राजनीति


सी भ्रमणमा यी हुन् चार ‘सुरक्षा खतरा’

सी भ्रमणमा यी हुन् चार ‘सुरक्षा खतरा’

चन्द्रलाल गिरी
असोज ८, २०७६ बुधबार ८:२१,

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका क्रममा हुन सक्ने सुरक्षा खतरामाथि काठमाडौंका उच्च सुरक्षा अधिकारीहरू अध्ययन तथा विश्लेषणमा जुटेका छन्।

अहिलेसम्मको विश्लेषणमा सी चिनफिङमाथि भौतिक रुपमा सुरक्षा खतरा नरहेको तर विभिन्न स्वरुपका विरोध प्रदर्शन हुनसक्ने निष्कर्ष निकालिएको छ। ६० वर्षदेखि नेपालमा बस्दै आएका र पटक पटक चीनविरोधी प्रदर्शन गरेका तिब्बती शरणार्थीका गतिविधिलाई पहिलो सुरक्षा खतरामा राखिएको छ।

चीनकै सिन्जियाङ प्रान्तमा हिंसात्मक विद्रोह गरिरहेको उइगुर (मुसलमान) समूह र हङकङमा सरकार विरोधी आन्दोलन गरिरहेको समूहबाट पनि सुरक्षा खतरा हुनसक्ने निष्कर्ष सुरक्षा अधिकारीले निकालेका छन्।

यसअघि कुनै न कुनै रुपमा चीनविरोधी शक्तिसँग निकट देखिएका वा त्यस्ता गतिविधिमा संलग्न भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र मधेसी दल सम्वद्ध केही पूर्वमन्त्री र सांसदहरूले पनि कुनै रुपमा विरोध जनाउन सक्ने आंकलन गरिएको छ।

मधेसमा यसअघि चीनको विरोध गर्दै झण्डा जलाउने कार्यमा संलग्न समूहबाट पनि सी भ्रमणका बेला सुरक्षा खतरा हुनसक्ने अनुमान सुरक्षा अधिकारीहरूको छ। त्यस्तै सुरक्षा निकायको अध्ययन तथा विश्लेषणको दायरामा कतिपय मानवअधिकारकर्मी र एनजिओ÷आइएनजिओका गतिविधिसमेत परेका छन्।

चीनका विदेशमन्त्री वाङ यीको दुई साता अघि भएको नेपाल भ्रमणका क्रममा महिलाहरूको एउटा समूहले बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै प्रदर्शन गरेको थियो। यस्ता नयाँ समूहहरू पनि प्रदर्शनमा उत्रनसक्ने आँकलन गर्दै सुरक्षा निकाय थप सतर्क देखिएको छ।

भौतिक रुपमा सीमाथि कुनै चुनौती नरहेको निष्कर्ष सहित सुरक्षा अधिकारीहरूले उनको भ्रमणका बेला काठमाडौं वा काठमाडौं बाहिर सडकमा अन्य सांकेतिक रुपमा हुन सक्ने विरोध प्रदर्शनलाई सुरक्षा खतराको सूचीमा राखेका हुन्।

‘सी भ्रमण अगाडि शंकास्पद व्यक्तिहरुमाथि खानतलासी, घरमै नजरबन्द वा पक्राउ गर्दा मानव अधिकारकर्मीले विरोध गर्न सक्ने अवस्था छ’, नेपाली सेनाका एक जना उपरथीले भने।

गृहमन्त्रालय स्रोतका अनुसार सैनिक गुप्तचर निर्देशनालय (डीएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र काठमाडौं प्रहरी, सशस्त्र प्रहरीको गुप्तचर इकाई र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सुरक्षा संयन्त्रले अहिले उच्च भ्रमणका बेला हुन सक्ने सुरक्षा खतराबारे मिहिन अध्ययन र विश्लेषण गरिरहेका छन्।

काठमाडौंमा अहिलेदेखि नै चिनियाँ सुरक्षाकर्मी र गुप्तचर अधिकारीहरूको बाक्लो उपस्थिति छ। उनीहरूले पनि नेपाली उच्च सुरक्षा अधिकारीहरूसँग समन्वय गरि संभावित सुरक्षा खतराबारे अध्ययन विश्लेषण गरिरहेका छन्।

China3 1

यस्ता छन्, अहिलेसम्म नेपाली र चिनियाँ सुरक्षा अधिकारीहरूले सूचीवद्ध गरेका पाँच सुरक्षा चुनौतीः

तिब्बती शरणार्थी प्रदर्शनमा आउलान?
चीनका राष्ट्रपति वा अन्य उच्च नेताहरू भारत, अमेरिका, अष्ट्रेलिया तथा युरोपेली देशका भ्रमणमा जाँदा त्यहाँ रहेका तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्दै आएका छन्। ती देशहरूमा रहेको प्रजातन्त्र र मानवअधिकारको उपयोग गर्दै तिब्बती शरणार्थीले चिनियाँ नेताविरुद्ध यस्ता प्रदर्शन गर्ने गरेका हुन्।

चिनियाँ नेताहरू भने यस्ता विरोध प्रदर्शन रुचाउँदैनन् र सकेसम्म त्यसलाई छल्ने प्रयास गर्छन्।

विश्वभर करिब डेढ लाख तिब्बती शरणार्थी निर्वासित जीवन बिताइरहेका छन्। हरेक वर्ष मार्च १० लाई तिब्बती शरर्णाीहरूले ‘विद्रोह दिवस’ का रुपमा मनाउँदै आएका छन् र त्यो दिन पनि उनीहरू आफू बसेका ठाउँमा प्रदर्शन गर्छन्। नेपालमा रहेका तिब्बती शरणार्थीले पनि मार्च १० मा त्यस्ता कार्यक्रम आयोजना गर्छन्।

नेपालमा २०३० को दशकमा मुस्ताङलाई आधार बनाएर तिब्बतीहरुले सशस्त्र खप्पा विद्रोह गरेका थिए। त्यसयता दोस्रो पटक नेपालमा तिब्बतीहरुले २०६४ देखि ०७१ सम्मको अवधिमा चीनविरुद्ध प्रर्दशन गरेका थिए। यही अवधिमा काठमाडौंको बौद्ध क्षेत्रमा तीनजना तिब्बतीले आत्मदाह नै गरे।

तर करिब ६ वर्षयता नेपालमा तिब्बती शरणार्थीको प्रदर्शन देखिएको छैन। गत जुलाई ६ मा काठमाडौंमा गृहमन्त्रालयले दलाई लामाको जन्मोत्सव मनाउन प्रतिबन्ध लगाउँदा पनि तिब्बती शरणार्थीबाट प्रदर्शन भएन्। चीनका विदेशमन्त्री वाङको भ्रमणको क्रममा पनि त्यस्तो प्रदर्शन गरिएन।

दलाई लामाका नेपालस्थित प्रतिनिधि सुल्ठिम ग्यात्सो नेपालको भूराजनीतिक अवस्था बुझेर त्यस्ता प्रदर्शनहरू कम गर्दै गएको बताउँछन्।

‘हामीले चीन र भारतजस्तो विशाल देशका बीचमा रहेको नेपालको अवस्था बुझेका छौं’, ग्यात्सोले नेपालखबरसँग भने, ‘नेपालको विदेश नीति र कानुनको उल्लंघन हुने गरी हामी कुनै गतिविधि गर्दैनौं, कसैले व्यक्तिगत रुपमा विरोध ग¥यो भने त्यो हाम्रो परिधिभन्दा बाहिरको विषय हो।’

नेपालले ‘एक चीन नीति’ अंगिकार गरेको हुनाले यहाँ हुने तिब्बती शरणार्थीका गतिविधिलाई चीनले अत्यान्तै संवेदनशील मान्दै आएको छ।

सन् १९९२ को सरकारी तथ्याङ्क अनुसार नेपालमा अहिले १३ हजार ५ सय तिब्बती शरणार्थी छन्। त्यसयता नेपाल सरकारले तिब्बती शरणार्थीको तथ्याङ्क अपडेट गरेको छैन। दर्ता भएका र नभएका गरी करिब २० हजार तिब्बती शरणार्थी नेपालमा रहेको मानिन्छ। तर ग्यात्सो त्यो संख्या घटेर १२–१३ हजारमा आइपुगेको बताउँछन्।

चीनका लागि इतिहासदेखि नै नेपाल दक्षिण एशिया प्रवेश गर्ने मार्गका रुपमा रहँदै आएको छ। तिब्बत हुँदै भारत र भुटानभन्दा सहज रुपमा नेपालतर्फका हिमाल पार गर्ने भन्ज्याङहरुबाट चिनियाँहरू दक्षिण एशिया प्रवेश गर्छन्।

काठमाडौंमा छन् त उइगुर विद्रोही?
पश्चिम चीनमा अवस्थित भूगोलका आधारमा सबैभन्दा ठूलो प्रान्त सिन्जियाङमा उइगुर (मुसलमान) ले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र विद्रोह गर्दै आएका छन्। उइगुर विद्रोहीहरु अमेरिका र युरोपमा स्वतन्त्र रुपमा चलखेल गरिरहेका भएपनि नेपालमा उनीहरुको गतिविधि एकदमै सिमित छ।

४ वर्षअघि एक महिलासहित ८ जना उइगुर चिनियाँ भिसामा नेपाल आएको नेपाल प्रहरीको रेकर्डमा छ। पासपोर्ट फ्याँकेर काठमाडौंस्थित राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगको कार्यालय (युएनएचसीआर) मा शरण लिएका उनीहरुको पछिल्लो अवस्था सरकारलाई नै थाहा छैन।

अहिले उइगुर विद्रोहीहरु चिनियाँ भिसा वा अन्य तरिकाले नेपाल प्रवेश गरेका छन् कि छैनन् भनेर सुरक्षा अधिकारीहरु तथ्याङ्क संकलन र अध्ययन गरिरहेका छन्। तिब्बती शरणार्थीतर्फ केन्द्रित हुँदा उइगुरहरू प्रदर्शनमा नआउन भनेर सतर्कता अपनाएको देखिन्छ।

China2 1

मधेसमा के होला?
प्रदेश २ मा एउटा समूह चीनको विरोधमा सक्रिय रहेको सुरक्षा निकायको विश्लेषण छ। ०७२ सालमा भएको तेस्रो मधेस आन्दोलनका क्रममा पाँच पटक चीनको राष्ट्रिय झन्डा जलाइएको थियो। मधेस मिडिया हाउसका डा. राजेश अहिराजकाअनुसार मधेसमा अहिलेसम्म १२ पटक चीनको राष्ट्रिय झन्डा जलिसकेको छ।

प्रदेश २ सरकारले गाई फार्मका लागि चीनबाट जर्सी गाई ल्याउने निर्णय गरेपछि गत चैतमा जनकपुर र राजविराजमा ‘चाइना गो ब्याक’ को नारा लागेको थियो।

त्यस्तै सत्तापक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका सांसद तथा नेताहरु समेत दलाई लामासँग भेट गर्न भारतको धर्मशाला जाने गरेका छन्। र, त्यसरी दलाई लामासँग भेट्न जाने सांसद तथा नेताहरुमा मधेसीको संख्या बढी रहेको पाइएको छ।

लुम्बिनी फाउण्डेसनका अध्यक्ष सिद्धार्थ गौतमले दुई पटक मधेसी सांसदहरुलाई धर्मशाला पुर्याएर दलाई लामासँग भेटवार्ता गराएका थिए। एक जना उच्च प्रहरी अधिकारीका अनुसार अहिले सी भ्रमणको मुखमा उनी फेरि सक्रिय भएका छन्।

मधेसबाट अहिलेसम्म करिब एक दर्जन सांसद तथा नेताहरुले दलाई लामासँग भेटघाट गरिसकेका छन्। उनीहरूले त्यस्ता भेटमा के विषयमा छलफल गर्छन् भन्ने प्रष्ट छैन तर काठमाडौं र बेइजिङमा त्यस्ता भेटलाई चीनविरोधी गतिविधिका रुपमा लिइन्छ।

तत्कालीन मधेसी जनअधिकार फोरका विपी यादव र राजकिशोर यादव, तत्कालीन दलित जनजाति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान, तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का ईश्वरदयाल मिश्र र आशाकुमारी सरदार तथा संघीय लोकतान्त्रिक मञ्चकी रुकमणी चौधरीले ०६६ असारमा धर्मशाला पुगेर दलाई लामासँग भेटवार्ता गरेका थिए।

त्यसको एक वर्षपछि ०६७ असारमा मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादवसहितको ८ जनाको अर्काे समूह दलाई लामासँग भेट्न फेरि धर्मशाला पुगेको थियो।

त्यसपछि पनि मधेसी सांसद तथा नेताहरुले तिब्बती शरणार्थीहरुसँग सहकार्य गर्ने क्रम जारी छ। गत जेठमा तत्कालीन संघीय समाजवादी फोरम (पूरानो मधेसी जनअधिकार फोरम) का सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी (राजपा) का इकवल मियाले लातभियाको रिगामा निर्वासित तिब्बत सरकारका प्रमुख लोब्साङ साङ्गे सहभागी कार्यक्रममा भाग लिए।

चिनियाँ विदेश मन्त्री वाङको नेपाल भ्रमणको क्रममा भदौ २३ गते महिलाहरुको एक समूहले चीनमा महिला तस्करी भएको भन्दै चिनियाँ दूतवास नजिकै भाटभटेनीमा प्रदर्शन गर्यो। उनीहरुले ब्यानरको पहिलो बुँदामा ‘चिनियाँ दादागिरी बन्द गर’ लेखेका थिए।

सो प्रदर्शनमा सहभागी नौ जना महिला पक्राउ परे। ‘सीमा सुरक्षा संघर्ष समिति’ नामको ब्यानारमा यो प्रर्दशन गरिएपनि त्यस्तो नामको संस्था सरकारी निकायमा दर्ता भएको रेकर्ड छैन। बरु त्यो समूहबाट पक्राउ परेकी एक महिलाले प्रहरीलाई ‘नारी चेतना समाज’ ले प्रदर्शन आयोजना गरेको जानकारी दिएकी छन्।

‘हामीलाई महिला अधिकारको कार्यक्रममा जान भनिएको थियो तर त्यो त चीनविरोधी कार्यक्रम पो रहेछ’, ती महिलाले नेपालखबरसँग भनिन्, ‘फोरमकी नेतृ सुनिता साहले हामीलाई कार्यक्रममा लैजानु भएको हो।’

सप्तरी घर भएकी साह फोरम (अहिले समाजवादी पार्टी नेपाल) की नेतृ हुन्। प्रदर्शनमा उनी पक्राउ पर्नबाट जोगिएपनि सो समाजकी अध्यक्ष शोभा डंगोल भने पक्राउ परेकी थिइन्। ललिपुरमा कार्यालय रहेको नारी चेतना समाजका पदाधिकारीहरु यस्तो प्रदर्शनमा सामेल भएसँगै सुरक्षा अधिकारीहरुलाई नयाँ कोणबाट सुरक्षा विश्लेषण गर्न दबाब परेको एक अधिकारीले बताए।

हङकङ पनि तानियो ...
हङकङमा आन्दोलनरत सरकार विरोधी समूह नेपाल आउने संभावना निकै कम रहे पनि एकथरी सुरक्षा विश्लेषकले उनीहरूले नेपाललाई बेइजिङविरोधी प्रदर्शका लागि सहज ठाउँका रुपमा लिनसक्ने विश्लेषण गरेका छन्।

हङकङबाट आएको एउटा चिनियाँ टोलीले गत महिना तिब्बती साइडबाट सगरमाथा आरोहण गरेको थियो। सगरमाथा आरोहणका क्रममा सो टोलीले ब्यानर प्रदर्शन गर्दै ‘हङकङमा बेइजिङले हस्तक्षेप गरेको’ भन्दै विरोध गरेको थियो।

हङकङमा आन्दोलनकारी समूहका उनीहरुले सगरमाथामा चीनविरुद्ध प्रदर्शन गरेको फोटो सामाजिक संजालमा राखेपछि बेइजिङले त्यसलाई गम्भीर रुपमा लिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

‘सगरमाथामा प्रदर्शन भएको फोटो आएपछि बेइजिङले त्यसमाथि अनुसन्धान गरिरहेको छ र, त्यस्तो प्रदर्शन नेपालमा पनि हुने हो कि भन्ने आशंका जन्मेको छ’, शसस्त्र प्रहरीका एक जना उच्च अधिकारी भन्छन्।

सामाजिक संजालमा हङकङका आन्दोलनकारीले सुझाव दिंदै भनेका थिए, ‘नेपालतर्फबाट सगरमाथा आरोहण गरेर सो ब्यानर प्रदर्शन गरेको भए सुरक्षित हुन सकिन्थ्यो, प्रदर्शनका लागि नेपाल सहज ठाउँ हो।’

यस्तो प्रतिक्रिया आएपछि सुरक्षा अधिकारीहरु सी भ्रमणका क्रममा हङकङका आन्दोलनकारी समूहका व्यक्तिहरू नेपाल आउनसक्ने भन्दै सतर्क बनेका छन्।

यद्यपी हङकङ निवासी चिनियाँले अहिलेसम्म नेपालमा आएर चीनविरोधी प्रदर्शन गरेको रेकर्ड छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad