म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका युवा मौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन्।
ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् । राधाकृष्ण नाचका कलाकार गोपाल आचार्यले नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षणको प्रयास भएको बताए।
उनका अनुसार ताकममा मानव वस्तिरहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन छ । कलाकारहरु वृद्ध भएका र केहीको निधन भएपछि राधाकृष्ण नाच संकटमा परेको थियो। ताकम र धवलागिरी गाउँपालिकाका साथै जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, मेला महोत्सवमा प्रर्दशन हुन थालेको छ । यो नाच म्याग्दीको ताकममा मात्र नाच्ने गरिन्छ।
२५ मिनेट देखि ४५ मिनेटसम्म यो नाच प्रस्तुत गरिन्छ । राधाकृष्ण नाचका लागि छ जना, बाद्यबाधन र गायनका लागि थप सात जना कलाकार आवश्यक पर्छ। ताकमका अधिकांश समुदाय जुम्लाबाट बसाईसरेर आएका हुन्। उनिहरुलेनै यो नाच भित्र्याएको बुढापाका बताउँछन्।
अहिलेको जस्तो सूचना प्रबिधिको बिकास नभएको अवस्थामा समाजमा मनोरञ्जनका लागि चाडपर्व र मेलामा राधाकृष्ण नाच देखाउने गरिएको थियो । बिशेष सभा समारोह र मेला महोत्सवमा पनि ताकमको राधाकृष्ण नृत्य आकर्षण बन्न थालेको छ । कलाकारहरुका लागि पोषाक र बाद्यबाधनका सामग्रीको आवश्यकता छ । समूहको नियमित आम्दानीको स्रोत छैन्।
सरकारी स्तरबाट सहयोग आवश्यक रहेको कलाकार गोविन्द पौडेलले बताए। कलाकारहरु विदेशिने र बसाईसराई गर्नु राधाकृष्ण नाच संरक्षणको लागि चुनौति बनेको छ। धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले राधाकृष्ण नाच संरक्षण र पुस्तान्तरणका लागि पहल गर्ने प्रतिवद्धता जनाए। संस्कृति संरक्षणको साथै पर्यटन प्रर्वद्धन गर्ने उनले बताए। रासस
Shares

प्रतिक्रिया