अपराध


शोभराजलाई पक्रिन सघाएकी ‘जासुस’ भन्छिन् : उनी मान्छेका नाममा कलंक हुन्

शोभराजलाई पक्रिन सघाएकी ‘जासुस’ भन्छिन् : उनी मान्छेका नाममा कलंक हुन्

नेपालखबर
पुस ९, २०७९ शनिबार १८:४७, काठमाडौँ

नेपाली जेलबाट छुटेर चार्ल्स शोभराज फ्रान्स पुगिसकेका छन्। उनको अपराध शृंखलाको खुलासा हुनुअघि १९७६ मा जर्मन निशस्त्रीकरण विज्ञ एन्जेला केनले थाइल्यान्डको बैंककमा उनीबारे अनुसन्धान गरेकी थिइन्। जसले अन्ततः शोभराज पक्राउ गर्न सहायता गर्यो।

अब के हुन्छ भन्ने जान्न आफू उत्सुक रहेको केन बताउँछिन्।

केन अहिले ७४ वर्ष पुगिसकिन्। शोभराजले थाइल्यान्डमा अपराधको जालो फैलाउँदै गर्दा उनी आफ्ना डच कूटनीतिज्ञ पतिसँग बैंककमै थिइन्। त्यहीबेला हराएका दुई पर्यटकका आमाबुबाले चिन्ता व्यक्त गर्दै लेखेको चिठी डच राजदूतावासमा आइपुगेको थियो।

‘त्यसरी कथाको खुलासा सुरु भयो,’ हाल भियनामा बसिरहेकी र आणविक निशस्त्रीकरण विज्ञ तथा इन्टरनेसनल पिस इन्स्टिच्युटकी उपाध्यक्ष समेत रहेकी केनले बताइन्।

उनका अनुसार खोजी गर्दै जाँदा हराएका पर्यटकहरुलाई शोभराजका छिमेकीहरुले देखेको केन र उनका पतिले मेसो पाए। 

तर, अपराधी भागिसकेको थाहा पाउँदा यी दुई अनुभवहीन जासुस निराश भए। तैपनि उनीहरुले खोजी जारी राखे।

उनीहरुले अनेक ठेगानामा खोजे, हराइरहेकी डच महिलाको हातेझोला त्यही फ्ल्याटमा फेला पारे, जहाँ शोभराज बसेका थिए। केनले ती महिलाको डायरी उल्था गर्न सघाइन्।

उनीहरुले त्यो सूचना इन्टरपोललाई दिए। थाइ प्रहरी अधिकारी सोमपोल सुथिमाइले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको केन बताउँछिन्।

अन्ततः १९७६ मा शोभराज भारतमा पक्राउ परे र २१ वर्ष जेलमा बिताए। १९८६ मा केही समय जेलबाट भागेका उनी फेरि गोवामा समातिए।

१९९७ मा जेलबाट छुटेपछि उनी पेरिसमा बस्दै आएका थिए। तर, २००३ मा नेपाल पुगेपछि उनीमाथि दुई हत्याको आरोपमा मुद्दा चलाइयो र जेल हालियो। 

नेपालको सर्वोच्च अदालतले स्वास्थ्यका कारण सजाय पुरा हुन ९ महिनाअघि नै उनलाई रिहा गरेको हो।

उनको बारेमा बीबीसले द सर्पेन्ट नामक सिरिज बनाएको छ। 

तर, सो सिरिजमा आफ्नो चित्रणलाई लिएर केन खुसी छैनन्। आफूलाई ‘कूटनीतिज्ञकी पत्नी’ का रुपमा मात्र चित्रण गरिएकोमा उनको असन्तुष्टि छ।

‘यो सबै कुरामा मेरो भूमिका अत्यन्त महत्वपूर्ण थियो। तर, पछुतोका साथ भन्नुपर्छ, सिरिजमा मेरो भूमिकालाई धेरै कमजोर पारेर देखाइयो,’ उनले भनिन्, ‘म देखाइएको भन्दा निकै उत्साही र मुखर थिएँ।’

केन पछि पतिसँग अलग भइन् र आफ्नो विज्ञताको क्षेत्रमा लागिन्।

शोभराज नेपालकै जेलमा हुँदा उनी अनेक पटक कामविशेषले नेपाल पुगिन्। तर, उनले शोभराजलाई भेट्न कहिल्यै चाहिनन्।

‘उनी मान्छेको नाममा कलंक हुन्, घृणित व्यक्ति हुन्,’ उनी भन्छिन्। 

शोभराजले अझै पनि प्रचार गरेर पैसा कमाउन पाउनु निन्दायोग्य भएको उनको भनाइ छ। अब शोभराजको अवस्था के हुन्छ भनेर जान्न आफू उत्सुक भएको उनले बताइन्।

‘तर, सिरियल किलरका रुपमा उनीप्रतिको मानिसको चासो कुनै न कुनै विन्दुमा घट्नेछ,’ केन भन्छिन्। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad