ad ad

कला


राजेश हमाललाई ‘नरसिंहा : अवतार’मा खेलाउन दिवाकरले गर्नुपरेको परिश्रम

८ पटकको बैठकपछि बल्ल हमालले गरे ‘ओके’
राजेश हमाललाई ‘नरसिंहा : अवतार’मा खेलाउन दिवाकरले गर्नुपरेको परिश्रम

निर्देशक दिवाकर भट्टराई र अभिनेता राजेश हमाल


लक्ष्मी बलायर
असोज ५, २०८१ शनिबार ८:१८, काठमाडौँ

निर्देशक दिवाकर भट्टराई फरक कथामा फिल्म बनाउन खोजिरहेका थिए। उनीसँग दुईवटा स्क्रिप्ट पनि थिए। गत चैतताका दिवाकरलाई अमेरिकामा बस्दै आएका साथी चन्द्र पन्तको फोन आयो। र, फोनमा चन्द्रले दिवाकरलाई एउटा स्टोरीको आइडिया सुनाए।

आइडिया सुनेपछि दिवाकर प्रभावित भए। एक्सन र थ्रिलर जनराको नयाँ कथा। त्यसमाथि कमर्सियल, सोसल ड्रामा र इमोसनल भ्यालु पनि। खोजेझैँ कथा पाएपछि के चाहियो? सोही कथाको खाका कोर्नतर्फ लागे उनी।

कथाको खाका तयार भएसँगै दिवाकरले चरित्रबारे पनि सोच्न थाले। चरित्र निर्माण गर्दा उनको दिमागमा आए, राजेश हमाल। समाजको रोल मोडल चरित्र थियो। जसकारण उक्त भूमिकाका लागि दिवाकरले राजेश हमालको विकल्प नै देखेनन्।

दिवाकर दुई महिनाअघि फिल्मको प्रस्ताव लिएर राजेशकहाँ पुगे। यसअघि ‘मेरो जीवनसाथी’मा सहकार्य गरेका दिवाकर र राजेशबीच राम्रै चिनजान थियो।

‘मेरो जीवनसाथी भन्ने फिल्म बनाएको थिएँ। जसमा राजेश दाइ सानो भूमिकामा हुनुहुन्थ्यो। उहाँले सबै मेकरलाई सहयोग गर्नुहुन्थ्यो। त्यहाँ उहाँसँगको रमाइलो किस्सा पनि थियो,’ उनी सम्झिन्छन्, ‘त्यो बेलामा राजेश दाइ एकदमै व्यस्त हुनुहुन्थ्यो। हाम्रो फिल्मको लागि उहाँको बेलुकाको तालिका थियो। तर, क्यामेरा बिग्रेर त्यो पिक टाइममा उहाँले ६ घण्टा कुर्नुपरेको थियो। सेटमा पुग्दा उहाँ निकै रिसाउनुभएको थियो। तर, मैले कन्भिन्स गरेपछि उहाँले मान्नुभयो।’

त्यसपछि दिवाकरले राजेशलाई स्टोरीको आइडिया सुनाए। आइडिया सुनेपछि राजेशले चासो व्यक्त गरे।

र, दिवाकरसँग भने, ‘यो सिनेमा प्रस्तुतीकरणमा आधारित छ। यो जोखिमको सिनेमा हो किनकि अहिले चलिरहेकाभन्दा फरक छ। यसमा रिस्क छ, बनाउन सक्नुभयो भने राम्रो बन्छ।’

उनले स्क्रिप्ट तयार पारेर ल्याउनसमेत भने।   

हमालले चासो राखेपछि दिवाकर स्क्रिप्ट लेख्न नगरकोट पुगे। दिनरात नभनी उनले पाँच-छ दिनमा स्क्रिप्ट तयार गरे। स्क्रिप्ट लगेर उनी फेरि राजेशकहाँ पुगे। फिल्मको जनरा, आइडिया र पात्रबारे साढे चार घण्टा लगाएर बुझाए। स्क्रिप्ट सुनेपछि राजेश काम गर्न सकारात्मक देखिए।

तर, राजेश बेलाबेला दिवाकरलाई भनिरहन्थे, ‘तपाईं जे फिल्म छ, त्यही बनाउनुहुन्छ नि?’

राजेशले यो प्रश्न सोध्नु जायज नै थियो। एकबेलाका चर्चित नायक राजेशले फिल्म नखेलेको सात वर्ष भइसकेको छ। यसबीच उनलाई फिल्मका अफर नआएका होइनन्। तर, चित्तबुझ्दो स्क्रिप्ट नपाएपछि खाली हात बसे। यस्तोमा राजेश बलियो कमब्याकको पर्खाइमा थिए भन्दा फरक नपर्ला!  

एक महिना कथामा काम गरेपछि सातौँ-आठौँ बसाइँमा राजेशले फिल्म साइन गरे।

‘उहाँले साइन गर्नुहुन्छ भनेर म ढुक्क थिएँ। किनकि मलाई कथामा विश्वास थियो। राजेश दाइले यो क्यारेक्टर नगरी के गर्ने त? दाइलाई म खेलाउँछु नै भनेर स्क्रिप्ट लेखेको थिएँ,’ उनले भने, ‘कन्भिन्स गराएपछि अन्तिममा उहाँले तपाईंमाथि विश्वास छ भन्नुभयो।’

सात वर्षपछि फिल्म खेल्न लागेकाले धेरैले राजेशको कमब्याकको रूपमा हेरेका छन्। तर, दिवाकर भने यसलाई कमब्याक भन्न रुचाउँदैनन्।

‘म यसलाई कमब्याकभन्दा पनि ग्याप भन्छु। किनकि, उहाँले यो क्षेत्र छोडेर जानुभएको थिएन। त्यो ग्यापलाई मेटाउन उहाँलाई पावरफुल क्यारेक्टर चाहिन्छ। पहिलेको जस्तो उहाँले रातो सर्ट लगाएर हात हल्लाउने र चिच्याउने युग गइसकेको छ। अहिले फिल्म बनाउँदा आमादेखि नातिसम्मको पुस्ताले रिलेट गर्नुपर्छ।’

यो फिल्म बनाउँदा पहिलोचोटि बनाइरहेको अनुभव भइरहेको छ दिवाकरलाई पनि।

उनी भन्छन्, ‘भुवन केसी वा रमेश उप्रेती जसको फिल्म गरेनि त्यसमा एउटा सेटअप थियो। जहाँ पहिले नै एउटा हिरो र निर्माताको सेटअप हुन्थ्यो। त्यो सेटअपमा मैले राइटिङ र मेकिङ गर्नुपर्ने बाध्यता थियो। जसकारण धेरै गर्न सकिएन। स्क्रिप्ट राम्रो हुन क्यारेक्टर पावरफुल हुनुपर्छ। पहिलोचोटि आफ्नो फिल्म बनाइरहेको जस्तो लागिरहेको छ।’

कथाभन्दा पनि प्रस्तुतीकरणमा राम्रो गर्नुपर्ने सुनाउँछन् उनी।

‘यसमा प्रस्तुति दिन सकेमा बेटर हुन्छ। हिजोकै राजेश हमाल देखाउनुभयो भने काम छैन। यसमा राजेश हमालसहित नीर शाह र सरोज खनाल पनि हुनुहुन्छ। उहाँहरूसहित फिल्ममा तीनचार पुस्ताको स्टोरी छ।’

यो पात्रको लागि राजेश हमाल नै किन? प्रश्नको जवाफमा निर्देशक भट्टराई भन्छन्, ‘यस फिल्मबाट अब बन्ने सिनेमाको ट्रेन्ड सुरु हुनुपर्छ। कुनै पनि जनरा सुरु हुन पावरफुल पर्सन चाहिन्छ। त्यसमा समाजमा जुन इमेज छ, त्यसले मात्र धान्न सक्छ। जसको लागि राजेश दाइ जत्तिको उत्कृष्ट कोही लागेन।’

राजेश हमालको सिनेमा कहिले आउँछ? यसअघि सामाजिक सञ्जालमा अत्यधिक आउने प्रश्न हो यो। तर, अब कहिले आउनेभन्दा पनि कस्तो आउँछ भन्नेमा दर्शकहरूको चासो रहेको उनको भनाइ छ।

राजेशलाई लिएपछि निकै चुनौती महसुस गरिरहेका छन् दिवाकर।

‘राजेश दाइले साइन गरेपछि मैले चुनौती महसुस गरेँ। सिनेमा कस्तो आउँछ भन्ने चुनौतीलाई मैले राम्रोसँग ह्यान्डल गर्नुपर्छ। नभए उहाँभन्दा पनि मेरो करिअरलाई हानि हुन्छ। किनकि डाइरेक्टर र प्रोड्युसरको हिसाबले यसको सबै भार मैले लिएको छु,’ उनले भने।

यस फिल्ममा राजेश अविनाश नामक पात्रको भूमिकामा देखिनेछन्। जुन पात्रमा फिट देखिन हमालले पनि निकै मेहनत गरेको सुनाउँछन् उनी।

‘राजेश दाइले त्यो टाइममा स्क्रिप्ट नपढी गर्नुहुन्थ्यो। तर अहिले उहाँले स्क्रिप्ट डिटेलमा हेर्नेदेखि क्यारेक्टरमा मज्जाले काम गर्नुभयो। उहाँले मसँग लुक र ड्रेसको विषयमा छलफल गर्नुभयो। उहाँलाई फिल्मको राम्रो ज्ञान छ। यो गर्दा के हुन्छ भनेर सोध्नुहुन्थ्यो। त्यो मेरो लागि प्लस प्वइन्ट हो। आफ्नो मात्रै होइन, सबैको क्यारेक्टर हेर्नुभयो,’ उनले सुनाए।

यसरी स्क्रिप्ट हेरेर निर्देशकसँग पहिला कहिल्यै नबसेको र यो नै पहिलोचोटि भएको पनि राजेशले दिवाकरसँग भनेका थिए। 

केही समयअघि काठमाडौँ-कलिङ साहित्य महोत्सवमा राजेशले पहिलो फिल्म खेल्न गइरहेजस्तो लागेको बताएका थिए।

क्यारेक्टरमा मिहिनेत गर्दा साउनमा सुरु हुने भनिएको फिल्म असोजमा पुग्न लागेको समेत दिवाकरको भनाइ छ। सेटसहित धेरै कलाकार हुँदा साढे तीन/चार करोड लागत पर्ने उनको आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .