कारोबार


पर्यटक लोभ्याउँदै कुपिन्डे दह

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

नेपालखबर
बैशाख ६, २०८० बुधबार १३:५३, काठमाडौँ

सल्यानको  बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८ स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ।

अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई  उक्त दहको वातावरणले लोभ्याउने गरेको  छ। चारैतिर वनजङ्गलको  बीचमा अवस्थित दह देखेपछि त्यहाँ  पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन्। 

एक हप्ताअघि उक्त दहमा भेटिएकी तुलसीपुर उपमहानगरपालिका वडा नं ६  निवासी सुशिला भटृराई त्यहाँको वातावरण देखेर निकै खुसी भइन्। 

उनले भनिन्, ‘यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै  सन्तुष्टि मिलेको छ।’

आफ्नी बहिनी र छोराछोरीसँगै पुगेकी भटृराईले चारघण्टा दह क्षेत्रमा बिताउन पाउँदा आनन्दको अनुभूति गर्न पाएको र त्यहाँको  सुन्दरदहे स्वर्गको वर्णन गरेजस्तै देखिएको बताइन्। 

‘यति कञ्चन दहलाई  स्वदेश तथा विदेशमा  चिनाउन प्रचारप्रसार  गर्न र नेपालकै  प्रमुख पर्यटकीय  केन्द्रका रूपमा विकास गराउन सके यसले कर्णाली  जिल्लाको सल्यानका साथै आसपास जिल्लाका गाउँको विकासमा समेत टेवा पुग्नसक्ने  देखिन्छ,’  उनले थपिन्, ‘सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजा आरधना गर्न गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ। सो दह निकै सुन्दर रहेछ  देख्दा निकै मनमोहक लाग्यो।’ 

बाँकेको कोहलपुरबाट  उक्त  दह हेर्नकै लागि साथीहरुसँगै पुगेकी कालिका रेग्मी पनि  यहाँको वातावरण देख्दा निकै खुसी भइन्। उनले दहमा  ढुङ्गा चढेर जलविहार गर्नाका साथै फोटो खिची टिकटक बनाउन पाउँदा निकै आनन्द भएको बताइन्। अहिले गर्मीको समयमा चारैतिर जङ्गल र सोही जङ्गको बीचमा यति ठूलो  र नीलो देखिने दह देख्दा यात्राको थकान मेटिनाका साथै शीतलताको अनुभूति भएको उनले बताइन्। 

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की नीरा ढुङ्गानाले पनि यो दह अद्वितीय सम्पदा भएकाले यसको संरक्षणका  लागि सबैजना लाग्नु पर्नेमा जोड दिइन्। दहसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्न र दहदेखि केही टाढा  चमेना गृह तथा  होटल सञ्चालन गरिएमा पर्यकटलाई सुविधा हुनाका साथै  पर्यटकहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्छ त्यसैले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन उनले आग्रह गरिन्। सास्ती खेपेर यहाँ आइपुगे पनि त्यहाँको वातावरणले सबै थकान मेटाउने  ढुङ्गानाले बताइन्। 

कुपिन्डे दहमा डुङ्गा चलाइरहेका हरिशचन्द्र पुरीले यस दहको पानीले वर्षमा तीन पटकसम्म रङ्ग बदल्ने गरेको जानकारी गराए। प्राय: नीलो देखिने दहको पानी माघ–फागुन महिनामा रङ खैरो र रातो बन्छ भने  वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उनले बताए। गर्मी महिनामा दहको अवलोकन गर्न र ढुङ्गा चढेर सयर  गर्न  टाढा टाढाबाट आउने पर्यटकहरूको  सङ्ख्या बढ्ने गरेको डुङ्गा चालक पुरीले  उल्लेख गरे। डुङ्गा चढेर पुरै दह अवलोकन गरेबापत रु दुई सय शुल्क लिने गरिएको र मासिक कम्तीमा २० हजारभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ। 

कुपिन्डे दह संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले २०६७ सालमा मात्रै यो दहको चर्चा सुरु भएको बताए। उनका अनुसार उक्त दहको छुटृै  विशेषता छ। वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन्। नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ। यो दह चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि  हो।

कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २ सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ। दहले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा एकिन जानकारी नभएको बताइन्छ। दहमा  पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने पनि स्पष्ट जानकारी यहाँका बासिन्दामा छैन।

यो दहको देखिने मुहान पनि छैन र निकास पनि छैन। तर वर्षामा दहमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो बिस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए। यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ।

दहमा स्वदेशी तथा विदेशी पर्यटकलाई धेरै सङ्ख्यामा भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने  कुपिन्डे दह संरक्षण समितिका पदाधिकारी बताउँछन्। त्यसका लागि दह क्षेत्रमा पुग्ने बाटो कालोपत्रे हुनुपर्ने, पर्यटकहरुका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र दह क्षेत्रमा सुरक्षाकालागि उचित व्यवस्था हुनुपर्नेमा सरोकारवालाले जोड दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad