कला


जनकपुरमा चार दिवसीय साहित्य महोत्सव सुरु

जनकपुरमा चार दिवसीय साहित्य महोत्सव सुरु

शैलेन्द्र महतो
फागुन १९, २०७७ बुधबार १५:५६,

जनकपुरमा चार दिवसीय जनकपुर साहित्य महोत्सव सुरु भएको छ। बुधबार जनकपुरको जानकी मन्दिर परिसरमा आयोजना भएको महोत्सवको पूर्वराष्ट्रपति डा‍‍. रामवरण यादवले उद्घाटन गरेका छन्।

मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्द्धन एवं प्रचार प्रसार गर्ने उद्देश्यले नवमिथिला फाउन्डेसनले साहित्य महोत्सवको आयोजन गरेको हो।

चारदिनसम्म चल्ने साहित्य महोत्सवमा १५ वटा विभिन्न सत्रहरुमा ४५ जना वक्ताको सहभागिता रहने महोत्सवका निर्देशक दिलभूषण पाठकले जानकारी दिए।

महोत्सवको उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले जनकपुर भूमि साहित्य, कला, संस्कृतिको धरोहर रहेको बताए। परापूर्व कालमा ऋषिमुनिले बसेर साहित्य रचना गर्ने जनकपुरको मठमन्दिर, पोखरी र बगैंचाको संरक्षण हुन नसकेकोमा पूर्वराष्ट्रपति यादवले चिन्ता व्यक्त गरे।

उनले नेपालको अन्नको भण्डार रहेको मधेश चुरे वनजंगलको विनाशले मरुभूमिकरण हुनुको साथै पानीको मूहान सुक्दै गएकोमा सचेत गराउँदै यसप्रति गम्भीर रुपमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे।

‘चुरेसँग मधेशको भाग्य र सिंगो मुलुकको भविष्य जोडिएको छ। प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिएको कृषि उपजको भविष्य बचाउन सकिएन भने भोलि गएर यो मरभूमिमा परिणत हुन्छ’ उनले भने ‘चुरे छँदा ३०-४० वर्षअघि हाम्रो घरमा ६० फिटमा कल गाड्दा पानी आउँथ्यो। अहिले साढे ३ सय फिट गाड्दा आउँछ। यस्तै अवस्था रहने हो भने ४० वर्षपछि के हुन्छ?’

चुरेले वर्षाको पानी रिचार्ज गरेर राख्ने गरेको र अहिले चुरे विनाश हुँदा पनीको सतह तल धसिँदै गरेकाले संरक्षणमा ध्यान नदिए जनजीवन नै ध्वस्त हुने तर्फ सचेत गराए।

rambaran-2.jpg

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले साहित्य, कला, संस्कृतिमा जनकपुर लगायत मधेश धनी भएपनि यसलाई केन्द्र सरकारले उपेक्षा गर्दै आएको आरोप लगाए। उनले प्रदेश सरकारले जानकी मन्दिरबाट नै विकासे कामको प्रारम्भ गरेको बताउँदै अगामी दिनमा जनकपुरलाई पर्यटनको हब बनाउने उदघोष गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा प्रसिद्ध व्यवसायी विनोद चौधरीले कला संस्कृतिको धरोहर रहेको जनकपुरको क्षेत्र उद्योग व्यवसायको दृष्टिले महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .