विश्व प्रतिष्ठित कान्स फिल्म महोत्सवको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ। कान्सअन्तर्गतको विधा ‘अन सर्टेन रिगार्ड’ यो फिल्म छानिएको हो।
अविनाश विक्रम शाह निर्देशित यो फिल्म मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिने विधामा नेपालबाट छनोट हुने पहिलो फिल्म समेत हो। ‘अन सर्टेन रिगार्ड’ले युवा निर्देशक र फरक कथावाचकहरूलाई समेट्छ।
कान्समा मेन्टरसिप पाएको यो फिल्म अब उत्कृष्ट फिल्मका लागि ‘अन सर्टेन रिगार्ड प्राइज, उत्कृष्ट निर्देशक र स्पेसल जुरी प्राइजका लागि भिड्नेछ। यस फिल्मले हात्तीको आक्रमणबाट आक्रान्त बस्तीको एक परिवारको कथा भन्छ। हात्तीका कारण खेप्नुपरेको पीडासँगै आमा र छोरीको सम्बन्ध देखाइएको। जुन परिवारले यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छ।
फिल्ममा अल्पसंख्यक समुदायकै कलाकारसहित आकांक्षा कार्की, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग लगायतको अभिनय छ। दुई नेपाली कम्पनी अन्डरग्राउन्ड टकिज नेपाल र जयन्ती क्रियसन्ससँगै फिल्ममा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको लगानी छ।
यसअघि शाहको सर्ट फिल्म ‘लोरी’ पनि कान्समा छनोट भइसकेको छ। जसले कान्सको ७५ औं संस्करणमा स्पेशल मेस्सन जित्दै इतिहास रचेको थियो।
Shares

प्रतिक्रिया