ad ad

गण्डकी


‘टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचेँ’

‘टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचेँ’

आइतबार सेतीखोँचमा दुर्घटना भएको यतीको जहाज (बायाँ) र कुमार आले


जमुना वर्षा शर्मा
माघ ३, २०७९ मंगलबार १२:४७, पोखरा

फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो। आइतबार बिहान साढे १० बजेतिर उनी सधैँजसो बल्छी बोकेर माछा मार्न खोँच झरे। नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेटजति भएको हुँदो हो, माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो। एकैछिन दिमागमा सन्नाटा छायो। 

‘केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए’, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उनले भने, ‘ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन।’

यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो। ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए। उनी पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लागे। ‘कसैले बम पड्काएको हो कि भन्ने लाग्यो’, उनले सुनाए, ‘ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ।’

केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए। उनलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो। ‘बूढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो’, उनले भने, ‘आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे।’

खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भने, ‘धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ।’

आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्छन्। त्यहीँकै राम ब्लक उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो। तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन्। ‘भगवान्‌ले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला?’

अहिले आले टाउकैमाथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान्‌लाई धन्यवाद दिँदै बसेका छन्। ‘यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन’, उनले भने।

पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार बिहान करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ। बाँकी दुई जनाको खोजी अझै जारी छ। 

घटनास्थलबाट निकालिएका शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोस्टमार्टम भवनमा राखिएको छ। अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक  प्रमुख टोलीको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ।

सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’ भइरहेको छ। भेरिफाइपछि शवको पोस्टमार्टम सुरु भएको छ। थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। उनका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनुपर्ने र बाँकी २३ जनाको पोखरामै पोस्टमार्टम गरी आफन्तलाई बुझाइने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .