ad ad

कला


‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिने

कर्णालीका कथालाई पर्दासम्म ल्याउन मेरो सहयोग रहनेछ– ज्ञानेन्द्र शाही
‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिने

‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना गर्ने सम्बन्धमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलन।


नेपालखबर
जेठ २३, २०८० मंगलबार ६:२१, काठमाडौँ

कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो। 

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए। ‘प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो। चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौँ’, उनले भने। 

कार्यक्रममा उपस्थित सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य बनाउन संसद्‌मा आवाज उठाउने बताए। उनले भने, ‘अहिले हाम्रो मौलिक कथाले पर्दामा स्थान पाइरहेका छन्। कर्णालीका कथालाई पर्दासम्म ल्याउन मेरो सहयोग र सहकार्य रहनेछ।’

उनले आगामी बजेटमा नेपाली चलचित्रलाई समावेश गर्न सम्बन्धित निकायसँग छलफलसमेत गरेको जानकारी गराए। ‘बजेटमा सम्बोधन नभएको गुनासो उठिरहँदा यस क्षेत्रलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन। मैले अर्थमन्त्रीज्यूसँग भेटेर पनि यसबारे जानकारी गराएको छु। छिट्टै केही सम्बोधन हुनेमा आशावादी छु’, सांसद शाहीले भने। 

आयोजित पत्रकार सम्मेलनमा पूर्वरा‍ज्यमन्त्री कुन्तीकुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्यकलाकार हिमेश पन्तलगायत उपस्थित थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .