‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं. १’ को अग्रिम बुकिङ खुला भएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन्।
पहिलो दिनका लागि क्यूएफएक्सले काठमाडौँमा १६ र काठमाडौँबाहिर दमौलीबाहेक १९ शो दिएको छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्ना ६ वटा चेनमा तीन वटाका दरले १८ शो दिएको छ। यसैगरी, वान सिनेमाजले पाँच शो र बिग मुभिजमा चार शो दिएका छन्।
‘रोल नं. १’ले देशभर १५० हाराहारी शो पाएको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले जनाएको छ। यस सिनेमाका वितरक करण श्रेष्ठ र छविराज ओझाले दिएको जानकारी अनुसार उपत्यकाका हल र मोफसलका केही सिनेमा हलले शो निकाल्न बाँकी रहेको छ।
‘हरेक विद्यार्थी’को कथा स्लोगन रहेको चलचित्र ‘रोल नं. १’ शुक्रबारबाट प्रदर्शनमा आउँदै छ। जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
मुख्य कलाकारले स्कुल-स्कुल पुगेर आफ्ना कुरा राख्दै विद्यार्थीको कुरा सुनेर प्रचार गरेका थिए। ‘रोल नं. १’को प्रचार पूर्वी नेपाल झापाबाट सुरु गरेको टिमले पश्चिममा नेपालगञ्जसम्म पुगेर गरेका थिए। फेरि कलाकार दर्शक भेट्न मोफसलका हलमा पुग्ने तयारीमा छन्।
सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमालाई ग्रेडिङ गर्ने क्रममा चलचित्रको खुलेर तारिफ गरेको निर्माण टिमले बताएको छ। सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमाको तारिफ गरेपछि उत्साहित बनेको निर्माण टिम चलचित्र प्रदर्शनपछि दर्शकलाई भेट्न हलहलमा पुग्ने तयारी गरेको हो।
फिल्मले ‘वर्ड अफ माउथ’ राम्रो पाउनेमा ढुक्क देखिएको निर्माण टिम ‘पूर्ण बहादुरको सारङ्गी’जस्तै विस्तारै दर्शकको माया पाउनेमा आशावादी छ। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। महेश दवाडीले लेखेको सिनेमालाई शिवराम श्रेष्ठले खिँचेका हुन्।
Shares

प्रतिक्रिया