गण्डकी


कुनियतसहितको कुशासनले देश पछाडि पर्‍यो : डा. स्वर्णिम वाग्ले

कुनियतसहितको कुशासनले देश पछाडि पर्‍यो : डा. स्वर्णिम वाग्ले

नेपालखबर
पुस ९, २०७९ शनिबार १८:४३, काठमाडौँ

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कुनियतसहितको कुशासनले नेपाल पछि परेको जिकिर गरेका छन्। उनले देशमा केही प्रगति भएपनि अन्य देशसँगको तुलना गर्ने हो धेरै तल भएको पनि बताए। 

‘प्रतिव्यक्ति आयको हिसाबले १२ सय डलरमा छौँ। नेपालले नेपालसँग दाँज्दा २०/३० वर्षमा धेरै सूचकांकमा प्रगति गरिएको छ। हामीजस्तै जस्तै भएको देशको तुलनामा धेरै पछाडि परेका छौँ’, शनिबार पोखरामा जारी नेपाल साहित्य सम्मेलनअन्तर्गतको भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र विषयक अन्तक्र्रियामा बोल्दै उनले भने,‘ त्यसको एउटै कारण कुशासन हो । अहिले थपिएको कुनियतसहितको कुशासन हो। योग्य नेता भएको देशमा स्वविवेकमा छोड्न सकिन्छ। तर, त्यस्तो स्तरको राजनेता नभएको देशमा नियमले नै कस्ने हो।’

उनले ५० वर्षअघि जुन कारणले नेपाल पछि परेको थियो, अहिले पनि त्यही नियति कायम रहेको तथ्य पेश गर्दे भने,‘ ५० वर्षअघि क्षमता थिएन होला तर यो गरौँ, ऊ गरौँ भन्ने इच्छा थियो। तर, २०६२/२०६३ पछि हाम्रा धेरै अनुशासनका सीमा भत्किएका छन् जस्तो लाग्छ। योसँगै दण्डहीनता, जे गरे पनि हुन्छ भन्ने शासकीय अहंकार, राजनीतिक नेतृत्वमा र राजनीतिक नेतृत्वको संरक्षण पाएको कर्मचारीमा पनि मौलाएकोजस्तो छ।’

उनले यसको दोष राजनीतिज्ञलाई नै दिनुपर्ने बताए। 

कर्मचारीले व्यापारी–उद्यमीलाई गाली गर्ने, चोर भन्ने अनि उद्यमी–व्यवसायीले पनि कर्मचारीलाई यी फटाहा हुन्, कहाँबाट लुट्न सकिन्छ, दोहन गर्न सकिन्छ भन्ने दृष्टिले हेर्ने परम्परा गलत रहेको उनले बताए।

१४–१६ घण्टा काम गरेर कहाँ अड्चन छन् फुकाउनेभन्दा पनि हरेक नियुक्तिमा पैसाको कुरा, हरेक नीति निर्माणमा निचोडतिर ध्यान गएपछि सुधार ओझेलमा परेको पनि उनको तर्क थियो ।

उनी आशावादी पनि देखिए।

राजनीतिमा दूरदर्शी नेतृत्व आयो भने  देश सही बाटोमा आउने उनको भनाइ थियो।

‘सतपात्रहरु दुईचार जना प्रधानमन्त्री, अर्थमन्त्री हुने हो भने सही बाटोमा ल्याउन सकिन्छ। एउटा चिनियाँ उखान छ,‘माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन थाल्छ। ’माथिबाट ठीक हुनासाथ तल पनि मिल्छ। यति समझदार जनता भएको देशमा धेरै कुरालाई ठिक ठाउँमा ल्याउन सक्छौँ’,उनले भने।  

सोही सत्रमा सहभागी पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल विकासको प्रक्रियामा चुकेको स्वीकारे। उनले नेपालको अर्थतन्त्र अति राम्रो पनि होइन, अति संकटमै पनि नरहेको बताए।

‘हामी जटिल समस्याको अवस्थामा छौँ ती समस्या हल गर्न सक्ने अवस्थामा आजसम्म छौँ’,उनले भने,‘ तर, त्यसको लागि राजनीतिक नेतृत्वको इच्छाशक्ति, आर्थिक समस्या हल गर्ने प्राथमिकता, समस्या हल गर्ने क्षमता तीन वटा कुरा हुनुपर्छ।’

उनले देशमा उत्पादनको समस्या रहेको बताउँदै कृषि, ओद्योगिक र सेवा क्षेत्रको उत्पादनमा आयातको हिस्सा घटाउँदै जानुपर्नेमा जोड दिए। 

‘उत्पादनको संरचना परिवर्तन गर्दै आयातमा आधारित उत्पादन प्रणालीलाई आन्तरिक कच्चा पदार्थ र स्रोतमा जानासाथ हाम्रो बाह्य क्षेत्र बलियो हुन्छ’,उनले भने। 

उनले रोजगारीको लागि विदेशिनुलाई नराम्रो मान्न नहुने बताउँदै सीपयुक्त, दक्ष, सुरक्षित र आर्जन गरेको मुद्रा नेपाल फर्काउने गरी पठाएका छौँ कि छैनौँ भन्नेतर्फ भने विशेष ध्यान दिनुपर्ने बताए। उनले यी समस्यालाई हल गर्न सरकारको अर्थ नीति, औद्योगिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिको संयोजन जरुरी भएको पनि औंल्याए।

‘समष्टीगत अर्थतन्त्र व्यवस्थापन गर्नेहरुले एक ठाउँ बसेर सामञ्जस्यपूर्ण ढंगले चल्यो भने हाम्रा समस्या केही महिनाभित्रै हल हुन्छन्’,उनले भने,‘ हामी आत्तिएर व्यवसायलाई सन्त्रासमा पारेर व्यवसाय बिगार्नेमात्रै काम गर्छौं।’

उनले स्वार्थ बाझिने अवस्था आएमा मन्त्री, सांसद वा व्यापारी जो भए पनि  नीति निर्माण गर्ने ठाउँमा बस्न नहुनेमा जोड दिए। उनले अस्थिर सरकार हुने देशले स्ुशासनको लागि कानून नै बलियो बनाउनुपर्ने बताए। 

‘सुशासनको कुरा गर्द कानुनलाई बलियो बनाउने, कर्मचारीतन्त्रलाई बलियो बनाउने र त्यसको आधारमा शासकीय प्रबन्ध गर्ने हो’,उनले भने, ‘राजनीतिक तहबाट लामो समयसम्म गतिलो दृष्टि बनिराखेको छैन।’

उनले सामाजिक अभियन्ताहरुले जनताको अपेक्षा बढाइदिएको तर स्वयंले केही नगरेको आरोप पनि लगाए। 

राष्ट्रियसभाकी पूर्वसांसद डा. विमला राई पौडेलले आर्थिक विषयमा सांसदहरु नै जानकार नहुँदा समस्या निम्तिएको बताइन्।

आर्थिक विधेयकको सुधारमा सांसद शक्तिहीन भएको उनको टिप्पणी थियो। उनले आर्थिक विधेयकमा पनि संशोधन गर्न मिल्नुपर्ने विचार राखिन्।

‘च्याउचाहिँ स्याउ टाइप भएर आएको छ भने सच्याएर च्याउ बनाऊ भन्न पनि नपाइने। त्यो बनायो भने सरकार ढलिहाल्छ,’ उनले भनिन्। ‘सांसदलाई गाली गर्नुहुन्छ। सांसदले कसरी गर्ने? कानुन, नीति बनाउने कुरामा हाम्रा सांसद शक्तिहीन भएका छन्। सुधार गर्नुपर्ने ठाउँ देख्दादेख्दै पनि गर्न सकेका छैनौँ।’

उनले कर्मचारीलाई जिम्मेवार बनाउनुपर्नेमा पनि जोड दिइन्। युवा व्यवसायी निरञ्जन श्रेष्ठले सो कार्यक्रमको सहजीकरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad