कला


‘बा: एक योद्धा’ को मुख्य भूमिकामा दिव्यदेव

‘बा: एक योद्धा’ को मुख्य भूमिकामा दिव्यदेव

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १५:१०, काठमाडौँ

फिल्म ‘बा: एक योद्धा’ को निर्माण टिमले अन्ततः आफ्ना मुख्य कलाकार सार्वजनिक गरेको छ। निर्माण पक्षले छायांकनको अन्तिम समयमा अभिनेता दिव्यदेव पन्तलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जनाएको छ।

गत चैत ९ गतेदेखि छायांकन सुरु भएको फिल्मले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर ‘सस्पेन्स’ कायम राखेको थियो। केही दिनअघि छायांकन सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापाका तस्वीर सार्वजनिक गरेको थियो। 

झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन्। विशेष कुरा त के छ भने, वास्तविक जीवनका यी आमा-छोरी चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन्।

अब दिव्यदेवको नाम सार्वजनिकपछि चलचित्रको कलाकार टोली बलियो देखिएको छ। निर्माण पक्षले उनको के कस्तो भूमिका हो भन्ने खुलाएको छैन।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन्। संगीत र गायनमा स्थापित लम्सालले यो चलचित्रको कथा र पटकथा समेत तयार पारेका हुन्।

फिल्मले एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई मुख्य कथावस्तु बनाइएको छ। निर्देशक लम्सालका अनुसार, यो केवल मनोरञ्जन मात्र नभई बाबुको अस्तित्व र महत्त्वलाई दर्शाउने एक शुद्ध सामाजिक र भावनात्मक सिनेमा हो।

‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। संगीतकार तथा गायक समेत रहेका वसन्तले यसअघि विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।

चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरिरहेका छन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्। हाल काठमाडौँका विभिन्न स्थानमा चलचित्रको अन्तिम चरणको छायांकन भइरहेको छ।

छायांकनको सम्पूर्ण कार्य सकिएपछि प्रदर्शन मिति घोषणा गर्ने निर्माण टिमको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad