गण्डकी


कांग्रेस लुम्बिनीको घोषणापत्र : मुख्य शहरमा रेल सञ्चालन

कांग्रेस लुम्बिनीको घोषणापत्र : मुख्य शहरमा रेल सञ्चालन

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार २२:५, पोखरा

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनलाई लक्षित गरि कांग्रेस प्रदेश समितिले घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रित गरि प्रदेशको विकासका योजना अघि बढाउने उल्लेख छ। घोषणापत्रमा कांग्रेस प्रदेश समितिले लुम्बिनी विकास कोषलाई केन्द्र र प्रदेशको सामुहिक कार्यक्षेत्र भित्र राख्ने उल्लेख छ। अहिले लुम्बिनी विकास कोष संघीय सरकार मातहत छ। 

घोषणा पत्रमा लुम्बिनी विकास कोषलाई दुवै तहको कार्यक्षेत्र भित्र राखी आर्थिक सामाजिक रुपान्तरण गरिने बताइएको छ। धेरै बौद्ध धर्मलम्बीले लुम्बिनीमा सन्तान जन्माउन रहर गरेकाले उच्चस्तरीय प्रसुतिगृह निर्माण गरि बर्थिङ सेन्टरको रुपमा विकास गर्ने बुँदा पनि घोषणा पत्रमा समेटिएको छ। 

प्रदेशका १०९ स्थानिय तहलाई यातायातको सहज पहुँचमा पुर्याउने, बुटवल भैरहवा, तुल्सीपुर घोराही र नेपालगञ्ज कोहलपुरमा ट्राम अथवा रेल सम्भाव्यता अध्ययन गरि योजना अघि बढाउने कांग्रेस लुम्बिनीको घोषणापत्रमा भनिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताललाई विशिष्टीकरण गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा अध्यनको लागि अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने गरि पूर्वाधार बनाउने लगायतका कुरा कांग्रेसको घोषणा पत्रमा छ। 

वैदेशिक रोजगारी न्यूनीकरण र उद्यमशीलता प्रवद्र्धन गर्ने, कृषिको विकासको लागि अनुसन्धान केन्द्र र मल उद्योग स्थापना गर्ने कांग्रेस लुम्बिनीले जनाएको छ। सिंचाई र जलविद्युतको लागि नौमुरे, माडी, शारदा, कालिगण्डकी डाइभर्सन निर्माण गरिने बताइएको छ। 

यसअघिका प्रदेश सरकारले आफ्नो अधिकार सुझबुझपूर्ण प्रयोग नगर्दा संघीयता माथि प्रश्न उठेको भन्दै आफूहरुले प्रदेशलाई बलियो बनाउने कांग्रेसले बताएको छ। कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेमा क्षत्रीय विकासलाई केन्द्र र स्थानिय तहसँग जोड्ने गरि विकासको खाका ल्याउने घोषणा पत्रमा उल्लेख छ। 

घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कार्यान्वयनको लागि नै कांग्रेसले घोषणापत्र तयार गरेको बताए। उनले कांग्रेस सरकारमा गएमा घोषणा पत्रमा उल्लेखित बुँदा कार्यान्वयन गर्न सहज हुने र सत्ता बाहिर रहनुपरेमा पनि यी कुरा कार्यान्वयन गराउन पहल गर्ने उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .