क्यानडाको व्यस्त व्यापारिक नगर टोरन्टोमा चर्चित ब्यान्ड नेपथ्यले सांगीतिक प्रस्तुति दिएको छ। सोमबार बेलुकी भरिभराउ हलभित्र नेपथ्य गुञ्जिदा दर्शकहरुले गीतको तालमै झुमे। त्यसैबीच, देखिइन् दर्शक सोनिया तिवारी।
लामै समयदेखि उत्तरी अमेरिकामा बसोबास गर्दै आएको नेपाली परिवारको तेस्रो पुस्ताकी उनी यसअघि कुनै नेपाली कन्सर्टमा गएकी थिइनन्। ‘म जन्मिनुभन्दा पहिल्यैदेखि घरमा नेपथ्यका गीत बजिरहन्थे, तिनै गीत सुनेर म पनि हुर्किएँ,’ सोनियाले सुनाइन्, ‘स्टेजबाट गायक अमृतले हलभरिका दर्शकमाझ त्यति धेरै ऊर्जा फैलाउँछन् र आत्मालाई नै समात्छन् भन्ने त मैले कल्पना पनि गरेकी थिइनँ।’
नेपाली कार्यक्रम भएर पनि प्रत्येक सेकेन्डलाई महत्त्व दिइनु र असाध्यै व्यवस्थित तवरले आयोजना हुनु आफ्ना लागि थप आकर्षण बनेको उनले जानकारी दिइन्।
यस्ता अनुभूतिकै कारण सोमबार बेलुकी कन्सर्ट सकिनासाथ हलभरिका दर्शक बाहिर निस्कने तयारीमा लागेनन्। बरु उनीहरूले मञ्चबाट झुकेर अभिवादन गरिरहेका कलाकारहरू अघिल्तिर एकछिनसम्मै ‘नेपथ्य, नेपथ्य’ भन्दै नारा लगाइरहे। त्यति बेला जताततै नेपाली झन्डा हल्लिरहेको देखिन्थ्यो।
त्यसअघि मञ्चबाट गाइएका गीतहरूले मात्र होइन, बोलिएको प्रत्येक सन्देशले दर्शकमा ऊर्जा बढाएको थियो। जस्तो कि गायक अमृत गुरुङले ‘गाउँ गाउँबाट उठ’ गीत प्रस्तुत गर्नुअघि राखेको धारणा।
‘नेपालको हरेक पटकको आन्दोलनमा यो गीत बज्यो र सत्ता परिवर्तन भयो,’ त्यो गीत गाउनुअघि अमृत भनिरहेका थिए, ‘तर हरेक पटक सरकारमा पुगेकाहरूले यस गीतको मर्म बिर्सिए।’
अमृतले त्यसै क्रममा ‘भर्खरैको जेन–जी आन्दोलन’ भनेर उच्चारण मात्र के गरेका थिए, सिङ्गो हल चर्को आवाजले भरियो ।
‘अघिल्लाले जस्तै नयाँ आउनुभएकाहरूले पनि यस गीतको मर्म भुल्ने काम नगरिदिनुहोला,’ कुनै बेला पञ्चायती व्यवस्थाको विरोधमा श्याम तमोटले लेखेको र मञ्जुल–रामेशले गाउँदै हिँडेको यो गीत सम्झाउँदै उनले थपे, ‘हिजोका गल्ती फेरि दोहोर्याउने काम भयो भने नेपालीले गाउँ गाउँबाट अनि बस्ती बस्तीबाट उठेर फेरि यसरी नै सतर्क गराउनेछन्।’
त्यतिन्जेल दर्शकबाट आवाज झनै चर्किसकेको थियो। ‘एकपछि अर्को गीत बजेको भन्दा पनि लगातार बगिरहेको महसुस गरेँ,’ काठमाडौँबाट आएर टोरन्टोमा मेडिकल ल्याब प्राविधिक रहेका समीर श्रेष्ठ भन्दै थिए, ‘पुराना सम्झना जोडिएका गीतमा भुलेर आज आफैँलाई हराउने मौका मिल्यो।’
जर्ज ब्राउन कलेजकी स्नातक उज्वला प्रधानले कन्सर्टले आफूहरूलाई आफ्नो जरासँग जोडेको प्रतिक्रिया दिइन्। ‘रोमाञ्चकता र विगतको सम्झना मिसाइएको एउटा मिठो पोको जस्तो पनि लाग्यो यो कन्सर्ट,’ उनले भनिन्, ‘घरको यादले छटपटाइरहेका हामीमाझ नेपथ्यले आफ्नो परिवेश बोकेर ल्याइदिएको महसुस गरेँ।’
सिक्किमबाट आएकी उज्वलाले ब्यान्डको जोसिलो प्रस्तुतिकै कारण सम्पूर्ण दर्शकले स्वस्फूर्त उफ्रिएर नाचेको सुनाइन्।
नेपथ्यले दर्शकको तीव्र उत्तेजनाकै बीच ‘रातो र चन्द्रसुर्जे’ गीतबाट आफ्नो प्रस्तुति अन्त्य गरेको थियो। कन्सर्ट समापन हुँदा आयोजक टिमका छिरिङ शेर्पाले भने,‘विदेशी भूमिमा यत्तिको नेपाली प्रस्तुति विरलै देख्न पाइन्छ। हल भरिका दर्शक यसरी रमाउने कन्सर्टको आयोजक बन्न पाएकामा गौरव महसुस गरेका छौँ।’
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
यो प्रस्तुतिपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली क्यानाडा यात्राकै अन्तिम शोका निम्ति ओन्तारियो राज्यकै लन्डन प्रस्थान गर्नेछ। टोरन्टोबाट करिब दुई सय किलोमिटर मात्र दूरीमा रहेको उक्त सहरस्थित ‘लन्डन म्युजिक हल’ मा अप्रिल १८ मा कन्सर्ट हुनेछ।
एलिजाबेथ हलमा धेरै पहिले टिकट समाप्त भएका कारण लन्डनमा टोरन्टोदेखिका दर्शक पनि सहभागी हुने विश्वास आयोजकको छ।
Shares

प्रतिक्रिया