कला


अरुको घर भत्काएर बालेनले ठूलो गल्ती गरे, अब थेग्न सक्दैनन् : राजेन्द्र खड्गी (भिडिओ)

‘हामी भिलेन नभएको भए आज राजेश हमालहरू महानायक हुन्थेनन्’

अनिल यादव
बैशाख २५ , काठमाडौँ

‘अब रोऊ राजेन्द्र 
भरपूर रोऊ
फुकाल देब्रे छातीमा अल्झिएको गाँठो
ती सुनका औँठीहरूले थिचिएका औँलाले आँसु पुछ
यो टेकमा रगत नक्कली भए पनि
आँसु सक्कली हुनुपर्छ।’

नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक तथा भिलेन राजेन्द्र खड्गीकै अगाडि कवि देवव्रतका यी हरफहरू वाचन गर्दै गर्दा उनका आँखा रसाएका थिए। पर्दामा हजारौँपटक ‘ढिसुम–ढिसुम’ गर्दै अरूका बंगारा झारेका खड्गीले आफ्नै बंगारा कतिपटक फुटाए, त्यसको हिसाब छैन। 

नेपाली फिल्म वृत्तमा राजेश हमाललाई दर्शकले ‘महानायक’ ट्याग दिए, शिव श्रेष्ठलाई ‘एक्सन किङ’। 

तर, नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेका खड्गी भन्छन्, ‘म, सुनिल थापा लगायत भिलेन नभएको भए आज राजेश हमालहरू यो ठाउँमा आइपुग्थेनन्। उनीहरूलाई त्यहाँसम्म पुर्‍याउन पर्दा पछाडि एउटा भिलेनले आफ्नो रगत र पसिना बगाएको हुन्छ। भिलेनबिना हिरो हुनै सक्दैन। हिरोइनलाई मैले सोझ्याउँछु, अनि बल्ल हिरो आउँछ। हिरोलाई हिरो बनाउने नै भिलेनले हो।’

फिल्ममा हिरोले भिलेन पिट्दा दर्शकमा बेग्लै खुसी र उत्साह प्रकट हुन्छ। तर, पर्दाभित्र देखिने फाइट र स्टन्ट यथार्थमा त्यति सहज हुँदैन। ती एक्सन दृश्यहरूले खड्गीको शरीर छियाछिया बनाएको छ। अहिले पनि चोटका डोब र शल्यक्रियाका निसानीहरू छन्। 

‘मेरो यहाँ अझै पनि स्टिल छ, निकालेको छैन १४ वर्ष भयो,’ खड्गी आफ्नो पीडाका निसानीहरू देखाउँदै भन्छन्, ‘नाकको डाँडी गएको छ, जाडो महिनामा एक साइडबाट सास फेर्न सक्दिनँ। ढाड पोलिरहन्छ, डाक्टरले अपरेसन गर्नुपर्छ भनेको छ। जीवनमा कति चोट खाइयो खाइयो!’ 

खड्गीलाई लाग्छ, पर्दाका शत्रुहरूलाई त उनले सजिलै पछारे, तर जीवनको असली युद्धमा उनी आफ्नै परिवारसँग हारे। 

‘जब आफ्नै रगतले विश्वासघात गर्छ, तब मान्छे भित्रैदेखि भत्किँदो रहेछ,’ खड्गीले आफ्नो जीवनको सबैभन्दा कठिन समय सुनाउँदा गला अवरुद्ध पारेका थिए।

‘म डेढ वर्षसम्म मानसिक समस्याको औषधि खाएर बसेँ,’ उनले विस्तृतमा भने, ‘मेरो परिवारले मलाई मानसिक चोट दियो। सबैभन्दा ठूलो हार आफ्नै परिवारसँग हुँदो रहेछ। आफ्नै भाइले मेरो हस्ताक्षरबिना ९ कठ्ठा जग्गा खाइदियो, दिदीले घरै खाइदिन लागिन्।’

खड्गीको काम नेपालमा मात्र सीमित छैन। बलिउडका महानायक अमिताभ बच्चनसँग बिताएका ती दिनहरू उनको जीवनका अमूल्य सम्पत्ति हुन्। ‘खुदा गवाह’ फिल्ममा अमिताभसँग काम गर्दाको अनुशासनले उनलाई धेरै कुरा सिकाएको बताए।

‘खुदा गवाहको सुटिङमा एक महिना अमिताभ बच्चनसँग काम गरेँ। उहाँसँग टेबलटेनिस खेल्ने, पूजापाठ गर्ने। अमिताभ बिहान ३ बजे उठ्ने, ६ बजे त सुटिङमा आइपुग्ने। म उहाँलाई नै फलो गर्थें,’ यो फिल्मको सुटिङको पुरानो तस्बिर देखाएपछि उनी नोस्टाल्जिक भए। 

यति मात्र होइन, राजेश हमालको संकटको घडीमा उनी कसरी उभिएका थिए भन्ने रहस्य पनि उनले खोलेका छन्। 

‘राजेश डेढ वर्ष थन्किएर बस्दाखेरी म गएर फिल्ममा लिएको साथी हो। उसले त्यतिबेला ‘कोही आएन राजेन्द्र, तिमी आयौ’ भन्थ्यो। राजेशको नांगो फोटो आएर काम रोकिएको बेला मैले प्रोड्युसरहरूलाई कन्भिन्स गरेर उसलाई फिल्ममा लिएको थिएँ,’ खड्गीले सम्झिए। 

अहिलेको राजनीति र सामाजिक परिवेशमा पनि खड्गी उत्तिकै स्पष्ट र कडा सुनिन्छन्। प्रधानमन्त्री बालेन शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको कार्यशैलीलाई उनले एउटै सिक्काको दुई पाटाका रूपमा व्याख्या गरे। बालेनले सुकुम्बासी बस्तीमा डोजर चलाएको र गरिबको छाना भत्काएको प्रसंगले उनलाई भित्रैदेखि तताएको छ। उनी सुकुम्बासीलाई ‘अतिक्रमणकारी’ मात्र मान्न तयार छैनन्, बरु इतिहास खोतल्दै सबैलाई एउटै कित्तामा उभ्याउँछन्।

उनी भन्छन्, ‘तिम्रो बाउबाजे र मेरो बाउबाजे... हामी सुकुम्बासी त हो नि! मन्त्रिपरिषद्ले दिएको होइन? भूमिसुधार ऐन ल्याएर दिएको होइन र? उनी पनि सुकुम्बासी, म पनि सुकुम्बासी हो के! हामी त रैथाने सुकुम्बासी हौँ। बालेनले सुकुम्बासी बस्तीमा डोजर चलाएर गल्ती गरे। अब उनले थेग्न सक्दैनन्। राजीनामा दिन बाध्य हुनेछन्, राजीनामा दिनेछन्।’

बालेनको कार्यशैलीप्रति उनको आक्रोश अझ व्यक्तिगत र तिखो छ। बालेनले आफ्नी पत्नीलाई ट्राफिकले रोक्दा ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति दिएको घटनालाई उनी सुकुम्बासीको आँसुसँग जोडेर हेर्छन्। 

‘बालेनलाई गाडीमा रोक्दाखेरि त म सिंहदरबार जलाउँछु’ भन्यो। आफ्नो बच्चाको लागि हस्पिटल जाँदाखेरी त्यस्तो भन्ने मान्छेले अर्काको घरको छाना भत्काइदिने? अनि त्यही सुकुम्बासीलाई भोट माग्न जाँदा–तिमीहरूको लालपुर्जा बनाइदिन्छु भन्ने? सबै फटाहा रहेछन्,’ उनी निकै आक्रोशित सुनिए। 

बालेन र हर्कलाई तुलना गर्ने क्रममा उनले एउटालाई ‘सिर्जना’ र अर्कोलाई ‘विनाश’ को संज्ञा दिए। 
 
‘एउटा बनाउने (हर्क), अर्को भत्काउने (बालेन)। हर्कले ४२ किलोमिटरबाट पानी ल्याएर प्रमाणित गर्‍यो, यसले भत्काएर प्रमाणित गर्‍यो। दुवै सिक्काको दुइटा पाटा हुन्, एउटा भत्काउने, अर्को बनाउने,’ खड्गीले भने। 

नेपाली फिल्मको इतिहास भनेर चिनिएका खड्गी अहिले पनि शरीरमा स्टिल बोकेर, मनमा पारिवारिक चोट लुकाएर र ओठमा तिखो संवाद सजाएर हिँडिरहेका छन्।

के–के भने त उनले? हेर्नुहोस्, आफ्नो जीन्दगी, करिअर, परिवार, फिल्म, राजनीति लगायत विविध विषयमा राजेन्द्रले खुलेर गरेको ‘लेट्स टक’:

फोटो/भिडिओ : सरोज नेपाल

बैशाख २५, २०८३ शुक्रबार १८:४८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad