समाज


सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत सुब्बाको ज्यान गयो

सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत सुब्बाको ज्यान गयो

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार २३:२३, काठमाडौँ

परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपरान्ह ठक्कर दिएको थियो। 

अनामनगर बस्दै आएकी सुब्बा कार्यालय समय सकेर घर फर्किंदै थिइन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार ठक्करबाट घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो। 

उनलाई अस्पतालले मृत घोषित गरेको हो।

सुब्बा मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन्।

उनी २०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। उनले इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन्।

‘उहाँ आज कार्यालय समयभन्दा पछिसम्म कार्यालयमा हुनुहुन्थ्यो,’ परराष्ट्रका ती अधिकारीले भने, ‘उहाँ अत्यन्त मिलनसार र मेहनती हुनुहुन्थ्यो। उहाँको निधनमा निकै दुःखी छौँ।’

अधिकृत सुब्बा मन्त्रालयकी कुशल कर्मचारीमा पर्थिन्। उनी गत सेप्टेम्बरमा  संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले नेतृत्व गरेको टोलीको सदस्यका रूपमा न्युयोर्क पनि गएकी थिइन्। राष्ट्रसंघ महाशाखाअघि उनी राहदानी विभागमा कार्यरत थिइन्। 

उनका पति र नाबालक छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad