कला


यी हुन् २०८३ सालमा रिलिज हुने फिल्म, दसैँमा मात्रै आधा दर्जन

यी हुन् २०८३ सालमा रिलिज हुने फिल्म, दसैँमा मात्रै आधा दर्जन

लक्ष्मी बलायर
चैत ३०, २०८२ सोमबार २१:५८, काठमाडौँ

नयाँ वर्षको अवसरमा सिनेमाहलमा फिल्म ‘पहाड’ रिलिज हुँदैछ। चैत २७ गतेबाट विराज भट्टको ‘राम नाम सत्य’ प्रदर्शनरत छ। जसकारण नयाँ वर्षमा दर्शकले आफ्नो रुचिअनुसार फिल्म हेर्न सक्नेछन्।

एक्सन जनरामा बनेको ‘राम नाम सत्य’ माइकल चन्द्रको लेखन र निर्देशनमा बनेको हो। यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुसी कार्कीलगायतका कलाकारको अभिनय छ।

त्यसैगरी, तुलसी घिमिरे निर्देशित ‘पहाड’ले विदेश पलायन हुँदा रित्तिएको गाउँको कथा भन्छ। यस फिल्ममार्फत घिमिरे ९ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसमार्फत घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले डेब्यु गर्दैछिन्। फिल्ममा पञ्चमीसहित मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीलगायतको अभिनय छ।

२०८२ सालमा ‘राम नाम सत्य’ सहित ५७ वटा फिल्म प्रदर्शन भए, जसमध्ये ‘परान’, ‘आबाट आमा’, ‘जेरी अन टप’, ‘ऊनको स्वीटर’, ‘जारी २’, ‘मोहर’ले राम्रै कमाइ गरे।

अझ त्यसमाथि २०८२ मा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिने फिल्मको संख्या उच्च छ। यसवर्षभरि २५२ फिल्मले इजाजत लिइसकेका छन्। त्यसैले अबको वर्ष रिलिज हुने फिल्मको संख्या बढ्ने निश्चित छ। व्यापारका हिसाबले पनि यो वर्ष ठूलो प्रतिस्पर्धा हुने देखिन्छ।

०८३ का लागि केही बहुप्रतिक्षित फिल्मले रिलिज डेट तोकिसकेका छन्। केहीले भने भोलि नयाँ वर्षको अवसरमा रिलिज मिति घोषणा गर्दैछन्।

‘पहाड’ सहित वैशाख महिनाभरि पाँच नेपाली फिल्म रिलिज हुँदैछन्। वैशाख ११ गते लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ रिलिज हुँदैछ। गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्मले श्रीमान–श्रीमतीबीचको झगडाको कथा समेटेको छ।

यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय छ। सुशील पोखरेलको लगानी रहेको फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्।

वैशाख १८ गते स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ हलमा लाग्दैछ। यम थापाको कथा तथा निर्देशन रहेको फिल्मले यौनकर्मीको कथा समेटेको छ। पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।

फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायतको अभिनय छ। यसैमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन्। रिलिजअगावै गीत र टिजरको हाइप राम्रो छ। जसकारण यो फिल्म दर्शकमाझ प्रतीक्षित छ।

वैशाख २५ गते दुई नेपाली फिल्म एकआपसमा भिड्दैछन्। गायक रामकृष्ण ढकालको डेब्यु लगानी रहेको फिल्म ‘मालती मंगले’ सहित ‘गुरु आमा’ रिलिज हुँदैछन्। प्रेम कथानक फिल्म ‘मालती मंगले’ मा वर्षा राउत र विजय बराल मुख्य भूमिकामा छन्। प्रकु पाण्डेयको कथा र निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका हुन्।

‘गुरु आमा’ शैक्षिक कथावस्तुमाथि बनेको फिल्म हो। यसमा मिथिला शर्मा, गौरी मल्लसहित पूजा शर्मा, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसीलगायतको अभिनय छ।

जेठ १ गते आँचल शर्मा अभिनीत फिल्म ‘एक मुठ्ठी बादल’ हलमा लाग्दैछ। सारा शर्माको लेखन र निर्देशन रहेको फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरल प्रताप अधिकारीलगायतको अभिनय छ।

अभिमन्यु दीक्षितले निर्माण गरेको फिल्मको निकुन श्रेष्ठ कार्यकारी निर्माता हुन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल रहेका छन्।

जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा दुई फिल्म एकसाथ आउँदैछन्। ‘रोल नं १’ र ‘कुम्भ’ हलमा लाग्दैछन्। जोन योञ्जनको निर्देशन रहेको फिल्म ‘रोल नं १’ बाल मनोविज्ञानमा आधारित छ। महेश दवाडीको लेखन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेनु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रका बाल कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्। यस फिल्मका निर्माता विनोद पौडेल हुन्।

रनधीर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘कुम्भ’ एक्सन–लभस्टोरी जनरामा बनेको हो। यसमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलसहित रोहित रुम्बा, अफ्साना थापा र सृष्टि खड्काको मुख्य अभिनय छ।

सधैँझैँ असार र साउनमा खासै फिल्म छैनन्। यद्यपि, आगामी दिनमा केही फाट्टफुट्ट फिल्मले रिलिज मिति तोक्न सक्छन्। भदौ सुरू भएसँगै नेपाली फिल्मको माहोल बन्छ। जसकारण भदौ महिनाका लागि निर्माताले रिलिज मिति तोकिसकेका छन्।

भदौ १२ गते अर्थात् जनैपूर्णिमाको अवसरमा नीता ढुंगानाको छायांकनरत फिल्म ‘पार्वती’ रिलिज मिति तोकिएको छ। नीताकै निर्माणमा बन्ने फिल्ममा नीतासहित दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतको अभिनय छ।

त्यस्तै, रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’ तीजको अवसर पारेर हलमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। यसमार्फत अभिनेत्री रेखा आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ।

त्यस्तै, २०८३ को दसैँका लागि पनि आधा दर्जन फिल्मले रिलिज मिति तोकिसकेका छन्। चाडपर्वमा दर्शक हलतर्फ आउने भएकाले मेकरले दसैँलाई ‘प्राइम टाइम’ मान्छन्। दीपकराज गिरीको ‘छ माया छपक्कै २’ को मिति दसैँका लागि तय भइसकेको छ।

भुवन केसीको फिल्म ‘बाटुलो जून’ पनि दसैँको अवसरमा असोज ३० गते रिलिज हुँदैछ। लभस्टोरी जनरामा बनेको यसमा अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ। ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘झिँगेदाउ २’ पनि दसैँमा रिलिज हुने भनिएको छ।

विराज भट्ट निर्देशित ‘१२ गाउँ २’ पनि फूलपातीमा रिलिज हुँदैछ। वैशाख पहिलो साताबाट छायांकनमा जाने फिल्ममा समीर भट्ट मुख्य भूमिकामा छन्।

पल शाहको मुख्य भूमिका रहेको ‘आबाट आमा २’ पनि दसैँमा रिलिज हुँदैछ। चन्द्र पन्तको कथा र निर्देशन रहेको यसमा पलसहित विपना थापा, प्रदीप राउतलगायत कलाकार मुख्य भूमिकामा देखिनेछन्। त्यस्तै, परीक्षित सेन निर्देशित ‘महाराजधिराज’ दसैँमा रिलिज हुने भनिएको छ। वसन्त निरौलाको ‘पाँच पाण्डव’ र अशोक शर्माको ‘डबल ट्रिपल’ पनि दसैँमै आउने बताइएको छ।

त्यसैगरी, रामबाबु गुरुङ निर्देशित लोकप्रिय शृंखला ‘कबड्डी ५’, रेखा थापाको फिल्म ‘३६ को आँकडा’, जितु नेपालको ‘आइ एम जितबहादुर’, विक्की अग्रवालको ‘ककाकिकी’, ‘पूर्णबहादुरको सारंगी २’ लगायतका फिल्म पनि २०८३ भित्रै रिलिज हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad