, ११ प्रदेश महिला, ५ दलित महिला, एकजना अपाङ्ग र १० सिट युवाको लागि छुट्टयाइएको छ। युवामा पनि ५ जना महिला अनिवार्य हुनुपर्नेछ। 

यस्तै मजदुर फाँटबाट ३ पद छुट्टयाइएको छ र एकजना महिला हुनैपर्ने व्यवस्था गरिएको छ। 

खुलातर्फकै समावेशीको लागि १३ सदस्य रहने व्यवस्था गरिएको छ। 

त्यसमा आदिवासी जनजातिको लागि ६ पद छुट्टयाइएको छ भने ३ जना महिला हुनुपर्ने व्यवस्था छ। अल्पसंख्यकको लागि २ खुला राखिएको छ र त्यसमा पनि एकजना महिला हुनैपर्ने व्यवस्था छ।

मुस्लिमको लागि एक सदस्य प्रदान गरिएको छ। संघीय निर्वाचन क्षेत्रबाट भूगोलबाट १८ जना सदस्य चुनिने व्यवस्था गरिएको छ। जिल्ला भूगोलअन्तर्गत कास्कीबाट ९, गोरखाबाट ५, तनहुँ ६, नवलपुर ७, पर्वत ७, बागलुङ ६, मनाङ २, मुस्ताङ ३, म्याग्दी ४, स्याङ्जा ७ र  लमजुङबाट ५ जना सदस्य चुनिनेछन्।

यसमा महिला, र दलित अनिवार्य गरिएको छ। प्रमुखसहित लेखा समितिका ७ जना पनि यही निर्वाचनले चुन्नेछ। 

यसअघि वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरको नेतृत्वका रहेको निर्वाचन कमिटीले मंगलबार मध्यान्न १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने तथा राति ९ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिक तय गरेको थियो।

यस्तै बुधबार बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा दिउसो १ बजेबाट मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो। 

निर्वाचनको अन्य तालिका भने यथावत रहेको आयोगको भनाइ छ।

सोमबारबाट सुरु भएको अधिवेशनमा सर्वसम्मतिको नारा लगाइए पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारी समूहबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।

पृथ्वीसुब्बा समूहले अध्यक्ष र सचिवमा हालकै नवराज शर्मा र धनञ्जय दवाडीलाई अगाडि सारेका छन् भने उपाध्यक्षमा मोहन रेग्मी नै दोहोरिने निश्चितजस्तै छ।

महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारीको नाम आएको छ भने पुरुषतर्फको उपससचिवको टुंगो लागेको छैन। खगराज समूहबाट अध्यक्षमा स्थायी समिति सदस्य मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मि आयार्य,सहसचिवमा म्याग्दीका सन्तोष रावल र महिलातर्फ पोखराकी मीना गुरुङको नाम टुंगिएको स्रोतले बताएको छ।

उनीहरूले आन्तरिक रुपमा प्रचार पनि थालिसकेका छन्। निर्वाचन क्षेत्र, भूगोल र खुलातर्फबाट सदस्य हुन चाहनेहरूको पनि दुवै समूहले लिस्ट तयार पार्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad