‘मिस सुप्रानेसनल नेपाल २०२६’ की विजेता पूर्णिमा कार्की पोल्यान्ड पुगेकी छन्।
विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रानेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न उनी पोल्यान्डको क्राकाउ गएकी हुन्।
प्रतियोगिता पोल्यान्डको मालोपोल्स्का क्षेत्रमा आयोजना हुँदै छ भने फाइनल जुलाई ३१ मा हुनेछ।
पूर्णिमाले कानुन विषयमा स्नातक गरेकी छन्। विजेता मात्र नभई उनी शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छिन्।
मिस सुप्रानेसनल नेपाल २०२६ को उपाधि जितेसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति र नेपाली महिलाको क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छन्।
प्रतियोगिताको अवधिभर पूर्णिमाले राष्ट्रिय पोसाक, सुप्रा च्याट, प्रारम्भिक मूल्यांकन तथा विभिन्न प्रतिस्पर्धात्मक चरणमा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनले नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रस्थानअघि पूर्णिमाले आफ्नो यो यात्रा व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपालीको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको बताइन्। ‘नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारी हो। यो मेरो मात्र यात्रा होइन, सम्पूर्ण नेपालीहरूको यात्रा हो। म आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रयास गर्नेछु,’ उनले भनिन्।
यसैबीच मिस सुप्रानेसनल नेपालका नेसनल डाइरेक्टर तथा सानुर्भी इन्टरनेसनल प्रालिका अध्यक्ष डा. सन्तोष उपाध्यायले यस वर्ष नेपालले मिस सुप्रानेसनलको इतिहासमै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे।
‘यस वर्ष हामी मिस सुप्रानेसनलमा नेपालको अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त छौँ। पूर्णिमा कार्कीमा मिस सुप्रानेसनलले खोज्ने व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिकता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली प्रस्तुति दिने सम्पूर्ण गुणहरू छन्। उनी केवल सुन्दरी मात्र होइनन्, एक सक्षम, शिक्षित र प्रेरणादायी प्रतिनिधि हुन्,’ डा. उपाध्यायले भने।
डा. उपाध्याय स्वयं अन्तर्राष्ट्रिय पेजेन्ट क्षेत्रमा नेपालको सफल प्रतिनिधित्व गरिसकेका व्यक्तित्व हुन्। उनले मिस्टर सुप्रानेसनल २०२१ मा नेपालको प्रतिनिधित्व गर्दै थर्ड रनर-अप बन्न सफल भएका थिए, जुन हालसम्म नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय उपलब्धिमध्ये एक मानिन्छ।
सोही अनुभवका आधारमा उनले पूर्णिमा कार्कीको तयारी, प्रशिक्षण र सम्पूर्ण अन्तर्राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका छन्।
उनले मिस सुप्रानेसनल २०२६ लाई नेपालको संस्कृति, पर्यटन, प्रतिभा र राष्ट्रिय पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा वर्णन गर्दै सम्पूर्ण नेपालीलाई पूर्णिमा कार्कीको अभियानमा साथ, समर्थन र शुभकामना दिन आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया