इरानी कवि सबिर हकाको जन्म सन् १९८६ मा इरानको करमानशाहमा भएको हो। हाल उनी तेहरानमा बस्छन्। उनी पेसाले मजदुर हुन्। अझै पनि मजदुरी गरेर गुजारा चलाउँछन्। कविताले जीवनस्तर धान्न सकिँदैन भन्ने उनको मान्यता छ।
इरान श्रमिक कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि उनी सबैको नजरमा आए। आर्थिक समस्याले गर्दा कैयौँ रात सडकमा बिताएका सबिरले १२ वर्षदेखि आफ्नो उपन्यासलाई पूर्णता दिन पाएका छैनन्। सन् २०१५ मा ‘मोडर्न पोएट्री ट्रान्सलेसन’ले उनको कवितालाई अंग्रेजीमा अनुवादमा ल्याएपछि चर्चा चुलिँदो छ। हालसम्म उनका दुईवटा कविता संग्रह प्रकाशन भइसकेका छन्। यहाँ उनका चार कविता अनुवाद गरिएको छः
१. साथी
म (ईश्वर)को साथी होइन
यसको केवल एउटा मात्र कारण छ
जसको निर्जीवता धेरै पुरानो अतितमा छः
जब ६ जनाको हाम्रो परिवार
एउटा साघुँरो कोठामा बस्थ्यो
र ईश्वरसँग निकै ठूलो घर थियो
जसमा ऊ एक्लै नै बस्थ्यो।
२. मृत्युको डर
बाँचुन्जेल मैले यो कुरामा विश्वास गरेँ कि
झूठाे बोल्नु गलत हो
कसैलाई दुःख दिनु गलत हो।
बाँचुन्जेल मैले यो कुरालाई स्वीकार गरेँ कि
मृत्यु पनि जिन्दगीको एक हिस्सा हो।
यो सबै जानेर पनि मलाई मृत्युसँग डर लाग्छ
डर लाग्छ मृत्युपश्चात् पनि मजदुर बनिरहन।
३. बन्दुक
यदि उनीहरूले बन्दुकको आविष्कार नगरेका हुन्थे भने
कति मान्छेहरू
टाढैबाट, मर्नदेखि बच्थे।
धेरै कुरा सजिलो हुन्थ्यो।
उनीहरूलाई मजदुरको ताकत महसुस गराउन पनि
सजिलो हुन्थ्यो।
४. आस्था
मेरो बुबा मजदुर हुनुहुन्थ्यो
आस्थाले सजिएको मान्छे
जब उहाँ नमाज पढनुहुन्थ्यो
(अल्लाह) उहाँको हात देखेर लज्जित हुन्थे।
अनुवादः जनक कार्की

प्रतिक्रिया