वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन्।
कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता सुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताए। राजनैनिक विसंगतीले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेको पनि टिप्पणी गरे। कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रीत गीत पनि सार्वजनिक गरेका छन्।
गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटा कुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेरभाई घने कुरो के छ, भने टुँडिखेलमा हात देखाउँदा ज्योतिषीले धनि हुन्छौ भने, चुनाव लड्नु भने’ भन्ने व्यङ्ग्य समसामयिक राजनीति माथि कसेका छन्।
नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए।
उनले भने, ‘यो गीत कुनै व्यक्ति नेतालाई तोकेर भनेको पनि होइन। कुनै दललाई तोकेर भनेको पनि होइन। युट्युबमा कमेन्टहरु आउँदाखेरी फलानोको नाम लिएर यसलाई भनेको यस्तो भनेको भनेर कमेन्टहरु आउँछ। तर प्रवृतिलाई भनेको हो। जुन नेपालमा दण्डहिताको प्रवृति छ त्यो प्रवृतिमाथि व्यङ्ग गर्ने हो। हाम्रो आकांक्षा, चिताएको कुरा के हो भने देशमा सुशासन होस्। विधिको साशन होस्। भ्रष्ट्राचार संसारमा जहाँपनि हुन्छ। तर त्यसको पनि मापदण्ड हुन्छ। हाम्रो मापदण्ड एकदमै नाघेको जस्तो लाग्छ। हुनत सरकारले भ्रष्ट्राचार गर्न दिन्न गर्न हुँदैन भनिराखेको छ। तर हामीले गरेको पनि देखिराछौं। कुनै व्यक्तिले नहोला तर समूहमा कसैकसैले गरेको देखिराखेका छौं।’
कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रुपमा रहेको भ्रष्ट्राचार गाडिएको पनि बताए।
‘चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भनेदेखि अब खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरुले चुनाव लडिसकेपछि केही वर्षमा गाडी चढेर हिँडेको हामीले देखेका छौं। तर सबै नेतालाई भनेको होइन। गीतमा पनि त्यही भनिएको छ।’
राजनीतिमा लागेर धेरै व्यक्तिहरु अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए। राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ। नेपालमा यही प्रवृति रहेका कारण जनतामा निरासा आएको बताए।
उनले भने, ‘जनताहरुमा बढी निरासा छाएको कारणपनि त्यही हो की यो प्रवृति, भ्रष्ट्राचारको प्रवृति रोकियोस्। राजनीतिमा मात्रै होइन की प्रशसनिक क्षेत्रमा पनि त्यत्तिकै छ। जनतालाई सानो काम गर्न पर्यो भनेपनि केही घुस नदिइकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नुपदैन।’
देशको राजनीतिक नेतृत्वले देशको पुरै राजनीतिक प्रणालीलाई आफू जस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको बताए।
‘मैले बेलाबेलामा भन्ने पनि गर्छुकी घरमा बाउ जड्याहा भयो भने छोराछोरीहरु पनि जड्याहा हुन सक्छन्। विग्रीन सक्छन्। बाउ नै अनुशासन, आमा अनुशासनमा छैनन् भने देखि छोराछोरीहरुलाई अनुशासनमा बस भनेर भएन। हाम्रो राजनीतिको अविभावकत्व नै विग्रिएको जस्तो लाग्छ। तर मैले एउटा व्यक्ति कसैलाई भनेको होइन। यो प्रवृतिलाई भनेको मैले। त्यही प्रवृतिमाथि बनाएको गीत हो।’
देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृतिमा भन्दापनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृतिमा निर्भर गरेको बताए।
उनले भने, ‘हाम्रो देशको डेमोक्रयासी अब बाँदर नभनौं जस्तोजस्तो मान्छेले सञ्चालन गर्नुभएको छ त्यस्तै त्यस्तै भइदिएको छ। जुन भाँडामा पानी हालिन्छ त्यही आकार जस्तो भयो।’
कुनैपनि व्यक्ति कला साहित्यको क्षेत्रमा सफल हुँदैमा राजनीतिमा सफल नहुने मान्यता पनि आचार्यको छ। राजनीतिक व्यक्तिमा संगठन निर्माण, योजना निर्माण लगायतमा योग्य हुनुपर्ने बताए।
‘कला साहित्यको क्षेत्रमा केही गर्न सक्यो भन्दैमा राजनीतिमा पनि त्यो मान्छे सफल हुन्छ भन्ने छैन। त्यो प्रकृतिले दिएको हुन्छ। संगठन गर्न सक्ने क्षमता एउटा नेतामा हुनुपर्छ। कुनै नेतामा योजना बनाउन सक्ने क्षमता हुनुपर्छ। हामी न योजना गर्न सक्ने क्षमतामा प्राक्टिस गर्यौं। हामीभन्दा धेरै पढेलेखेका योजनाकार हुनुहुन्छ।’
तर चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाई पनि आचार्यको छ।
‘चुनाव दलहरुले पनि जितेका छन्। सानाहरुले पनि जितेका छन्। काला व्यापारीहरुले पनि जितेका छन्। त्यस्तो प्रवृति भएका मान्छेहरुको साथ लिएर प्रधानमन्त्री हुनुपर्ने, राष्ट्रपति हुनुपर्ने छ। मान्छेको चरित्र आचरण नबुझिकन जोपायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भनेदेखि फेरि चुनाव जितेर आउने डनहरु नै हुन्। डनहरुले छानेको मान्छेहरुलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ। ती व्यक्तिहरुसँग डर भइरहन्छ। त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनुपर्छ।’
प्रतिक्रिया