गण्डकी


दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले

नेपालखबर
भदौ २३, २०७९ बिहिबार ८:४१, बागलुङ

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो। नजिकमा स्वास्थ्य संस्था थिएनन्। व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे। निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन। निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ।

आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे। खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढामगर विकको घर पुगिन्। उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन। बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाव दिइन्। भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन। नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किइन्।

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माइन्। गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन्। उनले विकको बाटोमै सामान्य उपचार गरिन् र ढोरपाटन ल्याइन्। 

अनमी बुढामगर भन्छिन्, ‘विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए। मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगिसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए। अहिले त्यहीँ उपचार भइरहेको छ।’

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन्। ‘दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्’, उनले भनिन्, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो।’

विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउँछिन्। अहिले उनको उपचार ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा भइरहेको छ। 

बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन। त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन्। विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे। ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउँछन्। 

ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ। ‘धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्’, उनले भने, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो।’

ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताए। ‘कम्तीमा तीनपटक भिडिओ एक्सेर गराउनुपर्ने हुन्छ, विकले एकपटक पनि नगराएको पाइयो’, उनले भने।

समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad