कला


‘एनसीएम’मा कमेडियन आयुष श्रेष्ठको धमाकेदार प्रस्तुति

‘एनसीएम’मा कमेडियन आयुष श्रेष्ठको धमाकेदार प्रस्तुति

नेपालखबर
बैशाख ५, २०८३ शनिबार १२:४२, काठमाडौँ

ललितपुरको धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) को प्राङ्गण शुक्रबार उत्सवमय बन्यो। 

पपुलर युवा कमेडियन आयुष श्रेष्ठको धमाकेदार र व्यङ्ग्यात्मक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाइरहँदा उपस्थित विद्यार्थी र अतिथिहरू हाँसोले गुञ्जायमान थिए। 

गुरुकुल एजुकेसन फाउण्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा सम्पन्न ‘एनसिएम डे–२०८२’ मा आयुषको विशेष प्रस्तुतिसँगै विभिन्न विधाका पुरस्कार र सम्मानहरू वितरण गरिएको थियो।

समारोहको मुख्य आकर्षणका रूपमा सिक्किमका युवा कवि सिमयोन सुकिता राईलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ बाट सम्मानित गरियो। राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ का लागि उनलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरियो। 

पुरस्कार ग्रहण गर्दै कवि राईले सिक्किमको माटोमा घाँसदाउरा गर्दागर्दै कविता लेख्न सिकेको स्मरण गर्दै सीमानापारि आएर खुसी साट्न पाउँदा जिम्मेवारीबोध थपिएको बताए। यस वर्ष उक्त विधाको शीर्ष ४ मा उमेश अवस्थी आदर्शको ‘सन्ध्यामा सूर्य’, सबिना राईको ‘घामको जरा’ र दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ मनोनित भएका थिए। 

गत वर्ष युवा कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ सम्मानित भएको थियो भने अन्य उत्कृष्ट कृतिहरूमा पल्लविवको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ समावेश थिए। 

यसैगरी, नेपाली गीत–संगीतको साहित्यिक गहिराइ र विश्लेषणमा सक्रिय युवा व्यक्तित्व सुरज सुवेदीलाई ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार– २०८२’ प्रदान गरियो। नगद ५० हजार राशिको उक्त पुरस्कार सुवेदीले ुसबटेक्स्ट विथ सुरजु र ुएसियन राइट्सु मार्फत पुर्‍याएको योगदानका लागि दिइएको हो। 

सुवेदीले आफ्नो मनले अह्राएको कामलाई पुरस्कारले सम्मान गर्दा थप हौसला मिलेको बताए। 

पुरस्कार संयोजक अमनप्रताप अधिकारीले स्व। क्षेत्रप्रताप अधिकारीको साहित्यिक योगदानलाई अमर राख्न र नयाँ पुस्तालाई गामबेँसीको माटो एवं अधिकारीज्यूको आदर्शबाट प्रेरित गराउन यो पुरस्कार स्थापना गरिएको जानकारी दिए। 

गत वर्ष यस प्रोत्साहन पुरस्कारबाट नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेणुका नगरकोटी सम्मानित भएकी थिइन्।

सांस्कृतिक विधातर्फ एनसिएम कमेडी प्रतियोगितामा रोहित तन्डुकार प्रथम हुन सफल भए। अन्य उत्कृष्ट कमेडियनहरूमा विशाल शेर्पा, गौरव खत्री, महेश खनाल र नितेश यादव रहेका थिए। 

त्यसैगरी, एनसिएम पोयट्री एवार्ड–२०८२ मा काजल पुन मगर प्रथम भइन् भने एनसिएम डान्स एवार्ड विधा अन्तर्गत सुप्रिया प्रधान एण्ड ग्रुप उत्कृष्ट ठहरिए। अघिल्लो वर्ष यी विधाहरूमा क्रमशः गुन्जन राई (कविता), प्रश्ना एण्ड टीम (नृत्य) र वेगेन्द्र बुढाथोकी (कभर आर्टिस्ट) विजेता भएका थिए। 

कार्यक्रमको प्रमुख अतिथि डा. अच्युत वाग्ले र विशिष्ट अतिथि डा. विजय केसी थिए।

नेपाल कलेज अफ म्यानेजमेन्टका एसोसिएट प्रिन्सिपल डा.प्रेम प्रसाद सिलवालले स्वागत मन्तव्य राखेको समारोहमा विद्यार्थीहरूको बाक्लो उपस्थिति र साहित्यिक–सांस्कृतिक माहोलले एनसिएम डेलाई भव्य रूपमा सफल बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad