ad ad

गण्डकी


चुनावी ‘एजेण्डा’ सुनाउँदै घरघरमा उम्मेदवार

चुनावी ‘एजेण्डा’ सुनाउँदै घरघरमा उम्मेदवार

बागलुङ–२ मा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल भाेट माग्दै।


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार ८:३८, बाग्लुङ

विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् ।

आमसभा,  र्‍यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । चाडबाडसँगै खेतीबाली भित्र्याउने चटारोबीच पनि उम्मेदवारका कुरा सुन्न मतदाता उत्सुक देखिन्छन् ।

चुनाव हुन २९ दिन बाँकी रहँदा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ राजनीतिक दलहरू चुनावी मैदानमा होमिएका हुन् । मतदातासामु भए गरेका उपलब्धि सुनाउने र नौला प्रतिबद्धता जाहेर गर्ने क्रम चलिरहेको छ । 

नेकपा (एमाले)ले गत आइतबार बागलुङ नगरपालिका–१२ देखि सुरु गरेको घरदैलो कार्यक्रम शनिबार वडा नं ७ मा पुगेको छ । घरदैलो र भेटघाटमा एमालेबाट बागलुङ–१ का प्रतिनिधिसधा र प्रदेशसभा सदस्य उम्मेदवारसँगै पार्टीका नेता, कार्यकर्ता छन् ।

मतदाता रिझाउन एमालेले आकर्षक नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘महिलाहरूसँग हाम्रो बाचा : सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी’, भूमिहीनसँग हाम्रो सङ्कल्प : सबैको हातमा लालपुर्जा, सहुलियत दरमा कर्जा’लगायत आदर्श वाक्य प्रतिबद्धतापत्रमा समेटिएको छ ।

एमालेका जिल्ला सचिव विष्णु भुसालले गाउँघरमा चुनावी रौनक सुरु भएको बताए । ‘घरदैलो गर्दा मतदाताका समस्या र माग सुन्ने, उम्मेदवारले मत माग्ने, प्रतिबद्धता जनाउने काम हुन्छ’, उनले भने, ‘तिहारको तीन दिनबाहेक अरु बेला चुनावी कार्यक्रम निरन्तर हुन्छ, १७ गतेपछि प्रचार–प्रसारलाई व्यापाक बनाउँछौँ ।’

एमालेले शनिबार बागलुङ–२ को तमानखोला गाउँपालिकामा मुख्य कार्यक्रम केन्द्रित गरेको छ । सो निर्वाचन क्षेत्रको प्रदेश (क) अन्तर्गत बडिगाड गाउँपालिका–२ सिसाखानीमा घरदैलो अभियान चलिरहेको सचिव भुसासले जानकारी दिए । आइतबारदेखि गलकोट नगरपालिकामा घरदैलो कार्यक्रम सुरु हुने एमालेले जनाएको छ ।

बागलुङ–२ मा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल भाेट माग्दै।

सत्तारुढ गठबन्धनले पनि चुनावी अभियानलाई तीव्र पारेको छ । घरदैलो, भेटघाट र अन्तक्र्रियामार्फत गठबन्धन दल र तिनका उम्मेदवार मतदाताकहाँ पुगिरहेका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजीव घिमिरेले घरदैलोसँगै अन्तक्र्रिया र प्रशिक्षण कार्यक्रम भइरहेको बताए ।

उनका अनुसार शनिबारदेखि बागलुङ–२ को बडिगाड गाउँपालिकामा गठबन्धनको चुनावी अभियान सुरु भएको छ । ‘हरेक निर्वाचन क्षेत्रका चुनाव परिचालनको छुट्टाछुट्टै कार्ययोजना छ, सोहीअनुसार कार्यक्रम भइरहेको छ’, संयोजक घिमिरेले भने, ‘वडा तहसम्मै निर्वाचन सम्पर्क कार्यालय खोल्ने काम पनि सँगसँगै भइरहेको छ ।’

उनले निर्वाचन आचारसहिंताअनुसार नै गठबन्धनले आफ्नो चुनावी प्रचार–प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने बताए । चुनावी रापतापले साना राजनीतिक दललाई पनि उत्तिकै छोएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गलकोट, बुर्तिबाङ हुँदै निसीखोलासम्मलाई जोडेर चुनावी अभियान थालेको छ ।

सो पार्टीका जिल्ला सभापति गणेश पौडेलले आफ्ना उम्मेदवारको पक्षमा मत माग्न शनिबार गलकोट आइपुगेको बताए । ‘सङ्घतर्फ दुई र समानुपातिकबाट एक गरी जिल्लाभर हाम्रो पार्टीबाट तीन जना उम्मेदवार हुनुहुन्छ, उहाँहरुको पक्षमा चुनावी माहोल बनाउन लागिपरेका छौँ’, सभापति पौडेलले भने । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट ३१ उम्मेदवार चुनावी मैदानमा छन् । दलका शीर्षनेतादेखि नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवार चुनावी मैदानमा छन्। बागलुङ–१ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक मुख्य प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (विपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्री पनि बागलुङ–१ को उम्मेदवार छन् । बागलुङ–१ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा ९एमाले०का हिराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल चुनावमा होमिएका छन् ।

बागलुङ–१ (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राप्रपाबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा चुनाव लड्दै छन् । बागलुङ–२ मा गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलका विरुद्ध एमालेबाट मञ्जु शर्मा चालिसे चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्की पनि सोही क्षेत्रबाट चुनाव लड्दै छन् ।

बागलुङ– २ (क) मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीबीच प्रतिस्पर्धा हुँदैछ । बागलुङ–२ (ख) मा गठबन्धनबाट कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी,  स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती चुनावी मैदानमा छन् । रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .