गण्डकी


दिवा खाजाको नाममा विद्यार्थीलाई जंक फुड, विद्यालय भन्छन्- सरकारी पैसाले एक अण्डा पनि किन्न पुग्दैन

दिवा खाजाको नाममा विद्यार्थीलाई जंक फुड, विद्यालय भन्छन्- सरकारी पैसाले एक अण्डा पनि किन्न पुग्दैन

डम्बर बुढामगर/रासस
बैशाख ६, २०८० बुधबार १३:४८, काठमाडौँ

 सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ।

दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ। 

सरकारले कक्षा छ सम्मका विद्यार्थीलाई दैनिक रु १५ उपलब्ध गराउँदै आएको छ। विद्यालयमा ताजा र पौष्टिक आहारयुक्त खाजा खुवाउने निर्देशिका भए पनि यहाँका अधिकांश विद्यार्थीले घरबाटै खाजा बोकेर आउने गरेको पाइन्छ। विद्यार्थीले घरबाटै लिएर आउने खाजा गुणस्तरहीन हुने गरेको छ। 

उनीहरुले घरबाट ल्याउने खाजा प्राङ्गारिक भए पनि बासी हुँदा विद्यार्थी बिरामी पर्ने गरेका छन्। विद्यार्थीले हरेक दिन पाउने रु १५ खाजाका लागि पर्याप्त नभएको स्थानीय तहले नियमित पनि निगरानी गर्न नसक्दा दिवा खाजा प्रभावकारी बन्न नसकेको अभिभावकहरू बताउँछन्।

विद्यालयले निर्देशिकाभन्दा बाहिर गएर आफ्नो हिसाबले विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन्। कुनै विद्यालयले क्यान्टिन तथा स्थानीयवासीलाई खाजा बनाउने जिम्मा दिएको पाइन्छ, केहीले अभिभावकलाई नै जिम्मा दिएका छन्  भने केहीले मात्रै आफैँले बनाएर खुवाउने गरेका छन्।

विद्यार्थीले आफैँ ल्याउने खाजामा चाउचाउ, बिस्कुटलगायत पसलमा पाइने जङ्क फुड बोकेर आउने गरेका छन्। पालिका, विद्यालय तथा अभिभावक अहिलेसम्म पूर्णरुपमा जिम्मेवार बन्न नसक्दा बालबालिकाहरु पौष्टिक खाजा खानबाट वञ्चित भएका छन्।

जिल्लामा अहिले पाँच सय १४ सामुदायिक विद्यालयमा ६२ हजार तीन सय २१ विद्यार्थी अध्ययन गर्दै आएका छन्। त्यसमध्ये अधिकाशं कक्षा छसम्म पढ्ने विद्यार्थी छन्। विद्यालयमै खाजा नबनाउँदा बालबालिकाले बासी र पौष्टिक आहार नष्ट भएको खाजा खाने गरेको अभिावक सीताकुमारी कार्कीको भनाइ छ।

बढ्दो महङ्गीका कारण सरकारले उपलब्ध गराएको रु १५ ले एउटा अन्डासमेत किन्न नपुग्ने भन्दै बालबालिकाले पेटभरि खाजा खान नपाएको गुनासो उनको छ।

कार्की भन्छन्, 'विद्यालयमै खाजा बनाएर खुवाउनुपर्ने हो तर बालबालिकाले बिहानै झोलामा बोकेर जान्छन्, दिउँसोसम्म खाजामा हुने पौष्टिक तत्व पनि घट्छ, बिहान जाता र तातो बनाएर पठायो, उनीहरुले खाने बेलासम्म सेलाएर बासी बन्छ।'

विद्यालयले उपलब्ध गराएको खाजाले पेट नभरिने भएका कारण बालबालिका घरबाट पैसा लगेर पसलका पत्रु खानेकुरा किनेर खान नछाडेको अभिभावक मीनबहादुर खत्री बताउँछन्। विद्यालयले उचित व्यवस्था गर्न सके विद्यार्थीले जङ्क फुडतर्फ आकर्षित नहुने उनको भनाइ छ।

'विद्यार्थी धेरै हुन्छन्, विद्यालयमै एकजना कर्मचारी राखेर खाजा बनाएर दिए बालबालिकाहरुले ताजा खाजा खान पाउने थिए, भोकाएर बाहिर गइ चाउचाउ र बिस्कुट खान पर्ने थिएन,'  अभिभावक खत्री भन्छन्।

बागलुङ नगरपालिका–४ स्थित कुँडुले माविका प्रधानाध्यापक हिरालाल कँडेल जनशक्ति कम हुँदा विद्यालयमै खाजा बनाएर खुवाउन नसकिएको बताउँछन्। विद्यालय वरपरका पसलमा खाजा बनाउनका लागि आग्रह गरे पनि सरकारले उपलब्ध गराएको रकम कम हुँदा बनाउन नमानेको उनको भनाइ छ। 

विद्यार्थीले हरेक दिन फरक–फरक खाजा लिएर आउने गरेका छन्। 'अहिले विद्यार्थीलाई स्कुलमै खाजा बनाएर खुवाउन सकिएको छैन, उनीहरुले घरबाटै खाजा लिएर आउने गरेकाले विद्यालयले पैसा दिने गरेको छ,' प्रधानाध्यपक कँडेल भन्छन्, 'स्थानीयस्तरमा उत्पादित वस्तुलाई खाजाका रुपमा प्रयोग गरेको पाइन्छ, कहिले भात भुटेर ल्याउँछन्, कहिले रोटी, सातुलगायत खाजा ल्याउँछन्, जङ्क फुड निषेध नै छ, हामीहरुले अभिभावकलाई खाजाको समय तालिका बनाएर दिएका छौँ, उहाँहरुले सोही अनुसार खाजा बनाएर पठाउनुहुन्छ।'

बागलुङ नगरपालिकाका शिक्षा शाखाप्रमुख धनप्रसाद पोखरेल दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित भएको बताउँछन्। पहिलेको तुलनामा विद्यार्थी घटे पनि नियमित उपस्थित हुने बालबालिकाको सङ्ख्या बढिरहेको उनले बताए।

नगरपालिकाले बालबालिकालाई विद्यालयमै खाजा खुवाउने गरी व्यवस्थापन गर्न निर्देशन गरे पनि अहिले धेरै विद्यालयले बालबालिकालाई खाजा घरबाटै ल्याउन लगाएको पाइएको शाखाप्रमुख पोखरेलको भनाइ छ।

'बालबालिकाको स्वास्थ्यका लागि विद्यालयले नै खाजा खुवाउनुपर्छ, बिहान बोकेर आएको खाजा दिउँसोसम्म चिसो हुन्छ, त्यसले उनीहरुको स्वास्थ्यमा असर गर्छ, यसका लागि विद्यालय र अभिभावक जिम्मेवार बन्नुपर्छ,' उनी भन्छन्।

नगरपालिकाले समय–समयमा अनुगमन गरिरहेको धेरै विद्यालयमा खाजा नबनाएको पाएको उनले बताए। भने, 'अब नयाँ शैक्षिक सत्रदेखि सबैलाई विद्यालयमै खाजा बनाउन निर्देशन गर्छौं, खाजाले बालबालिकालाई नियमित विद्यालय आउनका लागि प्रेरित गरेको पाएका छौँ, खाजा स्वच्छ, ताजा र पोषणयुक्त हुनुपर्छ भन्नेमा हामीहरुले जोड दिई राखेका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad