गायक लोक पौडेल र गायिका टिका प्रसाईंको स्वरमा रहेको ‘आयो दशैं’ बोलको गीतको भक्तपुरको सल्लाघारीमा छायांकन गरिएको छ। हरि उप्रेतीको शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको भिडियोमा मोडल दिक्पाल कार्की र अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा फिचर्ड छन्।
उषा मलाहाले निर्देशन गरेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र निशान घिमिरेको सम्पादन छ। हाल सम्पादन चरणमा रहेको भिडियो आगामी शुक्रबार सार्वजनिक हुनेछ । निर्देशक मलाहाका अनुसार गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ।
अमेरिकामा बस्दै आएका गायक पौडेल झन्डै एक दशकदेखि नेपाली संगीतमा सक्रिय छन्। उनले फिल्म ‘निलकाँडा’, ‘पूर्णिमा’ र ‘रिजन अफ रिया’ मा पाश्र्व गायन गरिसकेका छन्। उनले हालसम्म दुई एल्बम बजारमा ल्याइसकेका छन् भने दर्जन बढी कलेक्सन एल्बममा आफ्नो स्वर दिइसकेका छन्। ‘दशैंको माहौलमा दशैं सम्बन्धी राम्रो गीत दर्शक तथा श्रोतालाई दिउँ भनेर यो गीत तयार पारेको हुँ’, गायक पौडेलले भने।

प्रतिक्रिया