ad ad

कला


सिमान्त कथा लिएर आइन् विना थिङ

सिमान्त कथा लिएर आइन् विना थिङ

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ९:३५,

करिब एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ। पाठकहरुको मागलाई सम्बोधन गर्दै निषेधाज्ञाकै बीच पनि पुस्तक बजारमा पु¥याइएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ।

‘नयाँ वर्ष शुरु हुनासाथ सार्वजनिक हुने तयारीमा रहेको भए पनि कोभिड महामारीसँग जुध्न लगाइएको लकडाउनका कारण प्रकाशन रोकिएको थियो’, फिनिक्स बुक्सका गणेश सुवेदीले भने, ‘पाठकको माग सम्बोधन गर्दै र बजारमा राम्रा पुस्तकको अभाव नरहोस् भनेर निषेधाज्ञाका बीच पुस्तक बजारमा पुर्‍याइएको हो। पुस्तक पसलहरु नखुल्दासम्म अनलाइन माध्यमबाट पुस्तक उपलब्ध हुनेछ।’

१३ वटा कथा रहेको संग्रहले मूलतः राज्यतहबाट ऐतिहासिक रुपमै सिमान्तमा पारिएको समुदायको कथा कहने कथाकार थिङले बताइन्। ‘यो सिमान्त समुदायको दुःख, कष्ट, पीडा मात्रै होइन उनीहरुको संघर्षको पनि कथा हो’, थिङले भनिन्, ‘यी कथामा सिमान्त समुदायमाथी भएका विभेद मात्र नभई त्यो समुदायले गरेको संघर्ष पनि अभिव्यक्त गर्ने प्रयास गरेको छु।’
पुस्तकको नामाकरणबारे पनि कथाकार थिङले व्याख्या गरिन्।

उनले भनिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ। यो याम्बुको किनारमा छ तामाङ समुदाय। उपत्यका बाहिरबाट हेर्दा त यो पनि याम्बुकै अंग जस्तो लाग्छ तर यो समुदायले नेपाल राज्य निर्माणदेखि नै आफूलाई किनारामा पाएको छ। त्यो किनारीकृत भाव सम्प्रेषण होस् भनेरै याम्बुनेर नामाकरण गरिएको हो।’

याम्बुको किनारमा वर्षौंदेखि राज्यबाट किनारीकृत भएर बसेको समुदायको भोगाई, समयक्रमसँगै समुदायमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयाम कथा संग्रहमा समेटिएको छ। मधेशमा हुर्केर उपत्यकामा घरजम गर्न आइपुगेकी कथाकारले मधेसका सिमान्त कथा पनि छुटाएकी छैनिन्।

‘यो कथा संग्रह म हुर्किएको र बाँचेको स्थान–समयको साक्षी बन्ने आशा राखेकी छु’, थिङले भनिन्।

२०६९ सालमा ‘छुकी’ कथा संग्रह र २०७२ सालमा ‘रातो घर’ कविता संग्रह प्रकाशित गरिसकेकी थिङ विभिन्न पत्रपत्रिकामा बाल सिकाई र शिक्षा सम्बन्धमा अखबारी लेखन पनि गर्छिन्। उनी २०७५ सालको बाह्रखरी कथा प्रतियोगिताकी विजेता पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .